२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनयाँ भेरियन्ट ‘ओमिक्रोन’ रोक्न सिमामा स्वास्थ्य सर्तकता

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ रोक्न सिमामा स्वास्थ्य सर्तकता


धनगढी – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अफ्रिकी मुलुकसहित भारतसँगै नेपालमा पनि  देखा परेपछि भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सिमा–नाकाहरुमा स्वास्थ्य सर्तकता अपनाउन थालिएको छ । प्रदेशका गौरीफन्टा नाका तथा कंचनपुरस्थित गड्डाचौकी नाका, बैतडीको झुलाघाट तथा दार्चुलाको नाकामा स्वास्थ्य सर्तकता अपनाउन थालिएको हो ।

गौरीफन्टा नाकामा भारतबाट आउने नागरिकको एन्टीजेन परीक्षणसहित एचआईभि र मलेरिया परीक्षणपनि परीक्षण भइरहेको गौरीफन्टा हेल्थ डेस्कका संयोजक गणेश साउदले बताए । उनले भने, ‘भारतबाट आउने नागरिकलाई खोपको मात्रा पुरा नभए नाकामै खोप लगाइरहेका छौँ ।’

कंचनपुरको पश्चिमी सिमा नाका गड्डाचौकीमा पनि भारतबाट आउने व्यक्तिहरुको एन्टीजेन परीक्षण भइरहेको र पोजेटिभ आएका नमुना काठमाडौं पठाइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए । ‘जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ,’उनले भने ।

स्वास्थ्य सुरक्षाका दृष्टिकोणले तोकिएका सिमानाकाबाट मात्रै प्रवेशको अनुमति दिने र सोमबार मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सिामानाकाहरु व्यवस्थित गरिने निर्णय गरेको सामाजिक विकास मन्त्रालयलका प्रवक्ता नरेन्द्र सिहं कार्कीले बताए । महामारी नियन्त्रणको लागि आफ्नो क्षमताअनुसारको कार्य गरिरहेको पहिलेकोभन्दा अहिले बेडहरु क्षमता बढाएको, अक्सिजन र स्वास्थ्यकर्मीलाई  आईसियु, भेन्टिलेटरको तालिम दिइएको प्रवक्ता कार्कीले  जानकारी दिए  ।

स्वास्थ्य मन्त्रालयले कोभिडको अरु भेरियन्ट जस्तै ‘ओमिक्रोन’ बाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

ओमिक्रोन भेरियन्ट कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर, झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ । अहिलेसम्म नेपालसहित ३५ देशमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ