२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन सक्दैन्’

‘मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन सक्दैन्’


डा. निकेशराज श्रेष्ठ विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा उनी कहलिएका चिकित्सक हुन् । उनले नेपालको मुटुरोगसम्बन्धी उपचारमा योगदान दिन थालेको वर्षौ भइसकेको छ । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जीवन प्रदान गरिसकेका छन् । मुटु दिवसको सन्दर्भ पारेर नेपालको मुटु रोगको अवस्था, उपचार, मुटु रोगसम्बन्धी समस्या, राज्य र नागरिकले ध्यान दिनुपर्नेलगायतका विषयमा कार्डियोलोजिष्ट डा. श्रेष्ठसँग हेल्थआवाजका लागि प्रदेश १ का संयोजक अनिल श्रेष्ठले गरेको कुराकानीः

मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ?

मुटु शरीरको सबैभन्दा संवेदनशील अंग हो । आमाको पेटमा जब बच्चा १० हप्ताको हुन्छ, त्यसबेलादेखि मुटु चल्न थालेको हुन्छ । आमाको गर्भदेखि चलेको मुटु मृत्यु हुने बेलासम्म चल्ने गर्दछ । शरीरका ब्रेन, आँखा, पेटले ‘रेस्ट’ लिन्छ । तर, मुटु भन्ने चिज यस्तो हो, यसले कहिले पनि आराम लिँदैन । त्यही भए मुटुलाई हामीले बचाएर राख्नुपर्ने हुन्छ । मुटुको मुख्य रोग भनेको हृदयाघात हुनसक्छ । मुटु बेलुनजस्तो पनि फुल्ने गर्दछ । यस्तै मुटुको ढोकाको समस्या पनि हुने गरेको छ । मुटुमा प्वाल हुने, मुटुको जुन ठाउँदेखि रगतको नली निस्किनुपर्ने हो, त्यो ठाउँदेखि नहुँदा मुटुमा समस्या हुने गर्दछ । यो समस्या बच्चाहरूमा बढी देखिन्छ । उच्च रक्तचाप हुँदा पनि मुटुमा समस्या हुने गरेको छ ।

विश्वमा हृदयघातको कारण वार्षिक १९ लाख मानिसको मृत्यु हुने गरेको छ । जति उमेर बढ्दै गयो त्यही धेरै हृदयघात हुने सम्भवना बढेर जान्छ । यसर्थ हामीले धुम्रपान पूर्ण रुपमा रोक्नुपर्ने हुन्छ । मुटुको लागि धुम्रपान एकदमै हानिकारक हो । मधुमेहले पनि मुुटुलाई असर गर्दछ । त्यसका लागि शारिरीक अभ्यास एकदमै गर्नुपर्ने हुन्छ । हामीले जीवनशैली पनि परिवर्तन गरिनुपर्ने हुन्छ । यस्तै, उच्च रक्तचाप भएका मानिसलाई पनि हृदयाघात हुने सम्भवना बढी हुन्छ । यसलाई हामीले कन्ट्रोल गर्नैपर्छ । कोलेष्ट्रोल उच्च हुँदा मुटुलाई समस्या गर्दछ । यसमा बोसो रक्तनलीमा गएर जम्ने गर्दछ । त्यसले मानिसलाई हृदयाघात हुन्छ । मुटुलाई स्वस्थ राख्न शारीरिक अभ्यास एकदमै जरुरी छ ।

नेपालमा मुटुसम्बन्धी सबै प्रकारको उपचार सम्भव छ भन्न सक्ने अवस्था छ कि छैन ?
पहिलेभन्दा अहिले धेरै विकास भइसकेको छ । अहिले धेरै मुटु रोग विशेषज्ञ छन् । नेपालमा नहुने भनेको ‘हार्ट ट्रान्सप्लान्ट’ हो । त्यसबाहेक अहिले मुटुसम्बन्धी सम्पूर्ण उपचार स्वदेशमै सम्भव छ । मान्छेको मुटु नै फेर्ने प्रविधि नेपालमा छैन । अन्य सबै मुटुसम्बन्धी उपचारहरु नेपालमै हुँदै आइरहेका छन् । किनभने, एउटा कृत्रिम मुटुको कम्तीमा पनि ३० देखि ४० लाख पर्छ । अहिलेसम्म नेपालमा मुटुको प्रत्यारोपणबारे कानुनी प्रावधानहरु पनि स्पष्ट रुपमा आइसकेका छैनन् ।

मुुटुका कस्ता बिरामी बढी आउने गरेका छन् ?
अहिले सबै खालका मुटुका बिरामीहरु आउने गरेका छन् । खासगरी बढी आउने भनेको मुटुको रक्तनलीको समस्या भएर आउनेहरु छन् । हृदयघात भएका पनि आउने गरेका छन् । अहिले हृदयघात धेरै बढेको छ । कोभिड पछाडि हृदयघात दर बढेको छ । कोभिडले फोक्सोलाई मात्र असर गर्छ भन्ने छ, यो होइन् । कोभिडपछि रगत बाक्लो हुने भएका कारणले कतिपय युवा उमेर समूहका मानिस पनि हृदयघातका कारण ज्यान गुमाउन बाध्य भएका छन् । कतिपय बिरामी भएर पनि हस्पिटल आउन मान्दैनन् । जसले गर्दा मुटुका बिरामी बढ्दै गएका छन् । मुटुको समस्या भएर बच्चाहरु पनि आउने गरेका छन् । कतिपयको मुटुमा गएर पानी जमेको पनि समस्या देखा परेको छ । टिबीले गर्दा मुटुमा पानी जम्ने गर्दछ । यसरी बच्चाको मुटुमा प्वाल भएको पनि हामीले भेट्ने गरेका छौं । यसरी अहिले सबै प्रकारका मुटुको समस्या भएका बिरामी अस्पताल आउने गरेका छन् ।

मुटुमा समस्या देखिने कारणहरु के–के हुन् ?
मुटुमा समस्या देखिने धेरै कारण छन् । एउटा वंशाणुगत कारण मुख्य हो । वंशाणुगत भन्नाले कुनै पनि परिवारमा मुटु रोग लागेको थियो, त्यो परिवारबाट जन्मिने बच्चाहरुमा मुटुमा प्वाल पर्ने, मुटुको नसाहरु उल्टो बस्ने, कडाभन्दा कडा खालका मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ ।

गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो, कडा औषधि सेवन गर्नुप¥यो, गर्भावस्थामा सन्तुलित भोजनको कमी, धुम्रपान, मध्यपान गर्ने आमाहरुबाट जन्मने बच्चाहरुमा जन्मजात मुटुको समस्या देखिनसक्छ । ३५ वर्ष उमेरभन्दा माथिका महिलाहरुले बच्चा जन्माएको खण्डमा डाउन सिन्ड्रोम भएको बच्चा जन्मन सक्ने सम्भावना रहन्छ । मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो, जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनका लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्षभन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वस्थ रहन्छ ।

मुटु रोगको उपचारमा के—के चुनौतीहरु देख्नुहुन्छ ? तपाईं आफैले जिम्मेवारी सम्हाल्नुभएको क्षेत्रमा कस्ता समस्या भोग्नुभएको छ ?

मुटु उपचारको क्षेत्रमा चुनौतीहरु नभएका होइनन्, छन् । तर, सरकारले मुटु रोगको उपचारमा धेरै सुविधा पनि दिएको छ । मुटु रोगले गर्दा मुटुको भल्व बिग्रिएर उपचार गराउँदा त्यो निःशुल्क छ । सँगै त्यो समूहभित्र नपर्ने विपन्न नागरिकलाई सरकारले १ लाख रुपैयाँ अनुदान पनि प्रदान गरेको छ ।

जब म विदेशबाट टे«निङ गरेर नेपाल आएँ, त्यसबेलामा मुटुको लागि आवश्यक पर्ने ‘क्याथल्याब’ सन् २०११ मा सुरू गरेका हौं । त्यसबेला म विपी प्रतिष्ठानमा थिएँ । त्यसबेलाको चुनौती म बिर्सन सक्दिन । त्यसबेला हामीले बिरामीको लागि एकदमै ठूलो चुनौती लिएर काम गरेका थियौं । चार वर्ष विपीमा काम गरेँ । त्यसपछि म विराटनगरस्थित न्यूरो हस्पिटलमा आए । यहाँ आएपछि क्याथल्याब न्यूरोमा संचालन गरे । अहिले पनि काम गर्ने क्रममा चुनौतीहरु छन् ।

सेवा प्रदान गरिरहँदा एकदमै दु.ख र खुसीका क्षणहरु पनि होलान् नि ?

मुटुरोग निकै जटिल रोग हो । उपचार गर्दा ९५ प्रतिशत सफल हुन्छ । ५ प्रतिशत सफल नहुन सक्छ । उपचारको क्रममा दुःखद् घटना हुँदै हुन्न भन्ने होइन् । हामीले पनि धेरै प्रयास गरेको हुँदा यस्तो घटना हुँदा हामीलाई पनि दुःख लाग्छ ।
उपचारको क्रममा खुशीका कुराहरु पनि धेरै छन् । काम गर्ने क्रममा खुसीको क्षण धेरै छ । हामीले उपचार गर्ने क्रममा धरैलाई नयाँ जीवन दिएका छौं । त्यो क्षण खुसीको सीमा हुँदैन ।

मुटु स्वास्थ्यबारे सर्वसाधारणको चेतना कस्तो पाउनुहुन्छ ?
मुटु रोगको सवालमा नागरिकको पनि चेतना बढेको देखिन्छ । अहिले हामीले मुटु सम्बन्धी सचेतनामुलक अभियान सुरु गरेको २१ वर्ष पूरा भइसक्यो । धेरै नागरिकलाई मुटु कता हुन्छ भन्ने नै थाहा हुँदैन । पेटमा देखाएर मुटु दुख्यो भन्नुहुन्छ । मुटु त छातीको देब्रेतिर हुन्छ । नागरिकलाई यो कुरा जानकारी गराउनुपर्छ । अहिले रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम धेरै हुँदा पनि मुटु रोग सम्बन्धी चेतना त फैलिएको छ । तर, राज्यको स्तरबाट गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । जनचेतना फैलाउने, शिविर सञ्चालन गर्ने कुरा हामी जस्ता व्यक्ति र संघ, संस्थाले पनि गर्न सकौला । तर, एउटा मुटु सेन्टर नै सञ्चालन गर्ने र त्यसलाई पूरा प्रविधियुक्त बनाएर सबै नागरिकको पहुँचमा पु¥याउने काम त राज्यले गर्नुप¥यो । यो कुरा अझै पनि टड्कारो रुपमा खड्केको विषय हो ।

मुटु दिवसमा आम नागरिकका लागि तपाईंको सुझाव के हुन्छ ?
समग्रमा हाम्रो समाजको संरचना कस्तो भयो भने हामी शारीरिक व्यायामप्रति एकदम कन्जुस छौं । व्यायाम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ, त्यो समयमा गर्न सकिन्छ । जिम गर्ने, व्यायाम गर्ने, खेल्नेजस्ता सबैलाई फरक—फरक समयमा गर्न सकिन्छ । दैनिक गर्न सक्नुहुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ । यसो गर्नुभयो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ । अर्काे ३५ वर्षभन्दा माथि उमेरका नागरिकले वर्षमा एकपटक मुटुरोग विशेषज्ञलाई देखाउनुप¥यो । इसिजी मात्रै गर्नुभयो भने कोलेष्ट्रोल र सुगरको मात्रा ब्लडमा हेर्नुभयो भने पनि ठूलो रोग लाग्ने बारेमा समयमा थाहा हुन्छ । त्यसैले नियमित व्यायाम, चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक छ । त्यो भनेको मासुजन्य, तारेको, भुटेको, कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #डा. निकेशराज श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ