२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा आयुर्वेद चिकित्सालय संचालनमा आउँदै, आयुर्वेद प्रतिष्ठान बनाउने तयारी

सुदूरपश्चिममा आयुर्वेद चिकित्सालय संचालनमा आउँदै, आयुर्वेद प्रतिष्ठान बनाउने तयारी


धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिका—१३ राजपुरमा सुविधासम्पन्न आयुर्वेद चिकित्सालय संचालनमा आउने भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्य आयुर्वेद चिकित्सालयको धनगढी उप–महानगरपालिका वडा नं १३ राजपुरमा रहेको डिलासैनी सामुदायिक वनको १.३ हेक्टर प्रयोग गर्ने गरी २०६९ माघ १० मा स्वकृती प्राप्त भएर ०.२८ हेक्टर क्षेत्रफलमा उक्त आयुर्वेद चिकित्सालयको भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्सालयमा ५० शैय्याको अस्पताल संचालन गरी पठनपाठनका लागि समेत प्रयोग गरिने र आयुर्वेद औषधीप्रति बढिरहेको आर्कषणमा ठूलो टेवा पुग्ने चिकित्सालयले जनाएको छ ।

सो ५० बेडको चिकित्सालयबाट शल्यचिकित्सा, पूर्वकर्म÷पञ्चकर्म, योग, फिजियोथेरापी, अत्याधुनिक प्रयोगशालालगायतका सेवाहरु प्रदान गरिने चिकित्सालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले निर्माण गरिरहेको प्रदेश आयुर्वेद औषधालयको भवनको ९० प्रतिशत कार्य सम्पन्न भएको र लिफ्ट तथा पार्किङ क्षेत्रको काम बाँकी रहेकाले पुष मसान्त अगावै सकिने संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी ई.द्रोणमानदेव कटुवालले बताए । उनले भने, ‘पौष मसान्त अगावै निर्माण सम्पन्न गरी प्रदेशलाई हस्तातरण गर्छौ ।’

उक्त आयुर्वेद चिकित्सालयलाई आयुर्वेद प्रतिष्ठान बनाउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र संचालन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ साउन १५ मा प्रदेश प्रमुख कार्यालयबाट प्रमाणिकरण भइसकेको छ । हालसम्म पनि राजपत्रमा भने प्रकाशित हुन सकेको छैन ।

एलोप्याथिक, होमियोप्याथिक, अकुपंचर, प्राकृतिक चिकित्सा तथा वैकल्पिक चिकित्सा प्रणालीहरुको संरक्षण, सम्वद्र्धन र विकास गर्ने नीति सुदूरपश्चिम प्रदेश सरकारको लिएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रादेशिक रुपमा स्थापना हुँदै गरेको प्रादेशिक आयुर्वेद चिकित्सालय साविकको क्षेत्रीय आयुर्वेद चिकित्सालय नेपाल सरकारबाट १० पुस २०७५ मा चिकित्सालयअन्तर्गत रहेका सबै चल-अचल सम्पत्ति सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय मातहत रहने गरी हस्तान्तरण भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तत्कालीन सेतस् आयुर्वेद अस्पताललाई ४ फागुन २०७७ मा प्रादेशिक आर्युर्वेद चिकित्सालयमा गाभेको थियो । तत्कालीन सेती आर्युर्वेद अस्पतालका प्रमुख डा. खगेन्द्र बमलाई २१ फागुन २०७७ देखि प्रादेशिक आयुर्वेद चिकित्सालयको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ