२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सुवासले भने, ‘उपचार नपाएर छटपटीमै बित्छ रातदिन’

सुवासले भने, ‘उपचार नपाएर छटपटीमै बित्छ रातदिन’


मोरङ –  शरीरका प्रायः सबै भागमा मासु पलाएको छ । घाँटीदेखि पछाडी डाढमा मासुको डल्ला भुण्डिएको छ । दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्ला छ । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ खोलीटारका ३५ वर्षीय  सुवास राई मासुका डल्ला देखाउँदै भन्छन्, ‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ । मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् म भगवानसँग यहि कामना गर्छु  । मैले त कष्टकर तरिकाले जीवनयापन गर्दै आएको वर्षौ भइसक्यो ।’

उनको घाँटीदेखि कम्मरसम्म शरिरको विभिन्न भागमा मासुको पोका (डल्ला) छन् । अनुहारमा साना दाना, घाँटीदेखि पछाडी डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पीढा हुने गरेको उनले बताए । सुत्न बस्न नमिलेर छटपटी–छटपटी रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी सुनाउँछन् ।

‘छटपटीमा रात बित्ने गरेको छ । उतानो परेर नसुतेको वर्षौै भइसक्यो,’ उनले ढाडमा झुण्डिएको मासुको ढल्ला देखाउँदै आफ्नो पिडा सुनाए, ‘खाटमा मज्जा सुत्न पनि मिल्दैन । कोल्टे परेर सुतेको वर्षौ भइसक्यों । यसरी सुत्दा निन्द्रा पनि लाग्दैन । छटपटीमा रातदिन बित्ने गरेको छ ।’

‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ’ उनले भने, ‘मलाई देखेर अरुले फर्कीफर्की कुरा नकाटुन्, बालबालिका नडराउन्, कसैले छिछी र दूरदूर नगरुन् भन्ने मलाई पनि लाग्छ । तर, वर्षाैंदेखि यो अथाह पीडाको सागरमा घरपरिवार तथा आफन्तको माया एवं स्नेहका कारण बाच्दैछु ।’

शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा मानेपछि पढ्दापढ्दै सात कक्षा पढेर उनले आफ्नो पढाइको यात्रा टुङ्ग्याउनु प¥यो । ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके’, उनले गुनासो गरे ।

सुवासको पीडा साटासाट गर्ने, दुःखेसो पोख्नु बाहेक अरु कुनै विकल्प छैनन् । ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान त छैनन’ उनी भन्छन्, ‘आमा वित्नुभयो। बुवा र भाइको साथसहयोगले बाँचिरहको छु ।’ एउटा सामान्य मानिस भएर बाच्ने रहर सुवासमा नहुने कुरै भएन । ‘भगवानले मलाई त्यो लायक नै बनाएनन्।’ धिक्कार्दै उनी भन्छन् ‘शरीरको कुनै पनि ठाउँ मासुको डल्लो नभएको छैन । ढाडमा झुण्डिएको ठूलो डल्लो त म अडेस लाग्दा, सुत्दा पेलिएर घाँउ भएको छ । कहिले काँही रगत समेत आउँछ, तर सहेरै बस्नुपर्ने बाध्यता छ । कहिलेकाँही त जीवन जीउँनु भन्दा मर्नु नै ठीक लाग्छ, तर फेरी भाइ बुवालाई सम्झेर पीडा विर्सनुको विकल्प छैन ।’

सुवासलाई घर वरपर तथा टोल छिमेकका प्रायः सबैले माया गर्छन् । स्थानीयवासीले माया, स्नेह तथा सहयोगले नै होला अहिलेसम्म उनी आफ्नो दुःख र पीडा विर्सेर घरपरिवारको साथमा बाँचेका छन् । ‘ज्यानभरी फोकै–फोका छ, सानो तिनो काम बाहेक अरु केही गर्न सक्दैनन्,’ उनले भने, ‘गहु्रगों वस्तु बोक्न–उठाउन पनि सक्दैन ।’

‘उपचार पाए ठिक हुन्थे’

राईको सुरुवातमा अनुहारमा मासुको डल्ला आएको थियो । बिस्तारै मासुको डल्ला शरिरभरी फैलिएको छ । उनका ३० वर्षीय भाइ केबल राईको पनि दाहिने हातमा मासुको डल्ला आउन सुरू गरेको छ । तर, भाइको सुवासको जस्तो भरिभरी मासुको थुप्रो झुण्डिएको छैन ।

बेलैमा उपचार गर्न सके शरीरमा मासुको डल्ला नफैलिने चिकित्सकहरुले बताउने गरेको उनीहरू सुनाउँछन् । आर्थिक अवस्था नाजुक रहेको राई परिवारमा उपचार गर्ने पैसाँ नहुदा दाजुभाइ शरिरभरी मासुको डल्ला लिएर कष्टकर तरिकाले जिवनयापन गर्न बाध्य छन् ।

ज्याला मजदुरी गरेर परिवार गुजरा चलाउँदै आएका उनीहरू खेती किसानी गर्दछन् । ‘बिहान बेलुका दुइ छाक खान मुस्किछ छ । उपचार गर्ने त परको कुरा भयो,’ सुवासले भने, ‘ठुलो ठाउँमा दक्ष चिकित्सकलाई देखाउन पाए ठिक हुने थिए कि ।’

दिनदिनै सुवासको शरीरभरी मासुको डल्ला फैलिन थालेपछि स्थानिय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न थालेका छन् । सुरुमा अनुहार र हातमा मात्र सुवासको मासुको डल्ला थियो । पछि शरीरभरी मासुको डल्ला फैलिएको देखेपछि सुवासको उपचारको लागि सहयोग संकलन गर्न सुरु गरिएको स्थानिय युवा शंकर बजगाइले बताए ।

‘सुवासको उपचार सम्भव रहने चिकित्सकहरुले बताएको कारणले हामीले सहयोग संकलन गर्न सुरु गरेको छौं,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथसहयोग गर्न आग्रह गर्दछु ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ