२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशभारतको दिल्लीमा कोभिड-१९ देखिएपछि धनगढीमा उच्च सतर्कता

भारतको दिल्लीमा कोभिड-१९ देखिएपछि धनगढीमा उच्च सतर्कता


धनगढी – कोरोना भाइरस (कोभिड १९) को संवेलनशीलताका लागि धनगढीमा सतर्कताका गतिविधीहरु सुरु भएका छन् । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण देखापरेको खबर बाहिर आएपछि नेपाल भारत सीमावर्ती सहर धनगढीमा उच्च सतर्कता अपनाइएको छ । धनगढीबाट दिल्लीको दूरी ४ सय ३९.७ किलोमिटरको दूरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ ।

उच्च सतर्कता अन्तरगत धनगढी उप–महानगरपालिकाको अगुवाईमा तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको समन्वयमा त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्क २४ घण्टा खुला रहने धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, ‘भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षण गर्ने, बिरामी भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्सको समेत ब्यबस्था गरिने छ ।’

त्यसैगरी धनगढी उच्च सम्वेदनशील क्षेत्र भएको भन्दै शुक्रबार बिहान धनगढी उप–महानगरपालिकामा बसेको नगर शिक्षा समिति, शिक्षक संघ, संगठन, प्याप्सन , एनप्याप्सन र अन्य सरोकारवालाहरुको बैठकल उप–महानगरपालिका अन्तरगत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठन-पाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभए सम्म मिति २०७६ फागुन २५ गते देखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले चैत ६ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गरिसक्ने भन्ने जानकारी आएको भएपनि हतारमा गर्नुभन्दा ढिलो गरी परीक्षा गर्ने सहमती भएको छलफलमा सहभागि शिक्षकहरुले बताएका छन् । यही विषयलाई लिएर धनगढी उप–महानगरपालिकाले जिल्लाका सरकारी तथा गैरसरकारी संस्था संग समन्वय बैठक सम्पन्न गएको छ । विपद परेमा कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएको उप–महानगरपालिकाले जनाएको छ ।

धनगढी विमानस्थलमा रहेको हेल्पडेस्कको अवस्था पनि सक्रिय अवस्थामा राखिएको छ । त्यसैगरी धनगढी उप–महानगरपालिका क्षेत्रमा कोरोना भाईरसका बारेमा जनचेता फैलाउन पर्चा पम्पलेट लगायत टोलटोलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ