२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोयाममा छालाको हेरचाह कसरी गर्ने ?

जाडोयाममा छालाको हेरचाह कसरी गर्ने ?


मानव शरीर र वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको छ । जसकारण वातावरणमा आएको फेरबदलको प्रभाव हाम्रो स्वास्थ्यमा सजिलै देखिन्छ । अझै जाडोयाममा छालासम्बन्धि विभिन्न समस्याहरु देखिन्छन् ।

शरीरको बाहिरी अंग छाला नै भएकाले वातावरणीय परिवर्तनको सबैभन्दा छिटो प्रभाव यसैमा देखिन्छ । तसर्थ, हामीले जाडोयाममा छालामा कुनैपनि समस्या नदेखियोस् भन्नाका लागि छालाको उचित स्याहार–सुसार गर्नुपर्छ ।

जाडोयाममा छालामा देखिने साझा समस्या

जाडोयाममा विशेषगरी सुख्खापनकै कारण छालामा विभिन्न समस्याहरु देखिन्छन् । गर्मीयाममा मोस्चराइजर हुने छाला पनि जाडोयाममा सुख्खा हुने गर्छ । कतिपय मानिसहरुको छाला प्राकृतिक एवम् वंशाणुगत रुपमै सुख्खा वा रुखो प्रकृतिका हुन्छन् । यस्ता प्रकृतिको छाला जाडोयाममा झन् बढि सुख्खा हुनुका साथै चिलाउने समेत हुन्छ । चिलाउने समस्याको मूख्य कारण भनेकै सुख्खापन हो ।

यसैगरि, अन्य समयमा पनि सुख्खापनकै कारण छालामा ‘एक्जिमा कन्डिसन’ हुन्छ । यसले छाला चिलाउने तथा सुन्निने समस्या देखिन्छ । वृद्धवृद्धाहरुमा छाला प्राकृतिक रुपमा नै सुख्खा हुने हुदा त्यस समूह उमेर समूहका व्यक्तिमा जाडोयाममा एक्जिमा कन्डिसन, एलर्जी र अन्य किसिमका छालासम्बन्धिका समस्याहरु देखिने सम्भावना अन्य समयको तुलनामा बढी हुन्छ । साथै, यस याममा छालाको सुख्खापनकै कारण अधिकांश व्यक्तिको हातखुट्टा, ओठ, गाला तथा कुर्कुचा फुट्ने समस्या हुन्छन् ।

समाधानका उपाय

क्रिमको प्रयोग
चिसोले छालामा सुख्खापन बढाउने भएकाले चिकित्सक एवम् सम्बन्धित विज्ञको सल्लाह सुझावमा सुख्खापन हटाउने उपयुक्त फ्रुट क्रिम, फेस क्रिम वा बडी क्रिमको प्रयोग गर्न सकिन्छ । अधिकांशले यस समयमा लोशनको प्रयोग पनि गर्ने गर्छन् । तर, तुलनात्मक रुपमा लोशनमा पानीको मात्रा बढी हुने भएकाले यो पातलो हुन्छ र, यसले उचित रुपमा छालालाई सुख्खापनबाट राहत दिन सक्दैन । त्यसैले पनि लोशनको प्रयोग गर्मीयाममा उपयुक्त रहेता पनि जाडोयाममा भने ओयल बेस क्रिमको प्रयोग नियमित गर्नुपर्छ ।

यस्तै, राती सुत्ने समयमा अधिकांशको खुट्टा धुने बानी हु्न्छ । हात खुट्टा धुँदा प्रयोग गरिने कतिपय साबुनले पनि छालालाई सुख्खा बनाउँछ । त्यसैले हात खुट्टा धोइसकेपछि क्रिमको प्रयोग गर्दा छाला सुख्खा हुने र फुट्ने समस्याबाट जोगिन सकिन्छ ।

तेलको प्रयोग

क्रिमसँगै शरीरको सुख्खापन हटाउने अर्काे विकल्पको रुपमा हामीले तेलको प्रयोग पनि गर्न सक्छौं । छालामा हुने सुख्खापनकै कारण जाडोयाममा छालासम्बन्धि विभिन्न समस्या देखापर्छ । तसर्थ हातखुट्टा धोएपछि वा साबुनको प्रयोग गरिसके पछि हामीले अनिवार्य रुपमा सम्भव भए ओयल क्रिम वा नभए तेलले छालामा मालिस गर्नुपर्छ ।

दुषित वातावरणबाट टाढा रहने

धुलो धुवाँमा हुने फोहोरले छालालाई कुरुप बनाउँछ । यसमा भएका धुलो एवम् फोहोरका कणहरु छालामा टाँसिदा यसले छालामा विभिन्न किसिमका समस्याहरु उत्पन्न गराउँछ । यसकारण पनि धुलो धुवाँबाट टाढै रहने प्रयास गर्नुपर्छ ।

सरसफाईमा ध्यान दिने

जाडोयाममा अधिकांश व्यक्तिहरु अल्छि बन्छन् । यस समयमा राम्ररी हातमुख नधुने र समयमै ननुहाउने हरुमा छाला सम्बन्धि समस्या देखापर्छन् । लामो समयसम्म ननुहाउने एवम् सरसफाई नगर्ने प्रवृत्तिले छालामा फोहोर जम्न गई यसले छालासम्बन्धि अर्काे समस्याहरु निम्त्याउँछ । त्यसैले हामीले यस समयमा सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

उचित आहारको सेवन

छालालाई हाम्रो स्वास्थ्यको ऐना मानिन्छ । अर्थात्, स्वास्थ्यमा कुनैपनि समस्या भए वा नभएको संकेत छालाले दिन्छ । शरीर स्वस्थ राख्दै छालालाई सुन्दर एवम् चम्किलो राख्नको निम्ति पनि व्यक्तिले उचित आहारको सेवन गर्नुपर्छ । र, यसका लागि यस समयमा व्यक्तिले भिटामिन सी युक्त आहारको प्रयोग गर्नुपर्छ ।

प्रस्तुतिः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ