२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टतीनकुनेमा ६ अर्ब लगानीमा बन्दैंछ ३०० शैय्याको ‘काठमाडौं इन्टरनेशनल हस्पिटल’

तीनकुनेमा ६ अर्ब लगानीमा बन्दैंछ ३०० शैय्याको ‘काठमाडौं इन्टरनेशनल हस्पिटल’

कस्तो बन्दैछ काठमाडौं इन्टरनेशनल हस्पिटल ?


काठमाडौं—काठमाडौंको तीनकुनेमा झण्डै ६ अर्ब लगानीमा ‘काठमाडौं इन्टरनेशल हस्पिटल’ बन्ने भएको छ । चितवन मेडिकल कलेजका संचालक प्रा.डा. हरिश न्यौपानेको समूहले बनाउन लागेको उक्त हस्पिटलको वातावरणीय मुल्यांकन प्रतिवेदन (ईआईए) तयार भइसकेको छ ।

३ चैतमा वन तथा वातावरण मन्त्रालयले हस्पिटलको ईआईए राय सुझावका लागि ७ दिने सूचना नै जारी गरिसकेको छ । ३०० शैय्याको सुपरस्पेसियालिटी काठमाडौं इन्टरनेशल हस्पिटलमा डा. न्यौपाने र उनको टिमले नेपालमा सुपरस्पेसियालिटी (डिएम) गरेका चिकित्सकहरुको समूहलाई एकै ठाउँमा उपचारका लागि ल्याएर परिचालन गर्ने योजनाका साथ खोल्न लागेको हो ।

‘भारत, सिंगापुर, थाइल्याण्डजस्ता देशहरुमा उपचारका लागि वर्षेनी हजारौं नेपालीहरु पुग्छन्,’ अस्पताल निकट स्रोतले भन्यो, ‘त्यहाँ जाने बिरामीहरुलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिने लक्ष्यका लागि अस्पताल खोल्न लागिएको हो । हामी अस्पतालमा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरुको समूहमार्फत सेवा दिनेछौं ।’

ईआईए प्रतिवेदनमा अस्पतालमा रेडियोलोजी, अल्ट्रासाउण्ड, इसिजी, प्याथालोली, सर्जरी, युरोलोजी, अंकलोजी, नाक, कान, घाँटी सम्बन्धी सेवा रहनुका साथै २४ सै घण्टा इमर्जेन्सी, आईसीयु, आईपीडी, एक्स रे, एम्बुलेन्स, फार्मेसी, भोजनालयलगायतका सुविधाहरु रहनेछन् ।

१२.४३ रोपनी क्षेत्रफलमा निर्माण हुने अस्पतालको अनुमानित लगानी ५ अर्ब ९३ करोड ४६ लाख हुनेछ । जसमध्ये २४६८ वर्गकिलोमिटर अर्थात ४० प्रतिशत क्षेत्रफलमा अस्पतालको भौतिक संरचना निर्माण हुनेछ । अस्पतालका लागि ७ तलाको अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण हुनेछ ।

चिकित्सा पर्यटन र विदेश गइरहेका नेपालीलाई नेपालमै उपचार गराउने योजनाका साथ यो अस्पताल खोल्न लागिएको प्रतिवेदनमा उल्लेख छ । संचालन अवधिमा ३५५ जना जनशक्तिले रोजगारी पाउने अपेक्षा गरिएको काठमाडौं इन्टरनेशल हस्पिटलमा चिकित्सकलगायतको २८१ प्राविधिक जनशक्तिले रोजगारी पाउनेछ । यस्तै, अप्राविधिक (प्रशासनिक) जनशक्ति ७४ जना रहेन अनुमान गरिएको छ ।

काठमाडौं इन्टरनेशल हस्पिटल आयोजनाको सम्भाव्यता प्रतिवेदन, २०७७ र स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसार प्रमुख कार्यकारी अधिकृत (सिईओ)सहित ७४ जना अप्राधिविक जनशक्ति र ३८ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १५७ जना नर्सिङ कर्मचारी, ११९ अन्य प्राविधिक कर्मचारी गरी ४८६ प्राविधिक कर्मचारी रहनेछ उल्लेख छ । दुवै गरी अस्पतालमा ५६० जना कर्मचारी रहने जनाइएको छ ।

१०० जना कामदार निर्माण कार्यमा संलग्न हुने अपेक्षा गरिएको अस्पतालको निर्माण कार्य १८ महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ । २६ पुस २०७७ मा काठमाडौं इन्टरनेशल हस्पिटल कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको थियो । अस्पतालले आफ्नो प्रबन्ध पत्रमा उपचार सेवाबाहेक एमबीबीएस, एमडी, एमएस, बिडिएस, स्टाफ नर्स, डेन्टललगायतका पारामेडिक्स कोर्स संचालन गर्ने उद्देश्य राखेको छ । चितवन मेडिकल कलेजका डा. न्यौपाने मुख्य संचालन हुने भनिएको उक्त अस्पतालको अन्य ११ जना संचालन छन् ।

काठमाडौं इन्टरनेशल हस्पिटलका लागि बैंक अफ काठमाडौं (हाल ग्लोबल आईएमई) बैंकको कन्सोर्टियम रहेर लक्ष्मी बैंक, सिटिजन बैंक र नेपाल एसबीआई बैंकले ऋण लगानी गरेका छन् । अस्पतालका लागि ७५ प्रतिशत ऋण र २५ प्रतिशत शेयरधनीहरुले लगानी रहेको छ । सुरुमा सन् २०२१ बाटै अस्पताल निर्माण गर्ने बताइएपनि अझैसम्म अस्पताल निर्माणका का मभने अगाडि बढ्न सकेको छैन ।

७ तले भवन कहाँ के हुनेछ ?

अस्पतालका लागि ७ तलाका अत्याधुनिक भवन निर्माण हुनेछ । जसमा दुई तला बेसमेन्ट हुनेछ । लोयर बेसमेन्टमा भूमिगत पानी टंयाकी, एलटी प्यानल, मेनफोल्ड रुम, जेनेरेटर कोठा, एसी प्यानल, १५० वटा चारपाङग्रे गाडी र २०० वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ हुनेछ । यसैगरी, अपर बेसमेन्टमा भने स्टोर र इक्वीपमेन्ट कोठा हुनेछन् ।

भुइँतलामा इमर्जेन्सी, इमर्जेन्सी शल्यक्रिया कक्ष, एनेस्थेसिया रुम, एक्स—रे, सिटी, एमआरआई, युएसजी, ओपीडी रुम, ट्रमा रुम, नन ट्रमा रुम, क्याथ ल्याब, कन्ट्रोल रुम, कामदार कोठा, औषधि पसल, कफी सप रहने प्रतिवेदनमा छ । यस्तै, पहिलो तलामा न्यूरो आईसीयु, एमआईसीयु, भिजिटर रुम र फ्याकल्टी रुम रहनेछ । दोस्रो तलामा शल्यक्रिया कक्ष, पोष्टअप, प्रिअप, एसआईसीयु, रिसेप्सन र वेटिङ रहनेछ भने तेस्रो तलामा युरो ओपीडी, जिआई ओपीडी, जनरल वार्ड, क्याबिन, एडमिसन, काउन्सिलिङ, फार्मेसी र कफी सप रहनेछ ।

चौथो तल्लामा जनरल वार्ड, क्याबिन, कार्डियो ओपीडी, इएनटी, डेन्टल, लाउन्ज, रिसेप्सन, एडमिसन काउन्सिलिङ, फार्मेसी र कफी सप, पाँचौ तलामा न्यूरो एण्ड अर्थो ओपीडी, सर्विस ब्लक, रिसेप्सन, जनरल वार्ड, क्याबिन, एडमिसन काउन्सिलिङ, फार्मेसी, कफी सप हुनेछ । छैटौं तल्लामा एमसीएच, गाइनो ओपीडी, पेडियाट्रिक वार्ड, रिसेप्सन, जनरल वार्ड, क्याबिन, एडमिसन काउन्सिलिङ, फार्मेसी र कफी सप हुनेछ भने सातौ तल्लामा सर्जरी र एलाइड वार्ड÷क्याबिन हुनेछ ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #काठमाडौं इन्टरनेशल हस्पिटल, #प्रा.डा. हरिश न्यौपाने


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ