२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अनन्त अधिकारीको सल्लाहः दिनभर तनावमुक्त रहने ८ तरिका

डा. अनन्त अधिकारीको सल्लाहः दिनभर तनावमुक्त रहने ८ तरिका


नेपालमा कोरोना महामारी सुरुवातको झण्डै ६ महिना लाग्दै गर्दा यसको संक्रमितको संख्यामा पनि क्रमसः वृद्धि हुँदै गएको छ । यसरी दिनप्रतिदिन कोरोना संक्रमित तथा मृत्युदरको संख्या उकालो लाग्दै गएको समाचार विभिन्न सोसल मिडिया तथा अखबारको माध्यमबाट मिडियाबाट आम व्यक्तिसम्म पुग्छ । जसकारण व्यक्तिमा एक खालको त्रास र भयको मात्रा बढ्दो छ । जुन स्वभाविक पनि हो । र, यो समय भनेको हामी सजग हुने समय पनि हो ।

थोरै तनाव र चिन्ताले व्यक्तिलाई अलिकति भएपनि सजग बनाउनुका साथै कुनै पनि समस्याबाट बच्न तथा जुध्न मद्दत गर्दछ । विशेषगरीः अहिलेको स्थितिप्रति व्यक्तिमा केही हदसम्म चिन्ता हुनु स्वभाविक पनि छ । अन्यथाः व्यक्तिहरु आफ्नो सुरक्षामा ध्यान नदिने पनि हुन्छन् ।

तर, कतिपय व्यक्तिमा भने तनावले नकारात्मक असर समेत पारिरहेको हुन्छ । अझ कालान्तारमा यसमा आएको स्तरवृद्धिका कारण यसले ‘स्ट्रेस डिसअर्डर, एन्जाइटी डिसअर्डर, तथा डिप्रेसन’ आदिको शिकार हुन सक्ने सम्भावना रहन्छ । यी समस्याहरु समयै हल भएनन् भने मानिसमा आत्महत्याको सोच समेत आउन सक्छ । तसर्थ, व्यक्तिले आफूमा यी समस्याहरु हावी नहुन् भन्ने विषयप्रति सजग रहनु आवश्यक छ ।

कसरी रहने त दिनभर तनावमुक्त?

१. धेरै समाचार तथा मास मिडियाको पछि नलाग्ने

यसअघि सोसल मिडिया धेरै चलाउने व्यक्तिमा धेरै तनाव हुने तथ्य हाम्रो सामु आएको थियो । वर्तमान परिस्थितिमा झनै यसको स्तरमा वृद्धि भएको छ । किनकी, समाचार तथा मिडियामा छोटो–छोटो अन्तरालमा अपडेट भइरहेको समाचार तथा बालबालिकाको विद्यालय बन्द, यातायत ठप्पजस्ता घटनाले हामीमा झनै तनाव बढाउने काम गर्छ । त्यसैले हामीले सूचनाका लागि बिहान र बेलुका गरी बढीमा जम्मा २ पटकसम्म विश्वसनीय एवं सेलेक्टीभ माध्यमबाट समाचार सुन्न अथवा हेर्न सकिन्छ । र, नकारात्मक सन्देश दिने मिडियाबाट टाढै रहनुपर्छ ।

२.आफ्नो दैनिकीलाई निरन्तरता दिने

त्यसो त यस समयमा अन्य समयमा जस्तो व्यक्ति खासै अस्तव्यस्त रहदैन् । जसले पनि व्यक्तिलाई कुनै न कुनै रुपमा डिस्टर्ब गरिरहेको हुन्छ । तर, पनि व्यक्तिले यस्तो अवस्था आउन नदिन सहज भएसम्म आफ्नो दैनिकीलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ ।

३. मनोरञ्जन एवं रचनात्मक कार्यमा समय व्यतीत गर्ने

अहिलेको समयलाई व्यक्तिले भाइरसका कारण भित्र निश्चित स्थानमा बन्द भएर बस्नुपर्ने बाध्यताभन्दा भाइरसका कारण आफूले आफैलाई समय दिन मिलेको एक अवसरको रुपमा लिनुपर्छ । जसमा हामी आफ्नो परिवारसँग विविध खेल तथा रचनात्मक कार्यमा आफ्नो समय व्यतीत गर्न सक्छौ । यसका साथै परिवारसँग बसेर खेल खेल्ने, रमाइला कुराकानी गर्ने, पेन्टिङ गर्ने, केही नयाँ बोटहरु घर वरपर रोप्ने तथा विभिन्न मिठा परिकार बनाएर पनि मनोरञ्जन लिन सकिन्छ ।

४. नकारात्मक सोचलाई दबाएर सकारात्मक सोच राख्ने

हामीले राखेको सोचले हाम्रो शरीरमा सोहीअनुरुप नै ऊर्जा प्रदान गर्ने भएकाले पनि हामीले सकारात्मक सोच राख्नु आवश्यक छ । तर, यस्तो महामारीको माहोलका कारण व्यक्तिमा विभिन्न प्रकारका नकारात्मक सोचहरु आउने सम्भावना उच्च रहन्छ । तर, त्यस्तै किसिमका विभिन्न पुस्तक पढ्ने तथा कार्यक्रमहरु हेर्ने गर्नुपर्छ ।

५. शान्त वातावरणमा बस्ने

बाहिरी खबर तथा सूचनाले व्यक्तिमा तनाव पैदा गर्ने भएकाले यी सबैबाट टाढा रही केही समय शान्त वातावरणमा पनि बस्नुपर्छ । यसका लागि व्यक्तिले तनाव कम गराउने ध्यान एवं योगा पनि गर्न सकिन्छ ।

६. चिन्ताभन्दा चिन्तन गर्ने बानी बसालौं

यो समय भनेको चिन्ताभन्दा पनि बढी चिन्तन गर्ने समय हो । बाहिरी संसारमा भएका घटना तथा फैलिरहेको महामारीको बारेमा चिन्ता गर्नेभन्दा पनि यसको औषधि पाइएको छैन र यसबाट कसरी बच्ने भन्ने विषयमा व्यक्तिले चिन्तन गर्नु उपयुक्त रहन्छ ।

७. टेलिफोन तथा सामाजिक सञ्जालमार्फत आफन्तसँग सम्पर्कमा रहने

हाल समय बाहिर हिड्ने तथा भेटघाट गर्नका निम्ति अनुकूल नभएकाले व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गर्दै त्यसमार्फत आफ्ना साथीभाई तथा आफन्तसँग सम्पर्कमा रहन पनि सकिन्छ ।

८. मनोचिकित्सक तथा मनो–परामर्शदात्ताको परामर्श लिने

व्यक्तिमा तनाव कम गराउन आफैले गर्ने पहल र बाहिरी वातावरणबाहेक मनोचिकित्सक तथा मनो–परामर्शदात्ताको पनि थप भूमिका रहन्छ । व्यक्तिले आफूलाई भएको डर, चिन्ता, त्रास एवं भयका बारेमा खुला रुपमा मनोचिकित्सक तथा मनो–परामर्शदात्तालाई बताएको खण्डमा चिकित्सकले तनाव कम गर्नका निम्ति दिइने व्यायाम, उपचारका सल्लाह तथा औषधिले पनि तनावबाट टाढा रहन सकिन्छ । समस्या बढिरहेको अवस्था वा सो समस्याले व्यक्तिको दैनिक जीवनलाई नै अप्ठ्यारा पारेको खण्डमा चिकित्सकको परामर्शअनुसार केही समयको लागि औषधि उपचारको समेत मद्दत लिन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ