२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यधुम्रपान विरुद्धको अभियान डा. ओममूर्ति : देशब्यापी विद्यालयस्तरीय प्रतियोगिता गर्दै

धुम्रपान विरुद्धको अभियान डा. ओममूर्ति : देशब्यापी विद्यालयस्तरीय प्रतियोगिता गर्दै


काठमाडौं—प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सूर्ति सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतनामूलक अभियान ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गर्दै आएका छन् ।

विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सूर्ति सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ ।

‘पछिल्ला दिनमा नेपालमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेको छ । अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धुम्रपान सुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ । तसर्थ, विद्यार्थीलाई धुम्रपान र सूर्ति सेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य छ,’ डा. अनिलले भने, ‘विद्यार्थीमा धुम्रपान र सूर्ति सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सूर्ति सेवन गर्दैनन् । साथै घर परिवार, आफन्त र साथीभाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन् ।’

सोही उद्देश्यका साथ फाउन्डेसनले धुम्रपान र सूर्ति सेवनबाट सेवनकर्ता, सेवनकर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले जानकारी दिए । फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि अनलाइमार्फत् सार्वजनिक आह्वानसमेत गरिसकेको छ ।

कविता प्रतियोगितामा भाग लिनका लागि धुम्रपान र सूर्ति सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्नेछ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनु पर्नेछ । १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कविता वि.सं. २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा पठाइसक्नुपर्नेछ ।

यस्तै, बाल चित्रकलामा धुम्रपान र सूर्ति सेवनबाट सेवनकर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनु पर्नेछ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्ने फाउण्डेसनले जनाएको छ ।

चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा वि.सं. २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

हाजिरी जवाफमा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार

हाजिरी जवाफ प्रतियोगिताका लागि धुम्रपान र सूर्ति सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्सीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तिमा एउटा छात्रा अनिवार्य गरिएको छ ।

सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबीच ‘भर्चुअल’ ¥यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेको÷रोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।

छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रतिप्रदेश २ वटा समूह छनोटमा पर्नेछन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूहमध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुनेछन् । हाजिरी जवाफ प्रतियोगिता फेसबुक लाइभ हुनेछ ।

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा. ओम फाउन्डेसनको फेसबुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्नेछ ।

सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बरसहित), इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ । प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ । प्रतियोगिताबारे विस्तृत जानकारी फाउन्डेसनको वेवसाइट र फेसबुक पेजमा रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ