२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमालाखेती अस्पतालको व्यवस्थापन फितलो, बिरामी आधा घटे

मालाखेती अस्पतालको व्यवस्थापन फितलो, बिरामी आधा घटे


कैलाली—कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडामा रहेको मालाखेती अस्पतालमा बिरामीहरुको संख्या घट्दै गइरहेको छ । स्थानीय सरकार अर्थात गोदावरी नगरपालिका मातहत रहेको यस क्षेत्रको ठूलो सरकारी अस्पतालको रुपमा रहेको मालाखेती अस्पतालको फितलो व्यवस्थापनका कारण उपचार गराउने आउने बिरामीहरुको संख्या घट्दै गइरहेको हो ।

अस्पतालमा सामान्य सेवा सुविधाबाहेक अन्य सेवा सुबिधा नहुँदा अघिल्ला वर्षहरुको तुलनामा बिरामीहरुको संख्यामा कमी आएको छ । सरकारी अस्पतालमा राम्रो र सस्तो उपचार पाइन्छ भन्ने आशामा टाढा—टाढा आएका बिरामीहरु सामान्य चेकजाँच बाहेकको अन्य सेवा सुविधा नपाउँदा निजी क्लिनिकमा गएर उपचार गराउन बाध्य रहेका छन् । गोदावरी नगरपालिका वडा नं.—१० खमौराका स्थानीय कमलसिंह साउँदले आफू बिरामी हुँदा एक्सरे गराउन अस्पतालमा पुगेपनि एक्सरे मेसिन बिग्रिएको भनी फर्काएको बताए ।

मालाखेती अस्पतालका एक जना कर्मचारीका अनुसार बिरामीले पाउनुपर्ने सेवा सुविधाका अस्पतालमा उपकरण नहुँदा उनीहरु यहाँ आउनुको सट्टा निजी क्लिनिकमा जाने गरेका छन् । पैसा र समय दुवैको खर्च गरेर अस्पतालमा पुगेपनि सामान्यबाहेक अन्य सेवा सुविधा नपाएपछि बिरामीहरु यहाँ आउनुको सट्टा निजी क्लिनिकमा जाने गरेको उनको भनाइ छ ।

अस्पताल परिसरमा अहिलेसम्म शुद्ध पिउने पानीको समेत व्यवस्था छैन । यो सँगै एक वर्ष पहिले बिग्रिएको एक्सरे मेसिन बन्न सकेको छैन भने इमर्जेन्सी सेवा, भिडियो एक्सरे, इसिजी सेवा, ल्याब टेस्टलगायका सेवा सुविधा पनि अस्पतालमा छैनन् । मालाखेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिर्जना अधिकारीले अस्पतालको व्यवस्थापनमा केहि कमी—कमजोरी रहेको आफूहरुले पनि महसुस गरिरहेको बताइन् ।

उनले अहिले सम्पूर्ण हक अधिकार स्थानीय सरकार मातहत रहेकाले आफूहरुले सोचेअनुसारको काम गर्न नसकेको बताइन् । उनले एक वर्षदेखि बन्द अवस्थामा रहेको एक्सरे सेवालगायतका सेवाहरु अब छिट्टै सुचारु गर्न तर्फ आफूहरु लागि रहेको बताइन् । बिग्रिएको एक्सरे मेसिन बनाउन कम्पनीमा पठाएको बताउँदै उनले मंसिरबाट यो सेवा सुचारु हुने बताइन् । यस्तै अन्य सेवा सुविधाका लागि नगरपालिकासँग नियमित छलफल र कुराकानी भैरहेकाले अब मंसिर महिनादेखि अन्य सेवा सुविधाले पनि गति लिने बताइन् ।

उनले निजी अस्पतालको तुलनामा केही सस्तो होला भनेर सरकारी अस्पतालमा पुगेपनि एक्सरे गराउन निजी अस्पतालमै जानु परेको गुनासो गरे । उनले स्थानीय सरकारमार्फत अस्पताल संचालनमा रहेपनि व्यवस्थापन कति पनि नभएको बताए । व्यवस्थापन फितलो हुँदा उपचारका लागि अस्पताल पुग्ने आफूजस्ता धेरै बिरामीहरुले सास्ती खेपिरहनु परेको उनले बताए । अस्पतालमा आउने बिरामीहरुको नाम दर्ता गर्ने काउन्टरका अनुसार पछिल्लो ६ महिनामा झण्डैं आधा बिरामीको संख्यामा कमी आएको छ । यसअघि दैनिक एक सय पचासदेखि २ सय जना बिरामीहरु आउने गरेकोमा अहिले भने मुस्किलले ७० देखि ८० जना पुग्ने गरेका छन् ।

गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले अहिले अस्पतालको सेवा सुविधाले बिस्तारै गति लिने बताए । बन्द अवस्थामा रहेको एक्सरे मेसिन अबको केह दिनमा बन्ने र थप नयाँ डिजिटल एक्सरे मेसिन खरिद गर्ने निर्णय भएको उनले बताए । अस्पतालमा औषधि अभाव नरहेको बताउदैं उनले ५ लाख बराबरको औषधि खरिद गरिसकेकाले केही दिनमा अस्पतालमा पुग्ने बताए । उनले अहिले अस्पतालको सेवा सुविधा कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बिषयमा मालाखेती अस्पतालका चिकित्सक र नगरपालिकाबीच छलफल भैरहेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ