२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टर उत्पादन गर्ने गेटा मेडिकल कलेजबाट सांसदको प्रमाणपत्र बाँडियो

डाक्टर उत्पादन गर्ने गेटा मेडिकल कलेजबाट सांसदको प्रमाणपत्र बाँडियो


धनगढी—कैलालीको मोहना अत्तरिया ६ लेन सडक किनारामा प्रस्तावित गेटा मेडिकल कलेजका भवन ठडिएका छन् । झट्ट हेर्दा भवन क्षेत्रमा पुगेपछि कुनै ठूलो सहरमा प्रवेश गरेको अनुभूति हुन्छ । सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रमा कायापलट ल्याउन सक्ने भनिएको प्रस्तावित ‘गेटा मेडिकल कलेज’ का ती भवन संचालनको मोडालिटी नपाउँदा भने अन्योलमा छन् । कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने स्पष्ट ऐन नहुँदा नै भवन बेकामे बनेका हुन् ।

गत आर्थिक वर्ष भित्र नै सरकारले प्रस्तावित गेटा मेडिकल कलेज संचालनमा ल्याउने लक्ष्य राखेको भएपनि अघिल्लो संसदले संचालनको मोडालिटीका लागि ऐन दिन नसक्दा मेडिकल कलेजको काम गतिहीन र दिशाहीन बन्न पुगेको छ । यसअघिकै संसदबाटै यसको मोडालिटी टुंगाएर ऐन पास गराउनका लागि दबाब दिन यस क्षेत्रमा आन्दोलन नै चर्किएको भएपनि त्यसको सुनुवाई हुन सकेन् । तर, नयाँ सांसद बन्नको लागि उम्मेदवार बनेकाहरुले भने प्रस्तावित गेटा मेडिकल कलेजको मुद्धालाई जोडतोडका साथ उठाए ।

संयोग नै मान्नुपर्छ गेटा मेडिकल कलेजको मुद्धा उठाउने उम्मेदवारहरुको भाग्यको फैसला नै त्यही गेटा मेडिकल क्षेत्रबाट हुन पुगेको छ । डाक्टर उत्पादन गर्ने भनेर बनाइएका भवनमा सांसद छनोट गर्ने मतपेटिका राखिए र त्यही भवनबाट विजयी सांसदको नाम घोषणा भएर त्यही भवनबाट शनिबार संसदको प्रमाणपत्र तयार पारेर बाँडिएको छ ।

गेटा मेडिकल कलेजका खाली भवनमा कैलाली—४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको थियो । उक्त कार्यालय सुरुमा अत्तरियामा रहेको हुलाक कार्यालयमा राखिएको भएपनि पछि यहाँ ठाउँ अभाव हुने भन्दै गेटामा सारियो । तर, निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले भने कार्यालय ठाउँ अभाव भएर मात्रै नभएर रणनीतिक रुपमै गेटामा सारिएको बताए ।

‘गेटा मेडिकल कलेजमा कार्यालय राख्नुको पछाडि मेरो व्यक्तिगत स्वार्थभन्दा पनि रणनीतिक कारण छ’ शनिबार प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै कठायतले भने, ‘यो क्षेत्रका जनताको आम सरोकार र चासोको विषय गेटा मेडिकल कलेजलाई संचालनका लागि जितेका सांसदको ध्यान केन्द्रीत गर्न पनि हो ।’ उनले यही आउने हिउँदे अघिवेशनबाट मेडिकल कलेजको ऐन पारित गरी संचालनमा आओस् भन्ने यस क्षेत्रका जनताको चाहना रहेको बताए ।

‘म यहाँ कार्यालय राख्नु अगाडि पनि आए । यहाँ तमाम भवन निर्माण भएका छन् । अहिले बनेका भवन पनि जीर्ण हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यहाँ स्वास्थ सेवाको लागि पर्याप्त सुविधा नहुँदा यस क्षेत्रका जनताले निकै समस्या भोगेको कुरालाई महसुस गरेर तत्काल ऐन ल्याएर संचालन गर्न अनुरोध गर्दछु ।’

प्रमाणपत्र ग्रहणपछि बोल्दै प्रतिनिधिसभामा निर्वाचित वीरबहादुर बलायरले आफूले गेटा मेडिकल कलेज संचालनमा ल्याउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले आफूले चुनावमा उठाएका मुद्धा पूरा गर्न दिलोज्यान लागेर काम गर्ने बताए ।

‘यस क्षेत्रको जल्दोबल्दो इस्यु भनेकै राजधानी र गेटा मेडिकल कलेज हो । यसका लागि हामीले आफ्नो तह र तप्काबाट तत्कालीन रुपमा काम अगाडि बढाउने छौं’ उनले भने, ‘सपथ ग्रहणपछि आधिकारिक रुपमा हाम्रो राज्यसँगकोे संवाद र उपस्थिति र राज्य निर्माण गर्ने ऐन, कानुन, निर्माणमा आफ्नो भूमिका रहने नै छ ।’

वि.सं. २०६६ सालमै गेटा मेडिकल कलेज निर्माण गर्ने घोषणा गरिएको भएपनि आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै यसको भौतिक संरचना निर्माणको काम थालिएको थियो । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासलगायत संरचना निर्माणको काम सकिएको छ । कलेजको करिब ९० प्रतिशतभन्दा बढी काम सकिएको भएपनि संचालनको मोडालिटीबाट ऐन तयार नहुँदा अन्योल कायम भएको छ । यद्यपी जुन मोडालिटीमा गएपनि अस्पताल संचालन आवश्यक पर्ने भएकाले त्यसका लागि काम अगाडि बढाउन भने सरकारले काम थालेको जनाएपनि त्यो निकै सुस्त छ ।

प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय या मेडिकल कलेजकै रुपमा अगाडि बढाउने भन्ने बारेमा अन्योल कायम छ । यस क्षेत्रका बहुसंख्यक जनताले भने यसलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउनुपर्ने माग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ