२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई

डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई


मानव शरीर हाडयुक्त संरचनामा निर्मित रहेको छ । हाम्रो शरीरमा मेरुदण्डको स्तम्भ र ब्याक बोन रहेका हुन्छन् । शारीरिक संरचनालाई पूर्ण रुप दिन शरीरमा हड्डीको आवश्यकता अपरिहार्य रहेको छ । यसैको उचित संरचनाका कारण नै व्यक्तिहरु सामान्य रुपमा सरल तरिकाबाट हिडडुल गर्न सक्षम भएका छन् ।

यस्तो महत्वपूर्ण रहेको हाडको स्वास्थ्यको विषयमा भने कमैले मात्रै ध्यान दिने गरेको पाइन्छ । जसकारण पनि व्यक्तिमा हाड सम्बन्धि विभिन्न समस्याहरु देखा पर्छन् ।

सरल–सहज जीवनयापनका लागि व्यक्तिको हाडजोर्नी स्वस्थ एवं बलियो हुन जरुरी छ । यसमा भएको क्षतिका कारण व्यक्तिलाई राम्ररी बस्न र उठेर हिडडुल गर्नमा समेत सकस पर्छ । उसो भए सरल एवं सहज जीवनका लागि हामीले हाड बलियो एवं स्वस्थ्य बनाउन के गर्नुपर्छ? यसका लागि सर्वप्रथम त व्यक्तिले के–कस्ता पक्षले व्यक्तिको हाडजोर्नीमा हानी पु¥याउँछ, भन्ने कुरा बुझ्न आवश्यक छ ।

हाडमा असर पु¥याउने पक्षहरु

  • व्यक्तिको जीवनशैली
  • बढ्दो उमेर
  • क्याल्सियमको मात्रामा कमी
  • हाडसम्बन्धि भएका कुनै ट्रमा केशको उचित उपचारको अभावमा
  • किड्नी सम्बन्धि समस्या वा दीर्घ रोगका बिरामीले सेवन गर्ने केहि औषधिहरु
  • महिलामा महिनावारी रोकिएपछि
  • उचित शारीरिक व्यायामको अभाव
  • र, बाहिरी जंकफुडको अत्याधिक सेवन ।

कुन उमेरका व्यक्तिलाई कस्ता समस्या देखिन्छ?

सामान्यतयाः व्यक्तिमा बढ्दो उमेर अथवा ४०–४५ वर्षको उमेर कटेपछि हाडजोर्नी सम्बन्धि समस्या देखापर्छ । उनीहरुमध्ये अधिकांशमा ‘ओस्टियोपोरोसिस’ समस्या देखापर्छ । यो पश्चिमा मुलुक र एसियामै धेरैजसोमा देखिएको हाडजोर्नीको समस्यामध्ये एक हो । तुलनात्मक रुपमा यसले पुरुषलाई कम र महिलालाई बढी सताउँछ । पछिल्लो एक अन्तर्राष्ट्रिय तथ्यांकलाई हेर्ने हो भने लगभग ३० प्रतिशत महिलामा ओस्टियोपोरोसिसका केस, ४० प्रतिशत महिलामा महिनावारी पश्चात् र ३० प्रतिशत पुरुषले आफ्ना जीवनकालमा ओस्टियोपोरोटिक फ्याक्चरको अनुभव गर्छन् ।

यस्तै, बढ्दो उमेरकै कारण व्यक्तिमा ढाडको पछिल्लो भाग, बस्ने हाड र तिघ्रामा समेत समस्या देखिने हुन्छ । बढ्दो उमेरमा व्यक्तिको हड्डीहरु कमजोर भई खिइदै जाने हुनाले उनीहरुमा मुख्य यी दुई समस्याहरु देखापर्छ ।

यसबाहेक अन्य उमेर समूहमा भने केही घटनाबस हाडमा असर पर्न गएमा वा त्यसको उचित उपचारको अभाव र किड्नी रोग भएकाले प्रयोग गर्ने केही विशेष औषधिको सेवनका कारण पनि छिट्टै यस्ता हाडसम्बन्धि समस्या निम्तिन सक्छ ।

यस्ता समस्याको बेलैमा उपचार नगर्दा व्यक्तिमा कालान्तरमा गम्भीर समस्या देखापर्ने सम्भावना उच्च रहन्छ । तसर्थ यस्तो अवस्था नदेखियोस् भन्नका लागि हामीले समयमै उचित उपचार गराउनुपर्छ । अन्यथाः यसले व्यक्तिमा अपांगता समेत निम्त्याउन सक्छ ।

हाडजोर्नी बलियो र स्वस्थ्य बनाउने उपायहरु

हामीले हाडजोर्नी समस्या नदेखियोस् भन्नका लागि के–कस्ता पक्षले हाडजोर्नीलाई असर गर्छ भन्ने कुरालाई ध्यान दिदै त्यस्ता पक्षहरुबाट बच्नु नै हाडजोर्नी बलियो बनाउने सर्वाेत्तम उपाय हो । यसबाहेक व्यक्तिले आफ्नो शरीरको हाडजोर्नी बलियो बनाउन निम्न उपायहरु अपनाउन सकिन्छः

  • उचित जीवनशैली
  • क्याल्सियमयुक्त खानाको प्रयोग (दुधजन्य खाद्यवस्तु, ब्रोकाउली, नट्स आदि)
  • बाहिर उपलब्ध रेडिमेड खानाको कम प्रयोग
  • नियमित शारीरिक व्यायाम
  • समय–समयमा स्वास्थ्य परीक्षण गराउने
  • महिनावारी रोकिएका महिलाले भने नियमित स्वास्थ्य जाँच गराउने
  • हाडजोर्नी सम्बन्धि समस्या देखा परेमा बेवास्ता नगरी चिकित्सकको परामर्श लिने ।

(डा. मेहता भर्खरै मात्रै चीनमा अध्ययन गरी फर्किएका हुन् । सर्जरी इन अर्थाेपेडिक्स क्षेत्रमा मास्टर गरेका उनी अध्ययनको शिलशिलामा त्यहाँ रहदा ३ वर्ष रेजिडेन्ट चिकित्सकका रुपमा कार्यरत थिए ।)

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ