×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्वार्ता / विचार‘आफैं संक्रमित त्यसमा पनि कोरोनाबाट मृत्यु भएका समाचार लेख्दा झनै पिडा हुँदो रहेछ’

‘आफैं संक्रमित त्यसमा पनि कोरोनाबाट मृत्यु भएका समाचार लेख्दा झनै पिडा हुँदो रहेछ’


विश्वभर आतंकका रुपमा कारोना संक्रमण देखा परेको छ । नेपालमा पनि त्यसको चाप दिनानुदिन बढ्दै छ । कोरोना भाइरसको संक्रमण हुँदा के के हुन्छ ? अहिले यो एक आम प्रश्न बनेको छ । कारोना भाइरस संक्रमितहरुमा फरक-फरक लक्षणहरु देखा परेका कारण पनि कोरोना संक्रमण झन रहस्यमय बन्दै गएको छ ।

संक्रमितसँगको भेटमा होस् वा भर्चुअल संवादमा होस् पहिलो प्रश्न नै ‘कस्तो हुँदो रहेछ ?’ भन्ने नै हुन्छ । मैले पनि त्यस्तै प्रश्नहरुको सामना गर्नुपर्यो । ‘कस्तो छ तपाईलाई ?’ सोधी सकेपछि प्राय सबैले के के हुँदो रहेछ ? भन्ने प्रश्न सोधि हाल्नुहुन्थ्यो । यसले पनि मानिसमा के हुन्छ ?, कस्तो हुन्छ ? भन्ने आम जिज्ञासा कति छ भन्ने बुझ्न सहजै सकिन्छ ।

काम नलागेको सावधानी

निकै सावधानी अपनाउँदा पनि म संक्रमित हुन पुगे । आफू पत्रकार भएकाले कतिपय स्थानहरुमा जानु पर्दा जोखिम हुन्थ्यो नै । अझ त्यस माथि पनि म स्वास्थ्य विटमा कलम चलाइरहेकोके उच्च जोखिममा थिए । जसकारण पनि म धेरै सावधान रहन्थे । घरमा सानो बाबु भएकाले पनि मलाई सावधान हुन प्रेरित गरिरहन्थ्यो । ‘सानो छोरालाई संक्रमण होला है’ आफन्तको सुझावले मलाई थप सजग हुने प्ररणा दिन्थ्यो ।

मुखमा दुईवटा मास्क लगाउने, कुरा गर्दा दूई कदम पछाडी हुने मेरो बानी जस्तै बनेको थियो । घर आउनासाथ लगाएका कपडा सबै वाहिर नै खोलेर धुने, सावुन पानीले हात धुने, सकेसम्म ‘अड’ स्थानमा हातले छुने जस्ता आधारभूत सावधानीहरु म ध्यानपूर्वक अवलम्वन गरे कै हुन्थेँ । यति गर्दा पनि आफै संक्रमित हुँदा मलाई नै अचम्म लागेको छ की म कसरी संक्रमित भए ?

सेनिटाइजर दल्ने र छिनछिनमा हात धुने पनि बानी जस्तै भएको थियो । नजिक भएर कुरा गर्न छाडेको त धरै भै सकेको थियो । कतिपयले मेरो सावधानीलाई डरको संज्ञा पनि दिने गर्दथे । तर म त्यसलाई स्वभाविक रुपमा लिने गर्दथेँ । ‘आफू बाहेक सबै संक्रमित हुन सक्छन्’ भन्ने मानसिकता बनाउनुपर्छ भन्ने थियो । त्यही अनुरुप नै जीवनशैली विकास भएको थियो ।

कुन दिन के के भयो ?

पहिलो दिन (असोज २३ गते) विहान सवेरै उठेको थिए । मेडमले पढाउने विद्यालयले माथिल्लो कक्षाका विद्यार्थीका लागि जनस्वास्थ्यका सावधान सहित परीक्षा संचालन गरेको थियो । जसकारण उनी विहान एक घण्टाका लागि स्कुल जाने गर्थिन । सधै विहान अवेरसम्म सुत्ने बाबु त्यो दिन भने चाडो नै उठेर सताउन थालेको थियो । जब मेरो शरीर भारी हुन थाल्यो मलाई आजका गतिविधिहरुका कारण होला भन्ने लाग्यो ।

विहानै देखि नै शरीरमा जाँगर थिएन । दिनभर काममा नै बेस्त रहेँ पनि शरीर सिथिल नै थियो । जब शरीर कटकटी दुख्न थाल्यो, जिउ रन्कीन थाल्यो तव मेरो स्वरमा परिवर्तन आइहाल्यो । राती झन्डै १ सय २ डिग्री ज्वरो आयो । मनमा चिसो पस्यो कतै संक्रमित त भइन ? रुघाखोकी होला भन्ने परिवारको आकलन थियो । मैले पनि नाक बग्ला भोलिसम्म सिजनल ज्वरो होला भन्ने मनस्थिति बनाए । आइसोलेट भइहालेँ । झोलिलो पदार्थ पिए । रातभर म सुत्न सकिन । ज्वरो हनहनी आइरह्यो । नाकमुख सुख्खा हुने भयो । पसिना खलखलि । विहानसम्म दुईपटक कपडा बदलेँ । जाडो यस्तो की पुस माघमा भन्दा पनि बढी । यसै गरी विहान भयो । विहान ज्वरो नाप्दा पनि ज्वरो कम थिएन । म एक चक्की पारासिटामोल लिएँ । त्यस पछि ज्वारोमा कमी आयो । ज्वरोका कारण मेरो शरीर यसरी कमजोर भए छ की ट्वाइलेटको धारा समेत कता हो कता बजे जस्तो लाग्ने ।

दोस्रो दिन (असोज २४ गते) विहान पारासिटामोल लिए पछि ज्वरो नाप्दा कम देखायो तर मेरो आन्तरिक रुपमा ज्वरो निको हुने कुरै भएन । कमजोरी यस्तो थियो की, एकै रातमा म गली सकेको थिएँ । मनमा कता कता कोरोना हो की भन्ने चाही लागि नै रह्यो तर परिवार मान्न तयार थिएन । दास्रो दिन मेरो ज्वरो कम भए पनि शारीरिक रुपमा निकै कमजोर थिए ।

तेस्रो दिन असोज २५ गते घाँटी खसखस हुने र सुख्खा खोकी लाग्ने हुन थाल्यो । अब चाँही म पूर्णरुपमा कोरोना हो भन्ने निष्कर्षमा पुगेँ । पिसिआर गर्नुपर्ने प्रकृया अघि बढाए । तर त्यो दिन पिसिआरका लागि स्वाव लिने दिन रहेनछ । तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहाकार विपी गौतम र तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले त्यसको व्यवस्थापन गर्नुभयो ।

चौथो दिन असोज २६ गते स्वाव दिन विहानै शंकरनगर स्वास्थ्य चौकीमा गए । लामो लाइन थियो । स्वाव दिनु पनि नयाँ अनुभव थियो । नाकबाट स्टिक राख्दा निकै कठिन हुँदो रहेछ । स्वाव दिने क्रममा नाकबाट स्वाव निकाल्नका लागि प्रयोग गर्ने स्टिकले भनभनी रिंगटा लाग्यो । ढलौँला की जस्तो बनायो । झन्डै १५ मिनेटको आराम पछि घर फर्कीए । रिपोर्टको प्रतिक्षा गर्न थालेँ । मलाई घाँटी खसखस हुने क्रममा केही कमि आएको थियो ।

पाचौँ दिन (असोज २७ गते) पेट गडवड हुने समस्या देखियो । निरन्तर पखला लाग्ने हुन थाल्यो । ज्वरोले गलेको शरीर त्यसमाथि पखला लाग्दा समस्या थप हुँदै गयो । ज्वरो र खोकी कम भएकाले पखलालाई म सहजै जित्न सफल भए । त्यसपछिका दिनहरु विस्तारै सहज हुन थाले । ज्वरो आउन छाड्यो, मुख तितो हुन पछि छाडेको थियो । घाँटी खसखस र पखला पनि बन्द हुँदै गयो । त्यसपछि लाग्न थाल्यो अब त केही हुँदैन होला ।

छौठौँ दिन (असोज २८ गते) दिनभर रिपोर्टको प्रतिक्षा भयो । शरीरमा कमजोरी बाहेक अन्य खास केही समस्या थिएन । साँझपख विपी गौतमले फोन गरेर भन्नु भयो ‘तपाईको रिपोर्ट त पोजेटिभ छ त कहाँबाट पोजेटिभ हुनुभयो ?’

निको भए पछि सुरु भएको विरामी

शारीरिक रुपमा कोरोना जिते पछि बल्ल विरामी सुरु भएको जस्तो लाग्न थाल्यो । मानसिक रुपमा डर, त्रास र समाजिक भेदभावपूर्ण दृष्टीकोण एकैपटक मानसपोटलमा नाचिरहे । शारीरिक रुपमा म लभभग लक्षणविहिन भएको थिए । कोरोना संक्रमणका कारण देखा पर्ने लक्षणहरु हराइसकेका थिए । तर बल्ल कोरोना पोजेटिभ भएको औपाचारिक रिपोर्ट आएको थियो । जसकारण पनि म विरामी जस्तो भएँ ।

अब बल्ल मबाट सबै टाढा-टाढा बस्न थाले । परबाटै हेर्ने, भाडाँ आफै माज्ने, कपडा आफै धुने, खाना पनि छुट्टै राखिदिने जस्ता कार्यहरु हुन थालेँ । यद्यपी, यी कार्यहरु पहिला देखि नै भएका थिए । आशंकाका भरमा गरिएका गतिविधि र पोजेटिभ देखिए पछिका गतिविधिमा धेरै फरक हुँदो रहेछ ।

परिवारिक सहयोग

जब म संक्रमित भएको प्रमाणित भयो । परिवारका सबै सदस्यहरुलाई खबर गर्नुपथ्यो नै । अर्घाखाँचीमा रहनुभएका आमाबुवा र दाजुले फोन गरिरहनु हुन्थ्यो । संयोगबस रिपार्ट आएको केही छिनमा दाजुको फोन आयो । अवस्था के छ ? उहाँको प्रश्नमा मलाई पोजेटिभ देखिएको उत्तर दिए । घरमा पनि खैलाबैला मच्चि हाल्यो । घरमा सानो छोरा भएकाले उसलाई पनि संक्रमण होला की भन्ने डरले बाबुबाट छुटै बस्ने सल्लाह आउन थाले ।

बेलबासमा बस्नु हुने दाजु भाउजुलाई पनि खबर गरेँ । दाईले आयुर्वेदमा राम्रो दखल राख्ने हुँदा अर्को दिन प्याकेज मै आयुर्वेदका डब्बासहित मलाई आवश्यक सम्पूर्ण पोषणयुक्त खाने कुरा बोकेर आउनु भयो । भाउजुले पनि घरमा चाहिने समाग्रीहरुको कुनै कमि हुन दिनुभएन । चिन्ता गर्नु पर्दैन जिति हालिन्छ दाईको शब्द सम्झिरहेको हुन्छु । परिवारिक सहयोग पूर्ण रुपमा प्राप्त भयो ।

मृत्यु शैय्याबाट मृत्युको खबर

शरीरमा लक्षणहरु हराउँदै गएपछि समाचार लेखनमा जोड दिन थालेँ । आफू पत्रकार भएकाले पनि रिपोर्टिङ गर्नै पर्ने हुन्थ्यो । फोन, भाइवर, अनलाइन पोर्टल, सामाजिक संजालजस्ता स्रोतका आधारमा समाचार तयार गरी पढाउँथे ।

आफै संक्रमित भएर बसेका बेला संक्रमणका कारण हुने मृत्युका खबर लेख्दा निकै पिडा हुँदो रहेछ । बेला-बेलामा बेड अभावमा हुने मृत्युले झस्काइ रहन्थ्यो । ‘कतै आफू पनि त्यस्तै भइने त होइन’ भन्ने नकारात्मक सोच पनि बेला बखत नआउने कुरै भएन ।

निष्कर्ष : कारोना संक्रमणका बारेमा बजारमा दुई अतिवादी चिन्तन हावी छन् । एक कोरोना केही पनि होइन, माफियाहरुले फैलाएको अफवा हो । दास्रो कोरोना संक्रमण भए मृत्यु नै हुन्छ । यी दवै गलत छन् । यो संक्रमण आफैमा घातक त छ तर निको नै नहुने खाले भने होइन । सकारात्मक सोच राख्ने, खानपानमा विचार पुर्याउने, परिवार र समाजले सकारात्मक दृष्टीकोण राख्ने, नियमित योगाभ्यास गर्ने हो भने सहजै जित्न सकिन्छ । त्यसको उदाहरण म आफै छु । कारोनालाई हल्का रुपमा नलिउँ सचेत बनौ र आतंकित भने नबनौँ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस