२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसिंगापुरबाट आएको २५ करोड बराबरको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण

सिंगापुरबाट आएको २५ करोड बराबरको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण


काठमाडौं-नेपालमा फैलिइरहेको कोभिड–१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट आएको १३ टनभन्दा बढी मेडिकल सामाग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । आइतबार करिब २५ करोड नेपाली रुपैयाँ बराबरको उक्त सामाग्री दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

जसमा १ ला २३ हजारभन्दा बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षण, २ लाख ५० हजार सिटोटेष्ट स्वाब किट्स, Magec32 RNA निकासी मेसिनहरु, २५०० निकासी किट र रिएजेन्ट, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बीआई–प्याप, नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४ हजार पल्स अक्सिमीट रहेका छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग सहकार्यमा उक्त सामाग्री जुटाइएको थियो । ८ बैशाखमा उक्त सामाग्री लिएर नेपाल वायुसेवाको चार्टर उडान काठमाडौं आएको थियो ।

तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, ‘कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।’

सिंगापुरस्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

सहयोग हस्तान्तरणपछि मन्त्री त्रिपाठीले अहिलेको कठिन अवस्थामा प्राप्त सहयोगका लागि आभार प्रकट गरे । उनले प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई उक्त स्वास्थ्य सामग्रीहरु वितरण गरिने बताए । गोर्खा बु्रअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ