२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पतालमा सिटी स्क्यान सेवा सुरु, मुख्यमन्त्री भट्टले गरे उद्घाटन

सेती अस्पतालमा सिटी स्क्यान सेवा सुरु, मुख्यमन्त्री भट्टले गरे उद्घाटन


धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रूपमा रहेको  सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ ।अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमका बीच सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् ।
उद्घाटनको क्रममा बोल्दै उनले आफ्नो पालामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताए ।  ‘जसमध्ये यो अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन महत्त्वपूर्ण कार्य हो’, उनले भने ।
सिटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने मुख्यमन्त्रीको विश्वास थियो । उनले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह समेत गरे ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा सिटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्दा ६ करोड ८७ लाख रुपियाँमा सिटी स्क्यान मसिन खरिद भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए । उनले बचत भएको रकम अस्पतालको लागि एमआरआई मेसिन खरिद गर्नका लागि खर्च गरेको बताए ।
सिटी स्क्यान सेवा थपिनु प्रदेशवासीका लागि खुसीको कुरा रहेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मसिन थप्ने तर, जनशक्ति अभावमा केही समयपछि बन्द हुने गरेकाले त्यसतर्फ सजग रहन अस्पताललाई आग्रह गरे  ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाहले अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनले यो प्रदेशका जनता सिटी स्क्यान गराउनकै लागि काठमाडौँ, नेपालगन्ज, भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ