२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षक बिरामी हुँदा विद्यालय बन्द, भाइरल ज्वरोका बिरामी बढे

शिक्षक बिरामी हुँदा विद्यालय बन्द, भाइरल ज्वरोका बिरामी बढे


कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बैशाखामा रहेको श्रीराम आधारभूत विद्यालयका शिक्षक भाइरल ज्वरोका कारण बिरामी परेपछि विद्यालय बन्द भएको छ ।

विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई भाइरल ज्वरो आएपछि तीन अघिदेखि विद्यालयबन्द भएको हो । विद्यालयमा दुई जना निजी र एक जना बालविकासमा गरी तीन जना शिक्षक कार्यरत रहेका छन् ।

मौसममा आएको परिवर्तनसँगै विद्यालयमा कार्यरत शिक्षक सबै जना बिरामी परेपछि विद्यालय बन्द गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर कुँवरले बताए ।

विद्यालयमा दलित, निकुञ्ज विस्थापित र मुक्त कमैयाका गरी १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीय बासिन्दाको पहलमा विद्यालय सञ्चालन हुँदै आएको छ ।

भाइरल ज्वरोका बिरामी बढे

महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्ने मध्ये अधिकांशमा भाइरल ज्वरोको संक्रमण देखा परेको छ । आउनेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको संक्रमण देखा पर्ने गरेको अस्पतालले जनाएको छ ।

साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम बढेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए । ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायतका लक्षण भएका बिरामीको संख्या बढ्दैं गएको उनले बताए ।

अस्पतालमा दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको संख्या अधिक रहेको अस्पतालले जनाएको छ । लक्षणका आधारमा भाइरलको संक्रमण भएका विरामीको चिकित्सकले उपचार गर्दै आएका छन् ।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको संक्रमण हुने गरेको चिकित्सकले बताएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका बिरामीको संख्या बढदो छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ