२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम

भोलिदेखि कार्यभार सम्हाल्ने


काठमाडौं–कोभिड–१९ नियन्त्रण र उपचारका लागि शक्तिशाली केन्द्रीय अस्पताल बनाइएको कोभिड–१९ केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम नियुक्त भएका छन् । सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

नवनियुक्त प्रशासकीय अधिकारी डा. गौतमले मंगलबारदेखि नै कार्यभार सम्हाल्ने छन् ।

डा. गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका मानिएका थिए । हेल्थआवाजले सोमबार दिउँसो उक्त समाचार प्रकाशित गरेको थियो ।

नवनियुक्त डा. गौतम हक्की स्वभावका चिकित्सक मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कोभिड–१९ निर्देशक समितिको अध्यक्ष भएकाले केन्द्रीय अस्पतालको नेतृत्वमा पनि उनकै रोजाइको व्यक्ति ल्याइएको हो ।

सचिव हुने लाइनमा नरहेका डा. गौतम सरकारी सेवामा रहँदा सम्झने गरी केही गर्न खोजिरहेका थिए । यतिबेला नै उनलाई देखाउने गरी काम गर्न पाउने युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व मिलेको छ । ‘मैले जिम्मेवारी पाए भने काम गरेर देखाउँछु,’ डा. गौतमले यसअघि हेल्थआवाजसँग भनेका थिए, ‘दिएको जिम्मेवारीबाट पछि हटने बानी छैन । म जिम्मेवारी दिएपछि काम गर्छु ।’

सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ ।

डा. गौतम स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक पनि हुन् । गौतम काम गरेर देखाउने स्वभावका अधिकारीहरुमा पर्छन् । डा. गौतम मन्त्रालयको प्रवक्ता हुनुअघि परोपकार प्रसुति गृह थापाथालीका निर्देशक थिए, उनले त्यहाँ थिती बसाएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

सबै कोभिड–१९ अस्पतालहरुको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ । जसका कारण युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिलाई महत्वका साथ हेरिएको थियो ।

यो पनि पढ्नुस

वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ?

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डर डा. लोहनी कि डा. गौतम ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ