२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाकाली अस्पतालमा समस्याका चाङ

महाकाली अस्पतालमा समस्याका चाङ


पदमराज भट्ट
कञ्चनपुर—कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली प्रदेश अस्पताल समस्या नै समस्याले थला परेको छ । प्रदेश अस्पतालको अवस्थाबारे सम्बन्धित निकाय बेखबर भएपछि अस्पतालको दुर्दशा दिनप्रति दिन बढ्दै गएको छ ।

विशेषज्ञ डाक्टरको अभाव रहेको अस्पतालको फार्मेसी र एक्सरे सेवासमेत अलपत्र परेका छन् । बजेटको अभाव तथा बिग्रेको मेसिन मर्मतमा सम्बन्धित निकायले ध्यान नदिँदा सेवाग्राहीले अञ्चल अस्पतालबाट पाउने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।

चुनावका बेला महाकाली प्रदेश अस्पताललाई मुख्य एजेण्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अहिले अस्पतालको अवस्थाबारे बेखबर बनेको स्थानीयको आरोप छ । महाकाली प्रदेश अस्पताल समस्या नै समस्याले जेलिएर थला परेको छ ।

२७ दरबन्दीमा तीन जना मात्रै डाक्टर
सरकारले अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन् । हाल अस्पतालमा तीन जना विशेषज्ञ डाक्टर मात्र छन् । यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ । जसमा १८ जना भने विशेषज्ञ डाक्टर पर्छन् । विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।

हाल अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र सर्जनबाहेक अन्य विशेषज्ञ डाक्टर नभएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए । दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।

महाकाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रतिवद्धता गरेर प्रतिनिधिसभाको चुनाव जितेका डा. दीपकप्रकाश भट्टले अस्पतालका लागि केही गर्न नसकेकोे आरोप लागि रहँदा उनी भने चुनावी प्रतिवद्धतामा कत्ति पनि विचलित नभएको जिकिर गर्छन् ।

उनले अस्पतालको गुणस्तर उकास्न आफूले सक्दो प्रयास गरिरहेको दाबी गरे । ‘मैले सक्दो पहल गरिरहेको छु । अब प्रदेश अस्पताल केन्द्र सरकारभन्दा पनि प्रदेश सरकारसँग जोडिएको छ । त्यसैले प्रदेश सरकारसँग समेत अस्पतालको समस्या समाधानका लागि छलफल गरिरहेको छु,’ उनले भने ।

एम्बुलेन्स नै छैन्

अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि प्रदेश अस्पताल एम्बुलेन्सबिहीन बनेको छ । भारतीय दुतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनु परेको छ ।

अस्पतालका एम्बुलेन्स दुई वर्ष अगाडि नै बिग्रिएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी अवस्थीले जानकारी दिए । उनले भने, ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाई भएन् ।’

प्रदेश अस्पतालमा एम्बुलेन्सजस्तो अत्यावश्यक साधन नहुँदा बिरामी मर्कामा परेका छन् । बिरामी रेफर गर्न वा अन्य ठाउँ लैजानु परेमा चर्को भाडा तिरेर बाहिरका एम्बुलेन्स लिनुपर्ने बाध्यता छ ।

करोडौँका उपकरण प्रयोग विहिन
कञ्चनपुरको महाकाली प्रदेश अस्पतालले आईसीयू सेवा सञ्चालन गर्ने चर्चा चलेको ५ वर्ष पूरा हुन लागेको छ । आर्थिक वर्ष २०७१/७२ मा आईसीयू सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गरेको अस्पतालले आईसीयू कक्ष तयार गर्दै उपकरण जडान गरेरे राखेको छ । तर, आईसीयु सेवा प्रयोग गर्न पाउने कुरा कञ्चनपुरवासीका लागि आकाशको फल आँखा तरी मरजस्तै भएको छ ।

अस्पतालले जनशक्ति अभावकै कारण आईसीयू सेवा सेञ्चालन गर्न नसकिएको अस्पतालका सूचना अधिकारी अवस्थीले बताए । उनले आईसीयू सञ्चालन नभएपछि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गरिदैं आएको जानकारी दिए ।

अस्पतालले २ वटा भेन्टिलेटर, एनेस्थेसिया मेसिन, इन्डोस्कोपी, सीआर्म मेसिन, एक्सरे, डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, पत्थरी र किड्नी चेक गर्नेलगायत थुपै मेसिन पनि स्टोरमा थन्क्याएको छ । जनशक्ति अभावकै कारण ती उपकरणहरु पनि प्रयोगमा ल्याउन नसकिएको बताइदैं आएको छ ।

सुदूरपश्चिम प्रदेशका अन्य अस्पतालका उपकरण पनि उस्तै
महाकाली प्रदेश र टीकापुर अस्पतालमा करोडौं मूल्यका उपकरण प्रयोगबिहीन भएका बेला स्थायी राजधानी घोषित अत्तरियाको मालाखेती अस्पतालमा पनि एक्सरे मेसिन सञ्चालनमा नआएको लामो समय भइसकेको छ । तर उक्त मेसिन सञ्चालन गर्न आवश्यक पर्ने समाग्री खरिद गर्न नसकिएका कारण थन्क्याउनुपरेको अस्पतालले बताउँदै आएको छ ।

अस्पतालहरुले जनशक्ति अभावका कारण भएका उपकरणहरु समेत प्रयोगमा ल्याउन नसकेपछि यसक्षेत्रका बासिन्दा सरकारी अस्पतालमै स्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् । सुदूर पहाडका बासिन्दा अस्पतालमा भौतिक पूर्वाधार र उपकरण अभावका कारण स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला कैलाली कञ्चनपुरका अस्पतालहरुले भने करोडौंका उपकरण खरिद गरेर थन्क्याएका हुन् ।

अन्य अस्पतालमा खरिद गरिएका उपकरणहरु समेत प्रयोगमा नआउँदा गम्भीर प्रकृतिका विरामीलाई सेती प्रदेश अस्पताल रेफर गर्ने गरिएको छ । सेती प्रदेश अस्पतालमा पनि सिमित जनशक्ति र पर्याप्त मात्रामा उपकरण नहुँदा उपचारमा समस्या हुँदै आएको छ भने केही मेसिनहरु त पूरानो भएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जानकारी दिए ।

कैलालीको टीकापुर अस्पतालमा पनि वर्षौ पहिले खरिद गरिएका उपकरणहरु प्रयोगमा आउन सकेका छैनन् । कोरियाली सहयोग नियोग (कोईका)को आर्थिक सहयोगमा खरिद गरिएका ४ करोड बढीका उपकरण प्रयोगविहीन भएका छन् । भेन्टिलेटरलगायतका उपकरण सञ्चालनमा ल्याएर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ अस्पताल प्रशासनदेखि अन्य निकायहरुले ध्यान नदिएको आरोप लाग्दैं आएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ