२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. श्रद्धा श्रेष्ठको सल्लाहः ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर बेवास्ता नगरौं’

डा. श्रद्धा श्रेष्ठको सल्लाहः ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर बेवास्ता नगरौं’


सामान्यतयाः एक वयस्क व्यक्ति र शिशुमा देखिने जन्डिसबीच ठूलो भिन्नता रहेको छ । तुलनात्मक रुपमा शिशुमा देखिने अधिकांश जन्डिस सामान्य र कम जोखिमपूर्ण प्रकृतिका हुन्छन् । जसका कारण अधिकांश यस्ता केसहरुमा उपचारको खासै जरुरत पर्दैन ।

मानव शरीरको संरचनाअनुरुप आन्द्राको मार्ग हुँदै कलेजोमा रक्तप्रवाह हुने गर्छ । सोही प्रक्रियाअन्र्तगत भर्खरै जन्मेका कतिपय शिशुको अपरिपक्व कलेजोले रगतमा भएका बिलीरुबिनको मात्रा हटाउन सक्दैन् । फलस्वरुपः उक्त बिलीरुबिन शिशुको छालामा अन्र्तनिहित हुन गएर शिशुको छाला पहेलो देखिन्छ । जसलाई नै हामी सामान्य बोलीचालीको भाषामा जण्डिस भन्छौं ।

तुलनात्मक रुपमा शिशुमा रगतको मात्रा धेरै बन्ने भएकाले पनि शिशुमा यो समस्या देखिने सम्भावना उच्च रहन्छ । तर, यस्ता पहेलोपन केही समयपछि शिशुको दिशा पिसाबको माध्यमबाट बाहिर जाने भएकोले जन्डिसको मात्रा कम हुँदै जान्छ । जसकारण पनि अधिकांशलाई यसका निमित्त कुनैपनि किसिमको उपचार खासै आवश्यक पर्दैन भनिएको हो । यसबाहेक यसका अन्य कारणहरु भने निम्न रहेका छन्ः

कारणहरुः

  • आमाको दुध शरीरमा प्रशोधित हुन नसक्दा
  • आमाको दुधको कमी भएर दिशा—पिसाब नभएमा
  • थाइराइडको कमी
  • र, अन्य संक्रमण ।

प्रायजसोः जन्मिएको पहिलो हप्ताभित्र अधिकांश शिशुमा पहेलो वा जण्डिस देखिन सक्ने सम्भावना प्रबल रहन्छ । र, यो सामान्य पनि हो । अझ भन्ने हो भने धेरैजसो यस्ता समस्या प्रि–टम (समय अगावै जन्मिएका) का शिशुहरुमा बढी देखिन्छ । समय पुगेर जन्मिएका करिब ६० प्रतिशत शिशुमा जण्डिसको समस्या देखिन्छ भने प्रि–टम (समय अगावै) जन्मिएका शिशुहरुको उचित विकासक्रम भइनसक्ने हुँदा उनीहरुमा भने यो करिब ८० देखि ८५ प्रतिशतसम्म साझा समस्याको रुपमा देखिन्छ । शिशुमा देखिने यसै जन्डिसको समस्यालाई ठूलो मानेर अस्पतालमा उपचारको लागि शिशु लिएर आउने अभिभावकको संख्या पनि नगन्य रहेको छ ।

सामान्यतयाः प्रसुतीपछि डिस्चार्ज गरेर गइसकेपछि केही अभिभावकहरु आफ्ना शिशुमा जण्डिस वा पहेलो देखियो भनेर आत्तिएर आउँछन् । यद्यपि, यो आत्तिहाल्नु पर्ने केस भने होइन । किनकी प्रसुतिपछि पहिलो हप्तामा शिशुमा देखिएको पहेलोपन शिशुको दिशा पिसाबबाटै शरीरबाट बाहिर निस्किन्छ । यद्यपि यसका लागि भने कसैलाई १० दिन लाग्छ भने कसैमा भने महिना दिनसम्म शरीरमा पहेलोपन देखिन सक्छ ।

तर, शिशुमा देखिने सबै जण्डिस एकै प्रकारका पनि हुँदैनन् । जसकारण पनि हामीले जन्डिसलाई बेवास्ता भने गर्नुहुँदैन । किनकी, कतिपय अवस्थामा शरीरमा बिलिरुबिनको मात्रा अत्याधिक रुपमा वृद्धि हुन पुग्दछ । जुन शिशुको मस्तिष्कसम्म पुगी शिशु कान नसुन्ने, आँखा नदेख्ने, मस्तिष्कको वृद्धि विकास उचित रुपमा नहुने र यसका साथै सोही कारण शिशुको मृत्युसमेत हुने सम्भावना पनि उत्तिकै रहन्छ । जसकारण पनि हामीले शिशुमा देखिएको जण्डिसलाई सामान्य हो भनेर बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन ।

शिशुमा मस्तिष्क सम्बन्धि समस्या देखिएमा यो निकै गम्भीर हुन भएकाले पनि हामीले तुरुन्तै शिशुलाई अस्पताल लैजानु पर्दछ । गम्भीर किसिमको जन्डिस भनेर कसरी थाहा पाउने त? भन्ने प्रश्न पनि आउन सक्छन् । अतः शिशुको त्यस्तो अवस्था हामीले निम्न लक्षणद्वारा पहिचान गर्न सकिन्छः

  • जन्मिएको २४ घन्टाको अवधिमै शिशुको हत्केला र पैताला अत्याधिक पहेलो देखिनु
  • शिशु काम्नु
  • दुध चुस्न नमान्नु
  • तीखो स्वरमा रुनु
  • र, शरीर अरठ्ठो बनाउनु ।

कुनै पनि अभिभावकले आफ्ना शिशुमा जन्डिसको समस्या छ वा छैन भनेर जाँच गर्न सकिन्छ । यसका लागि घरमै पनि शिशुमा जण्डिस छाला र आँखा सेतो भागको माध्यमबाट जाँच गर्न सकिन्छ । यस्तै, अर्काे तरिका भनेको अभिभावकले एक उज्यालो वा घामको प्रकाश पर्ने स्थानमा बिना कपडामा शिशुलाई राख्नुपर्छ ।

शरीरको केहि निश्चित भागमा थिचेर जन्डिस भए वा नभएको भनी एक औलाको भागले थिचेर जाँच गर्नुपर्छ । यदि थिचिएको शिशुको भाग पहेलो (कागती) रंगको देखिएमा शिशुमा मध्यम किसिमको जन्डिस छ भनेर बुझ्न सकिन्छ भने यदि थिचिएको सो भाग सुन्तला रंंगको देखिएमा सो शिशुमा जन्डिस उच्च मात्रामा छ भनी बुझेर त्यस्ता शिशुलाई तत्काल अस्पताल लैजानुपर्छ । अन्यथा यसले शिशुमा नकारात्मक असर पार्ने सम्भावना उच्च रहन्छ ।

जोखिम अवस्था

  • शिशु र आमाको रक्त समूह फरक–फरक भएमा
  • दम्पत्तिको यसअघिको शिशु (दोस्रो सन्तान भएको हकमा) जन्डिसकै कारण अस्पताल भर्ना भएको अवस्था भएमा
  • शिशु कम तौल र शिशुमा सेप्सिसको समस्या देखिएमा वा यस्ता शिशुमा बिलिरुबिनको मात्रा १५ भन्दा कम भएमा
  • आमामा थाइराइडको समस्या भएमा ।

समाधानका उपायहरु

अधिकांश अभिभावकहरु आफ्ना शिशुमा जन्डिस देखिएको खण्डमा आमाले के–के बार्नुपर्छ भनी सोध्न आउँछन् । तर, शिशुमा देखिने जन्डिसमा आमाले कुनै पनि खाना नबारीकन बिना संकोच आवश्यक पौष्टिक आहारको उचित सेवन गर्न सक्छिन् । यद्यपि, यसबाट देखिने जोखिमको असर शिशुमा नदेखियोस् भन्नका निम्न पक्षमा विशेष ध्यान दिनुपर्दछ ।

  • प्रत्येक अभिभावकले अस्पतालबाट डिस्चार्ज गर्नुअघि शिशुमा जन्डिसका समस्या छ वा छैन भन्नेबारे चिकित्सकसँग आवश्यक सोधपुछ गर्न सकिन्छ । चिकित्सकले पनि अनिवार्य रुपमा आवश्यक जाँचपछि मात्रै शिशु डिस्चार्ज गर्नुपर्छ ।
  • यस विषयमा प्रत्येक अभिभावकले जान्न आवश्यक भएकाले भएका जिज्ञासा एवं आवश्यक ज्ञान सम्बन्धि सम्बन्धित चिकित्सकसंग सोधपुछ गर्नुपर्छ । चिकित्सकले पनि प्रत्येक अभिभावकलाई यस सम्बन्धि उचित ज्ञान प्रदान गर्नुपर्छ ।
  • शिशुको परिवर्तित शरीरको रंगलाई बेवास्ता नगर्ने ।
  • विशेषगरी प्रि–टम वा शरीरमा अन्य समस्या देखिएका शिशुमा यसको जोखिम उच्च रहने भएकाले पनि त्यस्ता शिशुमा देखिने शारीरिक गतिविधि एवं परिवर्तनबारे विशेष ध्यान दिने ।
  • शिशुमा दुधको कमी हुन नदिई प्रशस्त मात्रामा स्तनपान गराउने ।
  • जण्डिस देखिएका शिशुलाई अन्य संक्रमण नदेखियोस् भन्नका लागि विशेष सुरक्षा एवं सर्तकता अपनाउने ।
  • अस्वभाविक रुपमा केहि शारीरिक लक्षण एवं परिवर्तन देखिएमा तुरुन्त अस्पताल लैजाने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ