२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसरकारी स्कुल पढेका डा. आलोक पिजीका इन्ट्रान्स टपर, जो विशेषज्ञ रेडियोलोजिष्ट बन्न चाहन्छन्

सरकारी स्कुल पढेका डा. आलोक पिजीका इन्ट्रान्स टपर, जो विशेषज्ञ रेडियोलोजिष्ट बन्न चाहन्छन्


काठमाडौं—चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)का विभिन्न कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । आइतबार चिकित्सा शिक्षा आयोगले विभिन्न १० वटा कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा एमडी/एमएस वीथ एक्सपिरिन्यस खुल्लातर्फ २८ वर्षीय युवा डा. आलोककुमार यादवले टप गरेका छन् ।

२ हजार ५ सय २ जना विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेका उनले दोस्रो प्रयासमा एमडी/एमएसको इन्ट्रान्स टप गरेका हुन् । डा. आलोकले पहिलो प्रयासमै आयोगको प्रवेश परीक्षा पास गरेका १६२ स्कोर ल्याएर छन् । बाराको सामान्य किसान परिवारमा जन्मिएका उनी सरकारी स्कुलका उत्पादन हुन् । उनले सरकारी छात्रवृत्तिमै मणिपाल मेडिकल कलेज पोखराबाट एमबीबीएस गरेका हुन् । एमबीबीएसमा पनि मधेशी कोटामा उनले टप गरेका थिए भने कक्षा १० मा पर्सा जिल्ला टप गरेका हुन् ।

सिम्रौनगढ नगरपालिका—१० देवापुर टेटा वि.सं. २०५० साल माघमा जन्मिएका हुन्, आलोक । उनका बुवा विनोद यादव र आमा निलमदेवी यादवका तीन सन्तानमध्ये उनी जेठा हुन् । उनको परिवार कृषिकर्ममा संलग्न सामान्य परिवार हो । त्यही कारण आलोकको शिक्षादीक्षा पनि सरकारी स्कुलबाटै अगाडि बढेको हो ।

कक्षा ५ सम्म उनले स्थानीय गाउँकै श्रीपोलानेरा प्रावि स्कुलमा पढे । कक्षा ६ उनले सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ स्कुलमा पास गरेका हुन् । त्यसपछिको शिक्षा भने उनको वीरगन्जस्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम स्कुलबाट भएको हो । उनले त्यही स्कुलबाट वि.सं. २०६५ सालमा एसएलसी पर्सा जिल्ला टप नै गरे ।

‘मेरो सबै स्कुलिङ सरकारी स्कुलमै भएको हो,’ सोमबार विहान हेल्थआवाजसँगको कुराकानीमा उनले भने, ‘दाइहरु सबै पढ्ने नै हुनुहुन्थ्यो । उहाँहरुको हौसलामा मेरो पढाइ सधैं राम्रो रह्यो ।’ उनलाई स्कुलमा गणित विषय सबैभन्दा बढी मन पथ्र्यो । त्यसबाहेक उनको खेलकूदमा रुचि छ । लाइभ क्रिकेट हेर्न रुचाउँछन् । एसएलसी सकेपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए ।

काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा इन्ट्रान्स पास गरेपछि उनी विज्ञान पढ्न थाले । ‘सानैदेखि डाक्टर बन्छु भन्ने सपना थियो,’ उनी सुनाउँछन्, ‘त्यसैले मैले बायोलोजी लिएर सेन्ट जेभियर्समा साइन्स पढ्न थाले ।’ वि.सं. २०६७ सालमा उनले प्लस टु उत्तीर्ण गरे ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि पढाइमा उनी अब्बल थिए । पढाइ अब्बल भएकै कारण उनले आफूलाई एकपछि अर्को प्रमाणित गर्दै गए । एमबीबीएसको इन्ट्रान्समा उनले मधेशी कोटामा टप परे । ‘त्यसपछि म सन् २०१२ मा एमबीबीएस पढ्नका लागि पोखरास्थित मणिपाल मेडिकल कलेज गए,’ उनले भने । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाएका उनले ६ वर्षमा त्यहाँबाट एमबीबीएस अध्ययन सके ।

एमबीबीएस पास गरेपछि सरकारसँगको करार सम्झौताअनुसार उनी पर्साको पोखरिया अस्पतालमा काम गर्न गए । त्यहाँ दुई वर्ष काम गरेपछि उनले पिजीका लागि इन्ट्रान्स दिए । पिजीको इन्ट्रान्स टप गरेर उनले सरकारी स्कुलमै पढेकाले पनि टप गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

सरकारी स्कुलमै पढेर पनि टप गर्ने फर्मुला के हो ? ‘सरकारी स्कुलमा पढाइ राम्रो नै हुन्छ । पढाइको वातावरण पनि प्रतिस्पर्धात्मक नै हुन्छ,’ हेल्थआवाजको जिज्ञासामा उनी भन्छन्, ‘मुख्य कुरा घरको वातावरणमा भर पर्छ । मेरो घरको वातावरण राम्रो थियो । दाइहरु सबैजना पढ्ने हुनुहुन्थ्यो, त्यही भएर मलाई सहज थियो ।’ त्यसभन्दा पनि मुख्य कुरा त आफूमै भर पर्ने उनको मत छ ।

हजारौं विद्यार्थीबाट पिजीको इन्ट्रान्स टप गरेपछि उनलाई कस्तो अनुभव भइरहेको छ ? भन्छन्, ‘खुसी लागिरहेको छ । टप गर्न सके ।’ पिजीका यी इन्ट्रान्स टपरले बाहिरका लागि सेल्फ तयारी गरेका थिए । तर, स्वदेशमै इन्ट्रान्स हुने भएपछि परीक्षा दिइहाले । ‘मैले बाहिर जानका लागि सेल्फ तयारी गरिरहेको थिए,’ उनी भन्छन्, ‘इन्ट्रान्स हुने भएपछि फारम भरेर परीक्षा दिए । पहिलो नम्बरमै नाम निस्किएछ ।’

उनको तयारी औसत दैनिक ५—६ घण्टा पढ्थे । ‘दैनिक औसतमा ५—६ घण्टा पढ्थे । तर, घरमै बसेर सेल्फ तयारी गरिरहेकाले घरमा कहिलेकाही अन्य कामहरु पनि गर्नुपथ्र्यो,’ उनले भने । नेपाल टप गरेका डा. आलोक विशेषज्ञ रेडियोलोजिष्ट बन्ने सोचमा छन् । किन ? भन्छन्, ‘रेडियोलोजी पढ्छु होला । पोखरियामा काम गर्दाखेरि मलाई भिडियो एक्स रे गर्न मन पथ्र्यो । त्यसमा मलाई बढी रुचि लाग्थ्यो । त्यही कारण मलाई रेडियोलोजी नै पढ्छु भन्ने छ ।’ कुशल विशेषज्ञ रेडियोलोजिष्टको यात्राका लागि डा. आलोकलाई शुभकामना ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एमडी/एमएस वीथ एक्सपिरिन्यस खुल्ला, #डा. आलोककुमार यादव, #पिजीका इन्ट्रान्स टपर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ