२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ अर्बका भौतिक संरचनाको गेटमा बसेर बिरामी चेकजाँच

४ अर्बका भौतिक संरचनाको गेटमा बसेर बिरामी चेकजाँच

गेटा मेडिकल कलेज सञ्चालनका लागि दबाब अभियान जारी


धनगढी—सुदूरपश्चिमका स्थानीयले सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्ययन गर्ने सपना देख्न थालेको दशकौ भइसकेको छ । सुदूरपश्चिमबाहेकका सबैजसो प्रदेशमा चिकित्सा शिक्षा अध्यापन भइरहेको भएपनि यस क्षेत्रमा भने अहिलेसम्म स्तरीय अस्पताल समेत संचालन हुन सकेको छैन ।

जसका कारण सुदूरपश्चिम प्रदेशका जनता कि अन्य प्रदेशमा जान बाध्य छन् भने कि भारतीयका अस्पताल धाउनुपर्ने बाध्यतामा छन् ।
लामो समयको सघर्षपछि कैलालीको गेटामा चिकित्सा शिक्षासँगै सुविधासम्पन्न ६ सय शैय्याको अस्पताल संचालन गर्ने उद्देश्यसहित भौतिक संरचना निर्माण गरिएको भएपनि अझै अस्पताल संचालन गरिएको छैन भने चिकित्सा शिक्षा अध्यापनका लागि कुन मोडालिटीमा जाने अन्याल कायमै छ ।

गेटामा हाल करिब साढे ४ अर्बको लागतमा अस्पताल, कलेज, छात्रवास, आवासलगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन् । संघीय सरकारमार्फत भवन निर्माण गरिएका भएपनि संचालनमा बेवास्ता गरिदा अहिले यस क्षेत्रमा विभिन्न दबाबमूलक आन्दोलनका कार्यक्रम संचालन भइरहेका छन् ।

मंगलबार प्रस्तावित गेटा मेडिकल कलेजको गेट (प्रवेशद्वार) मा दबावमूलक निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गेटा मेडिकल विश्वविद्यालय संचालनार्थ संघर्ष समिति कैलालीले गेटा मेडिकल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनार्थ दबावमूलक निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

अस्पतालको गेटमा गरिएको शिविरमा यस क्षेत्रका पदमा अस्पताल, अत्तरिया अस्पताल, माया मेट्रो अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिक प्रालिका चिकित्सकहरुले बिरामी चेकजाँच गरेका थिए । शिविरमा डा. नरबहादुर मौनी, डा.आनन्द पाठक, डा. वीरेन्द्र भण्डारी, डा.सुनिलचन्द्र, डा. नारायणप्रसाद पौडेल, डा. ब्रिजेश शाह, डा. ढाकाराम लामिछाने, डा. विकास रिजाललगायतले निःशुल्क रुपमा बिरामी चेकजाँच गरेका थिए ।

गेटामै उपचार पाउने आशामा बिरामी

गेटा मेडिकल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनार्थ दबाव दिन आयोजनामा गरिएको शिविरमा उपचार गराउन आएका बिरामीहरुले छिट्टै गेटामा उपचार पाउने आशा व्यक्त गरेका छन् । अर्वौ लगानीमा बनेका भवन प्रयोग बिहिन बनिरहँदा प्रवेशद्वारमा चेकजाँच गराएका बिरामीहरुले सरकारले यस क्षेत्रका जनताको स्वास्थ्य समस्यालाई बुझेर चाडो अस्पताल संचालन गरिनुपर्ने माग समेत गरेका थिए ।

पेटको उपचार गराउन शिविरमा पुगेकी अत्तरियाकी लक्ष्मी विष्टले गेटामा निर्माण गरिएका भवनमा अस्पताल संचालन भएमा उपचार गराउन निकै सहज हुने बताइन् । ‘छिटो मेडिकल कलेज संचालन भइदिएको भए हामीलाई यस क्षेत्रबाट स्वास्थ्य सेवा लिन सहज हुने थियो’ उनले भनिन्, ‘अहिले यति ठूला भवन बनिसक्दा पनि काठमाडौं, भारत धाउनुपर्ने बाध्यता छ । हामीलाई दुःख लागेको छ ।’

अत्तरियाकी कमला भट्टले पनि छिटो अस्पताल संचालन भए बाह्य जानुपर्ने बाध्यता हट्ने बताइन् । ‘शिविरभन्दा पनि यही मेडिकल कलेजबाट नियमित उपचार गर्न पाए सहज हुन्थ्यो,’ उनले भनिन् । गोदावरीका सुरज विष्टले छिटोभन्दा छिटो अस्पताल संचालन भएर चिकित्सा शिक्षाको अध्यापन हुनुपर्ने बताए । उनले अस्पताल संचालन भएमा भारतमा जानुपर्ने बाध्यता हट्ने भएकाले बताए ।

गेटा मेडिकल विश्वविद्यालय संचालनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मोडालिटीको विषयमा अब बहस नगरी यथाशीघ्र मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने बताए । स्वास्थ्य शिविर संचालन गरिनुपूर्व आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यसै वर्ष अस्पताल संचालन गर्ने भनेपनि हालसम्म अस्पताल संचालन हुने संकेत नदेखिएकाले सरकारलाई चुनौती दिन गेटमै बिरामी चेकजाँच सेवा दिइएको बताए ।

‘अझै पनि हाम्रा माग पूरा नगरिए हामी अझै सशक्त रुपमा आन्दोलन गर्नेछौ,’ उनले भने ‘जबसम्म विद्यार्थी एप्रोन लगाएर यस ठाउँमा पढ्न आउँदैनन्, जबसम्म यहाँ अस्पताल संचालन हुँदैन्, तबसम्म आन्दोलन जारी रहने छ ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ