२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टखुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर 

खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर 


काठमाडौं—पश्चिम नेपालको सबैभन्दा पूरानो र ठूलो स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेजमा मेडिकल कलेज व्यवसायी खुमा अर्यालले भित्रिने भएका छन् । अर्यालले नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर किन्ने लगभग पक्का भएको छ । जसका लागि उनले एक अर्ब बढी रुपैयाँ खर्च गर्नेछन् ।

कलेजको प्रबन्ध निर्देशक डा. सुरेश कनोडियाले अर्यालसँग नेपालगन्ज मेडिकल कलेजको सेयर खरिद बिक्री सम्बन्धी समझदारी भएको पुष्टि गरे । ‘उहाँले नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत सेयर किन्ने सहमति भएको छ,’ डा. कनोडियाले हेल्थआवाजसँग भने, ‘किनबेचको प्रक्रियामा छ । उहाँले किनिसक्नुभएको चाहिँ होइन् ।’

किनबेचको सहमति भएपनि पास नभएसम्म केही भन्न नसकिने उनले बताए । ‘समझदारी भन्ने कि डिल टुंगिएको भन्ने,’ उनले भने, ‘उहाँले ४१ प्रतिशत लिने सहमति हो । पास नभएसम्म केही भन्न सकिदैंन् ।’ डा. कनोडियासहित नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापनसँगको सहमतिपछि अर्याल अहिले रकम जुटाउन लागेका छन् । अर्याल भैरहवास्थित युसिएमएस र पोखरास्थित गण्डकी मेडिकल कलेजका मालिक हुन् ।

सन् १९९७ बाट एमबीबीएस अध्यापन थालेको नेपालगन्ज मेडिकल कलेज सन् १९९६ मा स्थापना भएको हो । नेपालका सबैभन्दा पुराना मेडिकल कलेजमध्येमा नेपालगन्ज मेडिकल कलेज पर्छ । चिकित्सा क्षेत्रमा राम्रो नाम कमाएका प्रा.डा. कनोडियाको नेतृत्वमा स्थापना भएको सो मेडिकल कलेजमा अहिले १५ सय बढी चिकित्सक, नर्सलगायतका कर्मचारी कार्यरत छन् ।

मेडिकल कलेजको ७ सय बेड क्षमताको अस्पताल छ । नेपालगन्जमा १८ कठ्ठामा रहेको सिटी अस्पताल, कोहलपुरमा ९ विगाहामा रहेको सुविधासम्पन्न मेडिकल कलेज तथा अस्पताल र महेन्द्रनगरमा २१ विगाहा जग्गा सो कलेजको मुख्य सम्पत्तिका रुपमा रहेको छ । यसबाहेक मेडिकल शिक्षामा नेपालगन्ज मेडिकल कलेजको बेग्लै ब्राण्ड छ ।

२५ वर्षअघि २० जनाले ३१ करोड सुरुवाती लगानी गरेर अगाडि बढाएको नेपालगन्ज मेडिकल कलेजमा अहिले ७० जना लगानीकर्ता छन् । यसको सम्पत्ति झण्डै ३ अर्ब बढीको छ । सामान्य अवस्थामा पनि दैनिक औसत १२ सय बिरामीको उपचार हुने पश्चिम क्षेत्रकै ठूलो अस्पताल नेपालगन्ज मेडिकल कलेज हो । एमबीबीएस, एमडीरएमएस, नर्सिङ कार्यक्रम गरी झण्डै १ हजार बढी विद्यार्थीहरु नेपालगन्ज मेडिकल कलेजमा अध्ययनरत छन् ।

नेपालगन्ज मेडिकल कलेज व्यवस्थापनले नयाँ लगानीकर्ता भित्रिएपछि मेडिकल कलेजमा नेपालगन्जमा रहेको अस्पतालमा एमआरआई थप्ने, कोहलपुरमा प्याथ ल्याबसहित मुटु सम्बन्धि सम्पूर्ण उपचार हुने व्यवस्था गर्ने र अबको एक वर्षभित्रमा मिर्गौला प्रत्यारोपणका लागि पूर्वाधार तयार गर्न योजना बनाएको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ