२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. प्रज्वल श्रेष्ठको सल्लाहः कसरी गर्ने मास्कको सुरक्षित प्रयोग ?

डा. प्रज्वल श्रेष्ठको सल्लाहः कसरी गर्ने मास्कको सुरक्षित प्रयोग ?


डा. प्रज्वल श्रेष्ठ
फोक्सो तथा श्वास प्रश्वास रोग विशेषज्ञ
वीर अस्पताल

हामीले मास्क प्रयोग कसरी गर्नेभन्दा पनि कसले प्रयोग गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । हाल अधिकांश नेपालीले घरमै बस्दा पनि मास्क लगाएर बसेको देखिन्छ । यो व्यक्तिको व्यक्तिगत भ्रम तथा भय मात्रै हो । प्रत्येकले घरमै बस्दा मास्कको प्रयोग गर्न जरुरी छैन ।

संक्रमित भएको व्यक्ति वा ज्वरो तथा खोकी लागेको व्यक्तिले मात्रै आफ्नो कारण अन्यमा संक्रमण नसरोस्, भन्नका लागि मास्कको प्रयोग गर्नुपर्छ । यसबाहेक स्वास्थ्यकर्मीहरु जो अस्पतालमा प्रत्यक्ष बिरामीको उपचारमा खटिरहनु भएको छ । उहाँहरुले पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ ।

अहिलेको अवस्थामा भीडभाड, हुलमुल अथवा मान्छेको चाप हुने सार्वजनिक स्थानमा जाँदा मास्कको जरुरत पर्दछ । तर, कस्तो मास्क लगाउने त? बजारमा पाइने फेसन तथा कपडाको मास्कको प्रयोग प्रभावकारी हुँदैन । यो समयमा एन नाइन्टी फाइभ मास्कको प्रयोग उचित रहन्छ । तर, हाल बजारमा यो मास्क उपलब्ध नभएको खण्डमा हामीले भित्र सेतो रंग र बाहिर अन्य रंग (निलो वा हरियो) भएको, ३ वटा लेयर भएको सिम्पल सर्जिकल मास्क नै पनि प्रयोग गर्न सक्छौ । यो मास्क विशेष रुपमा अस्पतालमा स्वास्थ्यकर्मीहरुले प्रयोग गरेको देख्न सकिन्छ । अहिलेको अवस्थामा यसको प्रयोग प्रभावकारी पनि रहन्छ ।

बजारमा यस्ता मास्कको अभावसँगै कपडाको मास्कको प्रयोग गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । त्यो मास्क २/३ पटक धोएर पनि प्रयोग गर्ने गरेको देखिन्छ । तर, यो विल्कुल गलत हो । कपडा तथा फेसनका मास्कको प्रयोग प्रभावकारी रहँदैन् । यसको सट्टामा हामीले सर्जिकल मास्क नै प्रयोग गर्नुपर्छ । तर, सर्जिकल मास्कको प्रयोग पनि कतिपयले लगातार २/३ दिनसम्म गरेको देखिन्छ । यो सरासर गलत हो । हामीले एउटा मास्क कम्तिमा पनि ६ देखि ८ घन्टासम्म मात्रै प्रयोग गर्नुपर्छ ।

यसका साथै मास्कको प्रयोग गरिरहँदा कतिपय व्यक्तिले बारम्बार आफ्नो हात नाक तथा मुखमा लगेर मास्क मिलाई रहेका हुन्छन् । यसो गर्दा हाम्रो हातमा भएका किटाणुहरु हाम्रो नाक तथा मुखको माध्यमबाट शरीरमा सजिलै प्रवेश गर्न सक्छ । त्यसैले यसरी बारम्बार हात नधोइकन नाक तथा मुख वरपर लैजानु हुँदैन । यदि लैजानैपर्ने अवस्था आए राम्ररी हात धोएर अथवा सेनिटाइजरको प्रयोग गरेर मात्रै लैजानु पर्छ ।

प्रस्तुती ः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ