२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २उपचार अभावमा मृत्युु भएकाे सदा परिवारलाई प्रदेश २ सरकारद्वारा ५ लाख राहत

उपचार अभावमा मृत्युु भएकाे सदा परिवारलाई प्रदेश २ सरकारद्वारा ५ लाख राहत


जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएका १६ वर्षीय किशोर राजु सदाको घटना विषयमा छानविन गर्न प्रदेश २ सरकारले छानविन समिति गठन गरेको छ। प्रदेश २ सरकारले राजुको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिस्चन्द्र साहको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो।

समितिका सदस्यमा समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान रहेका छन्। समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न समाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजुको मृत्युको सन्दर्भमा उपचारमा संलग्न चिकित्सकहरुको टोलीले मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताललाई बिहीबार बुझाइसकेको छ। प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल्दीप पण्डितले राजुको मृत्यु सन्दर्भमा बुझाएको प्रतिवेदनमा उनलाई इन्सेफ्लाइटिस रोग भएको र सो रोगको उपचार नभएका कारण मृत्यु भएको उल्लेख छ। उपचारमा संलग्न चिकित्सकहरुको टोलीले बुझाएको प्रतिवेदन लगायत अन्य सान्दर्भिक तथ्य, तथ्यांक , सूचना र सोको स्रोत समेतलाई अध्ययन एवम विश्लेषण गरी पेश गर्न छानविन समितिलाई निर्देशन दिएको हो।

छानविनको क्रममा मृत्यु भएका राजुको उपचार व्यवस्थापन वा सेवा प्रवाहामा कहीँ कतैबाट कमी कमजोरी वा लापरवाही भएको पाइए कानुन बमोजिम कारबाही समेत गर्ने समाजिक विकास मन्त्रालयले जनाएको छ। धनुषको हंशपुर नगरपालिका ७ प्रसाहीका राजु सदाको क्वारेन्टिनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा उदासिन रहे। पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि समयमा रिपोर्ट आएन।

असार ८ गते आएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो। समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरेजन्सी कक्षमा मृत्यु भएको थियो। भारतको मदरासबाट झण्डै एक साता लगाएर साथीभाइसँग घर फर्केका राजुलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टाइनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। दुई दिनपछि आफूलाई सञ्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोशन कक्षमा भर्ना गरिएको थियो। अस्पतालको लापरवाहीका कारण राजुको मृत्यु भएको परिवारको दाबीलाई प्रादेशिक अस्पतालका चिकित्सक भने मान्न तयार छैनन् ।

आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह अस्पतालका डाक्टरहरूलाई बोलाएर देखाएको दाबी गरे । सिंहका अनुसार उनलाई इन्सेफ्लाइटिसको आशंका गरिएको छ । ‘रगत जाँच गर्दा सोडियम ११७ आएको थियो । सोडियम यस्तो अवस्था आउनु भनेको क्रिटिकल अवस्था हो’ डा. सिंह भन्छन्, ‘हामीले त्यतिबेला ३र४ जना डाक्टरलाई बोलाएर छलफल ग¥यौं । शनिबार रातिदेखि उपचार पनि शुरु गरेका थियौं ।’

इन्सेफ्लाइटिस भएको अवस्थामा बिरामी यसरी छट्पटाउने गरेको उनले सुनाए । ‘त्यस्तो अवस्थामा या त बाँधेर राख्नुपर्छ या त बेहोसीको औषधि दिनुपर्छ’ उनी भन्छन्, ‘तर उनलाई बेहोसीको औषधि दिने अवस्था थिएन । किनकि उनको रिपोर्ट आइसकेको थिएन । हाम्रो अस्पतालमा भेन्टिलेटर पनि भएन ।’ बेहोस बनाउने औषधि नदिएको र नबाँधिएका कारण उनी बेडबाट खसेको डा. सिंहको अनुमान छ। उनले अघि भने, ‘सुरुमा त हामीलाई दिमागी रोगीको शंका भयो । साइक्लोजिस्ट डा. रवीन्द्र झालाई पनि बोलाएर देखायौं । तर त्यस्तो देखिएन ।’

त्यसपछि फिजिसियन रामेश्वर महासेठ, सञ्जीव झा, अजय यादवलगायतलाई देखाएको र कोरोना परीक्षणको रिपोर्ट आउन ढिला भएका कारण आकस्मिक कक्षमा नलगिएको उनले बताए । सिंहले भने, ‘रिपोर्ट नआउँदासम्म कोरोना नै हो कि भन्ने थियो, तर रिपोर्ट नेगेटिभ आएपछि आकस्मिक कक्षमा लग्यौं ।’


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ