२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुमेडिका कम्पनीको गम्भीर लापरवाहीः औषधीको खोल एउटा, औषधी अर्कै

युमेडिका कम्पनीको गम्भीर लापरवाहीः औषधीको खोल एउटा, औषधी अर्कै

बाहिर युझोलिन–१०००, भित्र युरोक्झीम–७५०


काठमाडौं—भारतीय  औषधी  उत्पादक कम्पनी युमेडिकाले नेपालमा बिक्री गर्दै आएको युझोलिन–१००० औषधीमा गम्भीर लापरवाही गरेको पाइएको छ । बाहिर युझोलिन–१००० नाम राखेर नेपाली बजारमा बिक्री वितरण भइरहेको एन्टीबायोटिक औषधीमा भित्र फरक कम्पोजिसनको युरोक्झीम–७५० राखेको पाइएको हो ।

बजारमा गएको यो ब्याचको अधिकांश औषधीमा त्रुटि रहेको पाइएको हो । फार्मेसीमा गलत औषधी गएपछि फार्मेसी सञ्चालकहरुले सामाजिक सन्जालमार्फत उक्त गल्ती बाहिर ल्याएका थिए ।

सोही आधारमा औषधी व्यवस्था विभागले काठमाडौं विभिन्न औषधी पसलहरुमा अनुगमन गरेको थियो । सोही क्रममा त्रिवि शिक्षण अस्पताल अगाडिको सोभिका फार्मेसीबाट ५५ भायल चेकजाँच गर्दा २६ भायलमा त्रुटि पाइएको थियो । त्यसैगरी, क्षेत्रपाटी एरियाका औषधी पसलमा पनि त्रुटि पाइएको तर कतिमा परिणाममा भन्ने एकिन भइसकेको छैन ।

नेपालको आधिकारिक बिक्रेता फर्माकेयर इन्टरनेशनल प्रा.लि. बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य श्रीजन भट्टराईले कम्पनीबाट गल्ती भएको जनाउँदै देशभरीबाट उक्त ब्याचको औषधी रिकल गर्ने बताए ।

मेडिकल सञ्चालकहरुले कम्पनीले मानिसको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको आरोप लगाउँदै यसको उत्पादन कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार औषधीमा लेबलीङ इरर देखिएको हो । विभागले फार्मेसीहरुबाट औषधिका नमुनाहरु संकलन गरेर ल्याएको थियो । नमुनामा ‘लेबलीङ इरर’ देखिएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ