२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकीय लापरवाहीबाट बिरामी मृत्यु भएको भनिएको घटना छानविनमाथि प्रश्न

चिकित्सकीय लापरवाहीबाट बिरामी मृत्यु भएको भनिएको घटना छानविनमाथि प्रश्न

छानविनमा रहेका चिकित्सकलाई नै अर्को घटनाको छानविन गर्ने जिम्मेवारी


धनगढी—४ चैतमा सेती प्रादेशिक अस्पतालमा कैलालीको चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापामगरको मृत्यु भयो । पाठेघरमा मासु पलाएको देखिएको कारण उनको शल्यक्रिया गरिएको थियो । सामान्य अवस्थामै गरिएको शल्यक्रिया पश्चात बिरामीको मृत्यु भएको थियो ।

शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. जगदीश विष्टसहितको टिम संलग्न थियो । बिरामीको मृत्युपश्चात जिल्ला प्रशासन कार्यालय कैलालीले ५ जनाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो समितिमा भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी, सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशी, डा. शिवराज जोशी, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र पीडित पक्षको तर्फबाट टेक शाह रहेका छन् । छानविन समितिले हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

२७ चैतमा कैलालीको गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भयो । गोदावरी—२ कडायत टोलकी गर्भवती लक्ष्मी २६ चैतमा अस्पताल भर्ना भएकी थिइन् । लक्ष्मीको शिशुसहित मृत्यु भएको थियो । सो पश्चात मृतकका आफन्तले सत्यतथ्य छानबिनको लागि माग गर्दै अस्पताल तथा राजमार्ग र गोदावरी नगरपालिका परिसरमै विरोध तथा जुलुस गरेका थिए । घटनामाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले छानबिन समिति गठन ग¥यो ।

उक्त छानविन समितिमा सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. जगदीश विष्ट, डा श्रृष्टि जोशी, पीडित पक्षको तर्फबाट विष्णु पाठक, जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत शिवराज जोशी र स्वास्थ्य निर्देशनालयकबाट ओमप्रकाश जोशी रहेका छन् । डा. विष्ट तिनै चिकित्सक हुन जसमाथि सेती प्रादेशिक अस्पताल भएको बिरामी मृत्युको घटनामा छानविन चलिरहेको छ । मालाखेती अस्पताल घटना गर्न बनेको छानविन समितिले अहिलेसम्म प्रतिवेदन बुझाइसकेको छैन ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको घटनाको छानविन प्रतिवेदन तयार भइसकेकाले अब बुझाउने प्रक्रियामा रहेको बताए । ‘गोदावरीको मालाखेती अस्पतालको घटनामा पोष्टमार्टम रिपोर्ट प्रहरी कहाँ ढिलो पुगेकाले अब उक्त रिपोर्ट प्राप्त भएपश्चात प्रतिवेदन तयार पारेर बुझाइने छ,’ जोशीले भने ।

तर, घटना भइसकेपछि अनुसन्धानको लागि छानविन समिति गठन गर्दा प्रदेश विज्ञ चिकित्सक नभएको कारणले डा. विष्टलाई नै राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘सरकारी दरबन्दीको अन्य चिकित्सक नहुँदा स्थायी चिकित्सकको रुपमा स्वास्थ्य मन्त्रालयकै समन्वयमा राखिएको हो,’ उनले भने, ‘मेरो क्षेत्रबाट हुने कुरा छानविन गराउने मात्रै हो । कारबाही गर्ने—नगर्ने मेडिकल काउन्सिलले हो । मलाई प्राप्त भएको रिपोर्ट स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई पठाउँछु ।’

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी एक केसमा छानविन भइरहेका चिकित्सकले अर्को छानविन समितिमा बस्न नमिल्ने बताउँछन् । ‘यो कन्फिलिट अफ इन्ट्रेष्ट पनि हुन्छ,’ डा. अधिकारीले भने, ‘एक केसमा छानविन भइरहेको चिकित्सकले अर्को त्यस्तै केसमा छानविन गर्न बनेको समितिमा बस्न मिल्दैन् । यो इथिकल प्रश्न पनि हो ।’

चिकित्सकीय लापरवाही भनिएका केसहरुमा जिल्ला प्रशासनले भन्दा पनि नेपाल मेडिकल काउन्सिलले छानविन गर्नुपर्ने व्यवस्था छ । तर, ती दुवै घटनामा मेडिकल काउन्सिलको ठाउँमा जिल्ला प्रशासन कार्यलयले नै टिम बनाएर छानविन गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ