२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री

बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री

चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बनाउने दाबी


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँ सराइँ रोक्नका लागि तीन वटै सरकार सजग हुनुपर्ने बताएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा राजधानीमा आयोजना गरेको जनसंख्या र बसाइँ सराइँ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् ।

मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइँ सराइँको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताए । उनले भने,  ‘ बसाइँ सराइँ व्यवस्थापन गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन । यसमा राज्यका तीनवटै सरकारको सहकार्य आवश्यक छ । जनसंख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नुपर्छ । ’

हिमाल र पहाडबाट जनसंख्या सहरी क्षेत्रमा बसाइँ सराइँ बढ्दै जाने र सहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकोले यसको समाधानमा अहिलेदेखि नै सरोकारवाला लाग्नुपर्नेमा मन्त्री बस्नेतको जोड थियो ।

चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरैजसो युवा जनशक्ति विदेश पलायन भइरहेको दाबी गर्दै निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बनाउने दाबी मन्त्री बस्नेतले गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले नेपालीको औसत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका विषयमा पनि विज्ञहरूले चासो राख्नुपर्नेमा जोड दिइन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले सरकारले अगामी १६ औँ पञ्चवर्षीय योजनामा यो विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता माथि जोड दिए ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताउँदै राज्यले बसाइसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताइन । कार्यक्रममा तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बसाइसराइ व्यवस्थित सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ