२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सलाई विशेषज्ञ अध्ययनको भर्ना प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

न्याम्सलाई विशेषज्ञ अध्ययनको भर्ना प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आगामी शैक्षिक सत्रका लागि विशेषज्ञ अध्ययनका लागि सुरु गरिएको भर्ना प्रक्रिया तत्काल रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार डा. शम्भु कुमार यादवले हालेको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीस अनिलकुमार सिन्हाको एकल इजलासले भर्ना प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशसँगै सर्वोच्चले कारण देखाउन र छलफलमा सहभागी हुन पनि आदेश दिएको छ । भर्ना प्रक्रिया रोक्नको लागि अदालतले आदेश दिएको अनौपचारिक जानकारी आफूले पाएको न्याम्सका डिन डा. पियुस दाहालले बताए । ‘हामीले (न्याम्सले) औपचारिक पत्र पाइसकेका छैनौं,’ उनले भने ‘हाम्रो कानुन अधिकृतले यस्तो निर्णय भएछ भनेर मलाई भन्नुभएको थियो ।’

यादवले न्याम्स, नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । न्याम्सले निकालेको परीक्षाफलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई सरकारी कोटामा नराखी खुल्लामा राखेको भन्दै उनले रिट दायर गरेका थिए । उनले नेपाल सरकारको सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमा प्रतिष्ठान अन्तर्गतका कर्मचारी पनि सरकारी हुने उल्लेख भएको भन्दै सो विपरीत न्याम्सले परीक्षाफल प्रकाशित गरेको जिकिर गरेका छन् ।

सो कार्यविधिमा सरकारी चिकित्सक भन्नाले स्वास्थ्य सेवा ऐन अन्तर्गत कार्यरत चिकित्सक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत चिकित्सक वा नेपाल सरकारको अनुदान प्राप्त सरकारी निकायमा कार्यरत चिकित्सक कर्मचारीलाई सम्झनुपर्छ भनिएको छ ।

न्याम्समा विशेषज्ञ अध्ययनको लागि प्रत्येक वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)लाई कोटा छुट्याउने गरेकोमा यस वर्ष नछुट्याएको भन्दै रिट दायर गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही वर्ष कासको लागि निश्चित कोटा छुट्याउने गरेकोमा यस वर्ष नराखिएको भन्दै उनले रिट दायर गरेका थिए । डा. यादव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृतको रुपमा कार्यरत छन् ।

कासको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट न्याम्समा पहिलो व्याचमा ७ सिट, दोस्रो व्याचमा २ सिट, तेस्रो व्याचमा २ सिट, चौथो व्याचमा १ सिट, पाँचौं व्याचमा ३ सिट र अघिल्लो व्याचमा १ सिट छुट्याएको थियो । यस वर्ष अध्ययनको लागि सरकारी कोटाबाटै फारम भरेर परीक्षा दिएता पनि परीक्षाफल प्रकाशित गर्दा खुलामा नाम प्रकाशित भएको हुँदा सर्वोच्च गएको डा. यादवले बताए । उनले न्याम्स प्रशासनसँग आफूलाई खुलामा निकालेको विषयमा बुझ्दा प्रतिष्ठान सरकारी कोटाभित्र नपर्ने जवाफ पाएको बताए । न्याम्सका डिन डा. दाहालले भने स्वास्थ्य सहित विभिन्न मन्त्रालयले सिफारिस गरेका आधारमा आफुहरुले सरकारी कोटा छुट्याएर परीक्षाफल प्रकाशित गरेको बताए ।

विशेषज्ञ अध्ययनको लागि न्याम्सले ९ कार्तिकमा प्रवेश परीक्षा भएको थियो । परीक्षाको परीक्षाफलसंगै सबै प्रकृया पुरा गरेर भर्ना प्रकृया नै सुरु गरिसकेको थियो ।

न्याम्सका लागि यस वर्ष नेपाल मेडिकल काउन्सिलले एमडी/एमडीएमएसतर्फ ११५ र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । जसमा एमडी/एमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ ।

त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ । डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ । त्यसैगरी, एमसिएचतर्फ न्युरो सर्जरीमा २, प्लास्टिक सर्जरीमा २, थोरासिक एण्ड भास्कुलर सर्जरीमा २, युरोलोजी २ सर्जिकल गाइनोकोलोजीमा १ सिट तोकेको छ । यस वर्ष एमडीएसतर्फ विभिन्न विधाका लागि ७ वटा सिट निर्धारण गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ