२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसर्जन डा. रुपेशको ‘द नी हिलिङ क्लिनिक’ : जसमा हुनेछ आधुनिक र परम्परागत चिकित्सा फ्युजन

सर्जन डा. रुपेशको ‘द नी हिलिङ क्लिनिक’ : जसमा हुनेछ आधुनिक र परम्परागत चिकित्सा फ्युजन


डा. रुपेश वैद्य पेशाले अर्थोपेडिक सर्जन हुन् । शल्यक्रिया उनको विज्ञताको क्षेत्र हो । तर, यी सर्जन अहिले एउटा थेरापी सेन्टरमा भेटिन्छन् । थेरापी सेन्टरमार्फत उनी एलोपेथिक र प्राकृतिक चिकित्साको ‘फ्युजन’ गर्ने कोशिश गरिरहेका छन् । हाड जोर्नी र नसाको शल्यक्रिया गर्नुपूर्व प्राकृतिक चिकित्सा पद्धतिबाट निको पार्न सकिने अवस्थामा किन कोशिश नगर्ने भन्ने विचारले डो¥याएपछि उनी थेरापी सेन्टर सञ्चालन गर्न तम्सिएका हुन् ।

आज (शुक्रबार) । डा. रुपेशले प्याथोलोजिष्ट श्रीमती डा. करिष्मा मल्ल र युवा व्यवसायी मोनिका श्रेष्ठसँग मिलेर झण्डै ६० लाखभन्दा बढी लगानीमा एकान्तकुनामा खोलेको ‘द नी हिलिङ क्लिनिक’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । ‘द नी’को अर्थ नेवारी भाषामा उठ्नु भन्ने हुन्छ । ‘द नी हिलिङ क्लिनिक’को स्लोगन राखिएको छ—‘नेचर हिल वी असिस्ट’ अर्थात प्रकृतिले निको पार्छ, हामी सहयोग गर्छौं ।

प्राकृतिक र एलोपेथिक चिकित्साबीच अहिले जताततै प्रतिस्पर्धा देखिन्छ । तर, ४० वर्ष बढी एलोपेथिक चिकित्साको अभ्यासमा बिताएका डा. रुपेश भने यी दुवै चिकित्सा पद्धतिका राम्रा पक्षलाई संयोजन गर्न जुटेका छन् । यो कन्सेप्टमा काम गर्ने सोचाइ उनले झण्डै ५ वर्षअघि नै बनाएका हुन् । जतिबेला उनी घुँडाको एक वर्षे फेलोसीपका लागि सन् २०१८ मा दक्षिण कोरिया पुगेका थिए ।

फेलोसीप सकिनै लागेका बेला सन् २०१९ को स्प्रीङमा उनी नियमित मर्निङवाकमा निस्कन्थे । सिओलमा डा. रुपेश बसिरहेको ठाउँबाट आधा घण्टा दूरीमा बुकासान माउण्टेन पथ्र्यो । त्यसको फेदमा एउटा पार्क सुविधासम्पन्न पार्क थियो । उनी सधैंजसो विहानै त्यहाँ पुग्ने गर्थे । त्यहाँ बालबच्चा, वृद्धहरु सबै आउँथे, व्यायामका लागि आवश्यक पूर्वाधार त्यहाँ सरकारले नै तयार गरिदिएको थियो ।

एक विहान त्यही पार्कमा अवलोकन गरिरहेका बेला घुँडाको फेलोसीप सकेर नेपाल फर्केपछि केही त गर्नुपर्ला भन्ने सोच उनको दिमागमा बयेली खेल्न थाल्यो । घुँडामै केन्द्रीत भएर विशिष्ट किसिमको केही खोल्नुपर्ला भनेर उनी सोचमग्न भए । ‘यसो हेरे  घुँडा भनेर खोलेर मात्र मेरो भिजन पूरा नहोलाजस्तो अनुभव भयो,’ उनले भने, ‘कोरियाले थोरै समयमा गरेको प्रगति देखेर मलाई अरु कुरा पनि उठाउन पर्ला भन्ने लाग्यो ।’ त्यही उठाउनुपर्ने कुराले नेवार परिवारमा हुर्किएका उनको दिगमामा ‘द नी’ फु¥यो । ‘द नी’ नेवारीमा उठ्नु भन्ने बुझिन्छ । त्यसले उठाउने कुरालाई प्रतिनिधित्व ग¥यो ।

त्यहीबेला उनको दिमागमा क्लिक भइरहेको थियो । फेलोसीप सकेर नेपाल फर्किए । त्यहीबीच कोभिड—१९ महामारी सुरु भयो । त्यसले उनको योजनामा केही सुस्तता ल्यायो । ‘म अर्थोपेडिक सर्जन हुँ । त्यो बेला दुर्घटनाकाभन्दा अन्य रोगका बिरामीको चाप बढी थियो,’ उनले भने, ‘मैले यही कन्सेप्टमा थप योजनाहरु बनाए ।’

पूर्वीय दर्शनशास्त्रमा हुर्किएका डा. रुपेशलाई पूरानो कुरालाई नै उजागर गर्नुपर्छजस्तो लाग्न थाल्यो । त्यही कारण उनको रुचि प्राकृतिक चिकित्सातिर मोडियो । अकुंपन्चर सिक्न चीन गए । ‘३० वर्ष लामो अनुभव सबै एलोप्याथिकमा भयो,’ उनले प्रष्ट पारे, ‘यसको पनि फाइदाहरु थाहा छ । एलोपेथिक र नेचुरल उपचार सेवालाई मिक्स गर्दा कम साइड इफेक्टमा बिरामीलाई ठिक पार्नुप¥यो भन्ने लाग्यो ।’ एलोपेथिक चिकित्साका ३० वर्षमध्ये उनले २० वर्ष त सर्जरीमै काम गरेका छन् ।

राष्ट्रिय महिला भलिबल टिमकी स्टार स्पाइकर प्रतिभा मालीको खुट्टा शल्यक्रिया गरेपछि फिजियो थेरापीका लागि फिजियोथेरापिस्ट उज्ज्वल डोटेललाई भेटेका थिए । फिजियोथेरापिस्ट डोटेललाई आफ्नो यही आइडिया सुनाए । उज्जवलले कन्सेप्ट उत्कृष्ट रहेको प्रतिक्रिया दिए । त्यसपछि श्रीमती डा. करिष्मालाई पनि सुनाए । उनले केही दिनको सोचविचारपछि त्यो कन्सेप्टमा काम गर्न सहमति जनाइन् ।

डा. रुपेशले एक जना फाइनान्सियल एक्पर्टलाई पनि गत जनवरीमा यो प्रपोजल पठाए । उनले बाहिरै बसेर सपोर्ट गर्ने वचन दिए । यसको लागि टिम खोजे । जसमा जोडिन आइपुगिन्, मोनिका। त्यसको एक महिनापछि डा. रुपेश, डा. करिष्मा र मोनिका तीन जना नयाँ कन्सेप्टमा काम गर्न तयार भए । फेव्रअरीमा फिजियोथेरापिस्ट डोटेलले पनि विशेषज्ञतामा सहयोग गर्न तयार रहेको बताए । त्यसपछि एकान्तकुनामा १ हजार स्क्वायर फिटमा ‘द नी हिलिङ क्लिनिक’ सञ्चालनका लागि काम अगाडि बढाइयो ।

मोर्डन क्लिनिकका लागि आवश्यक पूर्वाधारहरु र उपकरणहरुको व्यवस्था गरियो । अहिले ‘द नी हिलिङ क्लिनिक’मा फिजियो थेरापी, तौल नियन्त्रण, अकुंपन्चर, मेडिकल मसाज, एक्युप्रेसर, गर्भवती हुँदा र शिशु जन्मिएपछि पछि आवश्यक पर्ने व्यायामको सेवा दिन थालेको छ । ‘६ वटा क्षेत्रमा छुटाएर सेवा दिन थालेका छौं,’ क्लिनिककी लगानीकर्ता समेत रहेकी मोनिका भन्छिन्, ‘स्पोर्टस मेडिसिनलाई बढी जोड दिइरहेका छौं ।’

क्लिनिकले जेरियाड्रिक केयर (उमेर गएकाहरुको फिजिओ) सेवा पनि उपलब्ध गराइरहेको उनले जानकारी दिइन् । एक पटकमा १५ जना बिरामीलाई सेवा दिन सक्ने क्षमता क्लिनिकको छ । नसा, हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामीलाई सबै विधाको सबै विशेषज्ञको जाँच र सेवा एकै प्याकेजमा दिने योजना ‘द नी हिलिङ क्लिनिक’ को छ । त्यसका लागि मल्टीस्पेसियालिटी क्लिनिक सोवासँग ‘द नी हिलिङ क्लिनिक’ले सहकार्य गरिरहेको छ ।

‘फरक विधा भएपनि एकता खोज्छौं । हामी टिम वर्कमा विश्वास गर्छौं,’ डा. रुपेशले थपे, ‘हामी बिजनेस गर्छौं । तर, पहिलो प्राथमिकता बिरामीलाई दिन्छौं । बिरामीलाई उत्कृष्ट उपचारको सेवा दिन्छौं ।’ दुवै चिकित्सा विधाको संयोजनबाट केही नवीन ज्ञान विकास गर्न सकिएमा समाजलाई पनि योगदान गर्न सकिन्छ भन्ने उनले सोचेका छन् । एलोपेथिक र प्राकृतिक चिकित्सा संयोजन र विकासबारे अनुसन्धान गरिरहेको पनि डा. रुपेशले बताए । ‘हाम्रो भावि योजना आफूले जानेको कुरा सिकाउनको लागि पढाउने सिकाउने छ,’ उनले भने ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अर्थोपेडिक सर्जन, #डा. करिष्मा मल्ल, #डा. रुपेश वैद्य, #द नी हिलिङ क्लिनिक, #मोनिका श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ