२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलस्वास्थ्यकी युवा सह-सचिव डा. वन्दना, जो अंकोप्याथालोजीमा योगदान गर्न चाहन्छिन्

स्वास्थ्यकी युवा सह-सचिव डा. वन्दना, जो अंकोप्याथालोजीमा योगदान गर्न चाहन्छिन्


अंकोप्याथालोजिष्ट डा. वन्दना जोशी स्वास्थ्यकी युवा सह—सचिव हुन् । एक महिनाअघि मात्रै ११ औं तहमा बढुवा भएकी उनी सरकारी सेवामा प्रवेश गरेको १२ वर्ष भएको छ । पढाइ सकेलगतै मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेकी ३९ वर्षीया यी युवा चिकित्सकले गोरखा अस्पताल, वीर अस्पताल र परोपकार प्रसुती गृहमा काम गरिसकेकी छन् ।

त्यसमा पनि उनको अधिकांश समय भने मुलुककै जेठो वीर अस्पतालमा बितेको छ । सरल स्वभाव र जुझारु देखिने डा. बन्दनाले यो उमेरमै प्राप्त गरेको सफलता लोभलाग्दो छ । क्यान्सरजस्तो जटिल रोग परीक्षणसँग सम्बन्धि अंकोप्यालोजी रुचि भएकी यी युवा चिकित्सक भविष्यमा यही फिल्डमा योगदान गर्न चाहन्छिन् । सानैदेखि पढाइमा अब्बल उनी राम्रो शैक्षिक वातावरणमा हुर्केकी हुन् ।

डा. बन्दना ललितपुरको जावालखेलमा जन्मिएकी हुन् । उनका बुवा वीरेन्द्रराज जोशी र आमा कमला जोशीका चार सन्तानमध्ये उनी जेठी हुन् । बुवाआमा दुवै पढेलेखेका र सरकारी जागिरे थिए । पारिवारिक वातावरण नै शिक्षालाई प्राथमिकतामा राख्ने भएकाले डा. बन्दना र उनका सबै भाइबहिनीहरुमा सानैदेखि पढ्नुपर्छ भन्ने भावनाको विकास भयो ।

‘बाल्यकालदेखि नै पढाइप्रति बढी प्रभावित भएका कारणले सुरुदेखि नै डाक्टर बन्नुपर्छ भन्ने थियो,’ उनले सुनाइन् । फ्युचर स्टार हाइस्कुलबाट सन् १९९९ मा उनले फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि प्लस पढ्नका लागि उनी सेन्ट मेरिज गइन् । सेन्ट मेरिजबाट उनले सन् २००१ मा प्लस टु उत्तीर्ण गरिन् । सानैदेखि चिकित्सक बन्ने सपना पालेकी वन्दनाले एमबीबीएस इन्ट्रान्सको तयारी गरिन् । इन्ट्रान्स नाम निस्कियो ।

सन् २००२ उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजबाट डाक्टर बन्ने औपचारिक यात्राको थालनी गरिन् । धुलिखेलको उनी दोस्रो ब्याचको विद्यार्थी हुन् । पाँच वर्षमा त्यहाँबाट एमबीबीएस सकिन् । ‘म मेरो परिवारको एक्ली डाक्टर,’ उनले भनिन् । डा. बन्दनाले वीर अस्पतालमा एक वर्ष काम गरिन् । वि.सं. २०६६ माघमा उनी मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरिन् ।

सरकारी सेवामा प्रवेश गरेपछि उनले दुई वर्ष गोरखा हस्पिटलमा सेवा दिइन् । त्यसपछि सरकारी चिकित्सकको कोटाबाट छात्रवृत्तिमा एमडी गर्ने अवसर पाइन् । वि.सं. २०६९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा उनी प्याथालोजीमा एमडी गर्न थालिन् । न्याम्सबाट एमडी सकेपछि उनी पुनः जागिरमा फर्किइन् ।

डा. वन्दनाले डेढ वर्ष परोपकार प्रसुती गृहमा काम गरिन् । वि.सं. २०७४ सालदेखि उनी वीर अस्पतालमै कार्यरत छन् । एक महिनाअघि मात्रै उनी नेपाल सरकारको ११ औं तहमा बढुवा भएकी हुन् । यो बीचमा उनले टाटा मेमोरियल अस्पताल मुम्बईबाट अंकोप्याथालोजीमा ६ महिने फेलोसीप गरेकी छन् । ‘सन् २०१९ मा मैले यो फेलोसीप गरेकी हुँ,’ उनी भन्छिन् ।

वीरमा अहिले डा. वन्दना मुख्यगरी हिस्टोप्याथालोजी हेर्छिन् । ‘सरकारी अस्पताल भएकाले सबै कुरा हेर्नुपर्छ । तर, मुख्यगरी हिस्टोप्याथालोजी हो,’ उनी सुनाउँछिन्, ‘यसमा मासुको जाँच गरेर क्यान्सर छ कि छैन भनेर हेरिन्छ । एफएनएसी जाँच गरेर हेर्छौ ।’ त्यसबाहेक अन्य विभिन्न संक्रमणहरु, टिबीलगायतका कुराहरु भए—नभएको परीक्षण गर्ने काम पनि उनले गर्छिन् । हरेक वर्ष वीरमा सरदर वार्षिक ७ हजार जतिको परीक्षण हुने गर्छ । कोभिड—१९ कारण अहिले त्यो संख्या केही घटेको छ । ‘यो सबै क्यान्सरको मात्रै होइन्, अरु कुराहरु पनि हुन्छन्,’ उनी सुनाउँछिन्, ‘गल ब्लाडर, एपेन्डिक्सलगायतका परीक्षण पनि पर्छन् ।’

डा. वन्दनाले प्याथालोजी नै किन रोजिन त ? भन्छिन्, ‘मलाई पहिलेदेखि नै मन परेर नै प्याथालोजी पढेको हो । यसले धेरै रोगहरुका बारेमा आफूलाई बुझाउँछ ।’ क्यान्सरको उपचारमा टेवा पु¥याउन सकिने र क्यान्सरलाई समयमै पत्ता लगाएमा थुप्रै मानिसहरुलाई बचाउन सकिने भएकाले उनको रुचि अंकोप्याथालोजीमा गएको हो । भविष्यमा उनलाई अंकोप्याथालोजीसँग सम्बन्धित आईएचसी (इम्युनो हिस्ट्रो केमेष्ट्री) मा काम गर्न मन छ ।

सरकारी जागिरबाहेक थोरै बचेको समयमा उनी लाजिम्पाटस्थित प्रथम प्याथालोजी ल्याबमा पार्टटाइम बिरामीको परीक्षण गर्छिन् । प्रथममा आईएचसी (इम्युनो हिस्ट्रो केमेष्ट्री) आन्द्राको क्यान्सर, ब्रेस्ट क्यान्सर, ट्युमर मार्करस, पाठेघर क्यान्सर स्क्रीनिङ प्याप्समेयर र एचपीभी डिएन स्क्रीनिङ र फ्रोजन सेक्सनलगायतका परीक्षण हुने गर्छ ।

सामान्य जीवनशैली

डा. वन्दनाको जीवनशैली पनि सामान्य छ । खानपिनमा विशेष यही नै चाहिन्छ भन्ने छैन । उनलाई सबैभन्दा मनपर्ने खाना मःम हो । फिटनेसका लागि उनी योगा गर्छिन् । शनिबार र विदाका दिनमा मर्निङवाकमा निस्किन्छन् ।

सामाखुसी घर भएकाले नजिकै रानीवन शान्त वातावरणमा वाक जान्छिन् । उनलाई क्याजुअल पहिरन मन पर्छ । त्यसबाहेक कुर्ताहरु पनि उनी लगाउँछिन् ।

म्युजिक सुन्न र नयाँ ठाउँहरु घुम्न उनलाई रमाइलो लाग्छ । फुर्सदमा धेरैजसो समय उनी मेडिकल क्षेत्रमा भएका अपडेटहरुबारे जानकारी लिन्छिन् । त्यसबाहेक पुस्तक पढ्ने उनको बानी छ । अलि लामो छुट्टी भयो भने उनी घुम्नका लागि निस्कन्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अंकोप्याथालोजिष्ट, #डा. वन्दना जोशी, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ