२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजेटमा सुदूरपश्चिमको स्वास्थ्यः गेटा अब स्वास्थ्य विज्ञान प्रतिष्ठान

बजेटमा सुदूरपश्चिमको स्वास्थ्यः गेटा अब स्वास्थ्य विज्ञान प्रतिष्ठान

डडेल्धुरामा मेडिकल कलेज संचालनमा ल्याइने, लम्कीमा प्राथमिक ट्रमा केयर स्थापना गरिने


धनगढी—सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सुदूरपश्चिम प्रदेशमा दुई वटा मेडिकल कलेजले स्थान पाएका छन् । सोमबार सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसदको दुवै सदनको बैठकमा प्रस्तुत गरेका थिए ।

बजेटमा कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने र डडेल्धुरा अस्पतालमा मेडिकल कलेज संचालनमा ल्याउने बजेट विनियोजन गरेको उल्लेख छ ।

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो । तर, अर्थमन्त्री महतले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

यससँगै अब प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभई अब स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो । सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुने बाटो खुलेको हो । कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा वि.सं. ०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो। काँचीकामाकोठी पीठका जगतगुरु शंकराचार्यको संरक्षकत्व र लगानीमा वि.सं. ०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । तर, पछि त्यही ठाउँमा प्रस्तावित गेटा मेडिकल कलेज संचालनको कार्य अगाडि बढ्यो । तर, भौतिक पूर्वाधार बनिसक्दा पनि लामो समयसम्म पनि गेटा संचालनमा आउन सकेको छैन ।

सरकारले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउने व्यवस्था गरेसँगै अस्पताल संचालनका लागि पनि बजेट विनियोजन गरिएको छ । गेटामा यही वर्षबाट १ सय शैय्याको अस्पताल संचालनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।

त्यसैगरी, अर्थमन्त्री महतले डडेल्धुरामा मेडिकल कलेज संचालनका लागि आवश्यक बजेट छुट्याएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने निर्णय भएको थियो ।

१० माघ ०७८ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो । मेडिकल कलेज भने सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत हुनेछ ।

मन्त्रिपरिषदको उक्त निर्णयमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेल्धुरा अस्पताल नै आधार संकायका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने ।’

डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेको थियो । तर, मन्त्रिपरिषद्ले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेजका रुपमा विकास गर्ने निर्णय ग¥यो ।

बजेट वक्तव्यमा अर्थमन्त्री महतले कैलालीको लम्कीमा सरकारी अस्पतालको समन्वयमा प्राथमिक ट्रमा केयर स्थापना गरी संचालन ल्याइने कुरा उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ