२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा सुरु हुँदै

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा सुरु हुँदै


धनगढी– सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ । अस्पतालमा न्युरो सर्जन उपस्थित भएकाले सो सेवा छिट्टै सुरु हुने अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले न्युरो सर्जरीका लागि छात्रवृत्तिमा एक जना चिकित्सक आएकाले छिट्टै सेवा सुरु हुने बताए । भेरी अञ्चल अस्पतालका न्युरो सर्जन डाक्टर हरि पौडेल सेती प्रादेशिक अस्पतालमा आएका हुन् ।
मेडिकल सुपरीटेन्डेन्ट डा. पाण्डेले भने, ‘न्युरो सर्जन आउनुभएको छ । सामान्य सेवा सुरु गरिएको छ । अन्य सेवाका लागि उपकरणहरू खरिद प्रक्रियामा रहेका छन् ।’

न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था नगरी सेवा सुरु गरेको प्रचार गर्दा आम मानिसले दुःख पाउने भएकाले अहिले सेवा सुरु गरिएकोबारे जानकारी नगराएको अस्पतालले जनाएको छ ।

अहिले मस्तिष्कको चोट, मस्तिष्कको ट्यूमर, सेरेब्रल रक्तस्राव लगायतका समस्या भएका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको पाण्डेले बताए ।

‘न्युरो सर्जरीका लागि आवश्यक औजार उपकरणसँगै अस्पतालले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्नेे तयारी गरिरहेको छ,’ उनले भने, ‘अहिले अस्पतालको आकस्मिक सेवाबाट २० जनालाई सेवा दिइसकेको छ भने टाउकाको दुईवटा सफल अप्रेशन पनि सफल भएको छ ।’

अस्पताल प्रशासनमा आवश्यक उपकरणहरू खरिदका लागि लिखित पठाइएको छ । सबै उपकरणहरू जडान भएमा न्युरो सर्जरीसम्बन्धी पूर्ण सेवा प्रदान गर्न सकिने अस्पतालले जनाएको छ ।

डाक्टर पौडेलले अपरेटिङ माइक्रोस्कोप उपकरण उपलब्ध भएमा मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसाहरूको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रिया सम्बन्धी सेवा पनि सञ्चालन गरिने बताए ।

अस्पतालमा न्युरो सर्जरी सेवासँगै नाक, कान, घाँटीको सर्जरी लगायतका विभिन्न सेवाहरू पनि थप गर्ने तयारी भइरहेको छ ।
‘अहिले हामी उपकरण र जनशक्ति व्यवस्थापनमा लागेका छौं,’ डा. पाण्डेले भने, ‘पूर्ण तयारी भएपछि थप गरिएका सेवाहरूबारे जानकारी गराउने छौं ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ