२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआफ्नै कारणले बिग्रन्छ कलेजो

आफ्नै कारणले बिग्रन्छ कलेजो


कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजोको प्रमुख शत्रु भनेकै मद्यपान हो । तर, हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ । काठमाडौंका ८३ प्रतिशत घरमा आफैँ रक्सी बनाउने चलन छ ।

रक्सीले राम्रो गर्दैन भन्ने पनि थाहा छ, अनि उत्पादन पनि गर्दै छौँ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन । ठीक मात्रामा खाएको छ र कलेजोको रोग छैन भने त्यति असर गर्दैन । तर, हाम्रो समाजमा नशा लाग्नका लागि मद्यपान गरिन्छ । रक्सीले कलेजोलाई मात्र होइन, शरीरको सबै अंगलाई खराब गर्छ । यसले नशा, मस्तिष्क सबैलाई बिगार्छ । त्यसका साथै एक्सिडेन्डजस्ता घटना हुन्छ ।

अहिलेको पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने चलन बढेको छ । जसले गर्दा युवाहरू नशा लत बढेर इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् । त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राणघातक रोग सर्छ । हेपाटाइटिस बी, सीजस्ता कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनका माध्यमबाट सर्ने गरेको पाइन्छ । अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

एएलडी

नेपालको सबैभन्दा ठूलो कलेजोको समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँडरक्सी खाँदै गयो भने रंग फेरिँदै अन्ततः ९० प्रतिशतसम्म लिभर खराब हुन्छ । रक्सी खान छोडेमा नर्मल अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ । तर, केही समयका लागि रोकथाम गर्न सकिन्छ । रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्छौँ । यस्तो भएमा ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

कलेजो रोगका लक्षण

शरीर पहेँलो हुँदै जाने
आँखा पहेँलो हुँदै जाने
हातखुट्टा सुन्निने
माथिल्लो पेटमा समस्या हुने
पेट ढुस्स हुने
बान्ता हुने
अस्वाभाविक तौल घट्ने
कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हँुदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ

के गर्ने ?

मदिरापान छाड्ने
पोषणयुक्त खाना खाने
रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परीक्षण गर्ने
कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ