२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालमा बालिका मृत्यु प्रकरण : मेसुको एकोहोरो छानविन प्रतिवेदन

डडेल्धुरा अस्पतालमा बालिका मृत्यु प्रकरण : मेसुको एकोहोरो छानविन प्रतिवेदन


धनगढी – डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहिबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका युनिसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।

मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरवाहीले  मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टाभित्र छानविन गरि दोषीलाई कारवाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो।

त्यसको एक सातापछि मेसु भट्टले एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरेपछि मृतकका आफन्त र सरोकारवालाले आपत्ति जनाएका छन्। मेसु भट्टले सार्वजनिक गरेको छानविन प्रतिवेदन एकोहोरो र दोषी बचाउनका लागि हचुवाका भरमा सार्वजनिक गरिएको मृतकका बाबु प्रकाश थापाले गुनासो गरे ।

प्रतिवेदनमा उल्लेख गरिएको युनिसा  दुईदिन अघि बिरामी भएको र अस्पतालले युनिसाको प्राथमिक उपचार गर्दा गर्दै मृत्यु भएको विषयमा गम्भीर आपत्ती देखाए। दोषी लुकाउन अस्पतालले विभिन्न बाहाना गरिरहेको मृतक बालिकाका आफन्तको आरोप छ।

विशिष्ट विशषज्ञ सेवा सहित संघिय सरकार मातहत रहेको अस्पतालमा बाल रोग विशेषज्ञ डाक्टर समयमै उपस्थित नहुनु र रोग पत्ता नलगाइ अनावश्यक औषधी प्रयोग गरिएकोले युनिसा मृत्यु भएको आफन्तको गुनासो छ। अस्पतालले पीडित परिवारसहित सर्वदलिय, सर्वपक्षिय बैठकको आयोजना गरि घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो।

मेसु भट्टले एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरेको सर्वपक्षिय आरोपपछि घटनाको पुनःछानविन गर्न तीन सदस्यीय छानविन समिति बनाइएको छ। मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरि तीन सदस्यीय छानबिन समिति बनाइएको अस्पतालले जनाएको छ।

समितिलाई घटनाको सत्यतथ्य रुपमा छानविन गरि सीसी टिभी फुटेज समेत संलग्न गरी प्रतिवेदन ल्याउन भनिएको छ। सुदूरपश्चिम प्रदेशमा एकमात्र रिफरल अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा आवश्यक जनशक्ति नहुँदा गुणस्तरिय सेवा दिन सकिरहेको छैन । भने, यहाँका बासिन्दाले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ