२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवा कार्डियोलोजिस्ट डा. सुमन, जो पोखरामा कार्डियाक सेन्टर स्थापना भएको हेर्न चाहन्छन्

युवा कार्डियोलोजिस्ट डा. सुमन, जो पोखरामा कार्डियाक सेन्टर स्थापना भएको हेर्न चाहन्छन्


कार्डियोलोजिष्ट डा. सुमन अधिकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा छात्रवृत्ति करारअन्तर्गत कार्यरत छन् । विद्यालय तहबाट नै पढाइमा अब्बल डा. सुमन पछिल्लो समय विशिष्टीकृत विज्ञता हासिल गरेका चिकित्सकका रुपमा ७ महिनादेखि उक्त अस्पतालमा स्वास्थ्य सेवा दिइरहेका छन् ।

विद्यालय तह पूरा गर्ने समयसम्म डाक्टर बन्छु भन्ने योजना नै नभएका उनी अध्ययन अघि बढाए र डिएम पूरा गरे । बुबा बलराम अधिकारी र आमा देवी अधिकारीका जेष्ठ सन्तान सुमनले बाल्यकाल सामान्य रुपमा बितेको थियो । कास्की लेखनाथका स्थायी निवासी उनका बुबा खानेपानीसम्बन्धी हार्डवेयरको व्यवसाय गर्थे, सुमनलाई आधारभूत आवश्यकता पूरा गर्न कुनै समस्या थिएन ।

वीरभद्र बोर्डिङ स्कुलबाट अध्ययन थालेका उनले पोखरा—३० को लक्ष्मी आदर्श माविबाट माध्यमिक तह पूरा गरे । सधैं प्रथम भएका अधिकारीले वि.सं. २०५८ को एसएलसीमा विद्यालयमै रेकर्ड कायम गर्ने नतिजा ल्याए । एसओस हर्मन माइनर स्कुलबाट कक्षा १२ पास गरे । प्लस टु मा बायोलोजी रोजेका उनले गणित समूहमा पनि परीक्षा दिए । दुवैतर्फ नतिजा उत्कृष्ट आयो ।

एमबीबीएस तयारीका लागि उनले पोखरा छाडे । एमबीबीएस तयारीका लागि काठमाडौं पुगेका उनले मेरिट लिस्टमा तेस्रो नम्बरमा नाम निकाले । अध्ययनका लागि भने उनले पोखराको मणिपाल शिक्षण अस्पताल रोजे । त्यतिबेला धेरैको रोजाइमा मणिपाल नै पथ्र्याे । एमबीबीएसपछि इन्टार्नसीप मणिपालमै गरेका उनले २ वर्ष गोरखा जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरे । जुन एमबीबीएस छात्रवृत्तिमा अध्ययन सकेपछि गर्नैपर्ने बोन्ड सर्विस थियो ।

एमडी अध्ययनको तयारीमा लागेका अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल इन्टरनल मेडिसिन र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)त्रिवि शिक्षण अस्पतालमा सर्जरीतर्फ नाम निकाल्न सफल भए । त्रिवि छाडेर अधिकारीले इन्टरनल मेडिसिन अध्ययनका लागि न्याम्स रोजे । त्यहीबाट उनले ३ वर्ष खर्चिएर इन्टरनल मेडिसिमा एमडी गरे । त्यसपछि उनले १ वर्ष प्राइभेट क्लिनिकमा सेवा दिए ।

डा. सुमन अध्ययनलाई अझै अघि बढाउन चाहन्थे । प्रयासस्वरुप छात्रवृत्तिमा डिएम कार्डियोलोजी अध्ययनका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा मेरिटको तेस्रो नम्बरमै नाम निकाले । संयोग नै मान्नुपर्छ उनले तेस्रो पटक पनि मेरिटको तेस्रो नम्बरमा नाम निकालेका हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. अरुण सायमी, प्रा.डा. चन्द्रमणि पौडेल, प्रा.डा. भगवान कोइराला, डा. अनिल भट्टराईलगायतको गाइडेन्समा ३ वर्षे कोर्स पूरा गरे । एमडी मेडिसिन र डिएम कार्डियोलोजीमा डिस्टिङ्सन ल्याएका उनले एमबीबीएस अध्ययन गर्दा एनाटोमी, फिजियोलोजी, कम्युनिटी मेडिसिन, सर्जरीलगायत विषयमा गोल्ड मेडल प्राप्त गरेका थिए ।

छात्रवृत्तिमा डिएम पूरा गरेपछि डा. अधिकारी अहिले सरकारी नियमानुसार २ वर्षे करारमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा आएका हुन् । काठमाडौंका अस्पतालमा स्पेसियालिली चेकजाँच गरेका बिरामीको फ्लोअप गर्नुपर्ने भएमा काठमाडौंकै डाक्टरको सिफारिसमा डा. अधिकारी फ्लोअप रिपोर्ट हेर्छन् । आवश्यक परे काठमाडौंका डाक्टरलाई ब्रिफिङसमेत गर्छन् ।

अध्ययनकै क्रममा भेटिएकी सहपाठी डा. सुनिता घिमिरेसँग उनले लगनगाँठो कसे । अध्ययनकै क्रममा अंकुराएको प्रेमलाई उनले परिवर्तन गरी जीवनरथ अघि बढाए । डा. सुनिता पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनकी छोरी छन् । दुवै जना एउटै फिल्डमा भएकाले समय व्यवस्थापन र आपसी समझदारीमा सहज छ उनीहरुलाई ।

कोभिड—१९ महामारीका निरन्तर बिरामी सेवामा सक्रिय रहे । ‘त्यो बेला लामो समय परिवारलाई भेटघाट गर्न नपाउँदा नियास्रो लाग्थ्यो,’ उनले सुनाए, ‘कहिलेकाही पारिवारिक भेटघाटमा जान पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।’ अहिले भने सेवा क्षेत्र र परिवारलाई समय दिन अप्ठ्यारो परेको छैन ।

विशेषज्ञ डा. अधिकारीको विद्यालय समयसम्म फुटबलमा ज्यादै रुचि थियो । उनले पहिलो रुचि पकडन सकेको भए, विदेशमा जस्तो छात्रवृत्तिलगायत सुविधा भएको भए, खेल क्षेत्रको विकास राम्रो भएको भए उनी अहिले फुटबलर हुन्थे । पढाइमा उत्कृष्ट विद्यार्थी डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने समाजकै सोचका कारण उनी डाक्टर बन्ने बाटोमा अघि बढे ।

डाक्टर बन्ने रेस पूरा गरेका डा. सुमनलाई नेपालको अहिलेको सापेक्षतामा एउटा मात्रै संस्थामा रहेर उत्कृष्ट जीवनयापन गर्न असम्भव लाग्छ । योग्यता हासिल गरे पनि सरकारी अस्पतालका स्थायी डाक्टर बन्ने वा निजी अस्पतालमा सेवा दिएर बस्ने भन्ने अन्योलमा छन्—डा. अधिकारी । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करिब आधा वर्ष बिताएका उनलाई यो कुराको डिसिजन गर्न करिब डेढ वर्ष अझै कुर्नुपर्नेछ ।

लोकसेवा आयोगबाट नाम निकालेर स्थायी भएर सरकारी अस्पताल उनको पहिलो रोजाइ हो । छात्रवृत्ति सेवाको करिब डेढ वर्ष उनी त्यसको प्रतीक्षामा छन् । अहिलेसम्म विदेश रोजाइमा परेको छैन । अहिले लोकसेवा आयोगले आवश्यक मात्रामा विज्ञापन नगरेको र विज्ञापन गरेकोमा पनि एउटा पनि खुला कोटा नभएपछि प्राइभेट अर्काे विकल्प हुन पुगेको छ ।

पहिले डाक्टरको कमी र बिरामीमा बुझाइसमेत कमी थियो भने रोगबारे सञ्चारमाध्यमबाट समेत अहिले बिरामीले पनि धेरै कुरा बुझेकाले चिकित्सक थप सजग हुनुपर्ने डा. सुमनको बुझाइ छ । ‘पोखरामा सुविधासम्पन्न कार्डियो सेन्टर स्थापना होस् र कार्डियोलोजिस्ट एकजुट भएर काम गर्न सकियोस् भन्ने चाहना छ,’ उनले भने । उनीसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत छन्—डिएम गरेका कार्डियोलोजिस्ट डा.विश्व बराल र थप २ डाक्टर । डा. सुमन प्रदेशमै कार्डियाक सेन्टर (मुटु अस्पताल) बनाउन सके हार्ट अट्याक समस्याबाट ज्यान जाने जोखिम कम गर्न सकिने उनको बताउँछन् । ‘टिम इफोर्ट नभएसम्म यो असम्भव छ,’ उनले भने । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एन्जियोग्राफी सेवा दिन डिएम गरेका चिकित्सकहरुको सक्रिय छन् । छिट्टै एन्जियोप्लाष्टी सेवा सुरु गर्न सकिनेमा उनी विश्वस्त छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कार्डियोलोजिष्ट, #डा. सुमन अधिकारी, #पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, #पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ