२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश७३ प्रकारका औषधि निःशुल्क बाँडने नगरका प्रमुख भन्छन्, ‘स्वास्थ्य सबैको पहुँचमा पुर्‍याउने योजना ल्याएका छौं’

७३ प्रकारका औषधि निःशुल्क बाँडने नगरका प्रमुख भन्छन्, ‘स्वास्थ्य सबैको पहुँचमा पुर्‍याउने योजना ल्याएका छौं’


महेन्द्रनगर—कन्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले सबै नगरवासीलाई स्वास्थ्यको पहुँचमा सहजै पुग्ने खालका थुप्रै योजनाहरु नगरपालिकाको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेको बताएका छन् । सोमबार नगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्षको क्षयरोग तथा कुष्ठरोग सम्बन्धि सेवाप्रदायक स्वास्थ्य संस्थाहरुको प्रथम चौमासिक समीक्षामा उनले सो कुरा बताएका हुन ।

नगरमा भएका क्षयरोगी एवं कुष्ठरोगीहरुको संख्या घटाउन चौमासिक रुपमा नगरभित्रका सेवाप्रदायक स्वास्थ्य संस्थाहरुसँग समीक्षा गर्ने गरेको उनले बताए । ‘कंचनपुरमा भिमदत्त र पुर्नवास नगरपालिकापछि सबैभन्दा बढी क्षयरोगी तथा कुष्ठरोगीहरु कृष्णपुर नगरपालिका छन्,’ उनले भने, ‘कृष्णपुरमा जनसंख्याको चाप वृद्वि हुँदै गएकाले बिरामीको संख्यामा वृद्वि भएको हुनसक्छ ।’ कृष्णपुरमा आर्थिक वर्ष २०७४/०७५ मा ७५ जना क्षयरोग एवं कुष्ठरोगका बिरामी फेला परेका थिए भने आर्थिक वर्ष ०७५/०७६ मा ६५ जना फेला परेका थिए ।

तर, चालु आर्थिक वर्षको पहिलो चौमासिकमै क्षयरोग एवं कुष्ठरोगका बिरामीको संख्या २८ मा झरेको उनले बताए । ‘पहिलो चौमासिकका बिरामीहरुको हिसाबले चालु आर्थिक वर्षमा क्षयरोगी एवं कुष्ठरोगीको संख्यामा अन्य वर्षहरुभन्दा केही वृद्वि हुन सक्ने अनुमान गरेका छौं,’ नगरप्रमुख हमालले भने, ‘रोगीको संख्यालाई कसरी घटाउन सकिन्छ, रोग लाग्नुको मुल कारण के हो लगायतका विषयमा खोज अनुसन्धान गरी त्यसको समाधानमा लाग्नेछौं ।’

कृष्णपुर नगरपालिकामा २ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र, २ वटा सहरी स्वास्थ्य केन्द्र र २ वटा स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । ती सबै स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी र सम्पूर्ण सेवा सुविधा दिन सक्ने खालको स्वास्थ्य संस्थाको रुपमा अगाडि बढाएको नगरप्रमुख हमालले बताए । चालु आर्थिक वर्षको नीति तथा बजेटमा वडा नंं १ को निगाली सामुदायिक स्वास्थ्य इकाई केन्द्रको व्यवस्थापनको निमित्त ४ लाख, वडा नंं १ कै दोमिल्लाको सहरी स्वास्थ्य केन्द्रको सम्पूर्ण व्यवस्थापनको लागि पनि ४ लाख, वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा युरिनल शौचालयको लागि १० लाख, सोही स्वास्थ्य चौकीमा फोहोर व्यवस्थापनको लागि आवश्यक पर्ने इन्सीनेटरको लागि ५ लाख र सेवाग्राहीलाई बस्नको लागि चाहिने गोलघेरा निर्माण गर्न २ लाख ५० हजार बजेट विनियोजन गरेको उनले बताए ।

यस्तै, रैकवारविचवाको स्वास्थ्य चौकीको लागि मर्मत सम्भार र रंगरोगन वाफत ५ लाख ४० हजार छुट्याउनुका साथै बर्थिङ्ग सेन्टर निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा नंं ९ राजघाटको सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई घेरबार र पर्खाल निर्माण भनेर ८ लाख रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख हमालको भनाइ छ ।

यसका साथै प्रयोगशाला सञ्चालन गरेको स्वास्थ्य संस्थामा प्रयोगशाला जोखिम भत्ता भनेर ६० हजार छुट्याएको बताउँदै उनले नेपाल सरकारले ४५ प्रकारका औषधिहरु निःशुल्क गरेको भएपनि कृष्णपुर नगरपालीकाले ७३ प्रकारका औषधिहरु निःशुल्क गरेको स्पष्ट पारे । कृष्णपुर नगरपालिकाले स्वास्थ्यलाई महत्वमा राखेर चालु आर्थिक वर्षलाई मेरो वर्ष अभियानका रुपमा मनाउने भनेर नीति तथा बजेटमै समावेश गरेको उनको भनाइ छ ।

समीक्षामा कृष्णपुर नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत विष्णुदत्त भट्ट, स्वास्थ्य कार्यालय कञ्चनपुरका ल्याब टेक्निसियन अधिकृत नरेन्द्र रावल, सोही कार्यालयका परिवार नियोजन अधिकृत कपिलदेव जोशी, कृष्णपुर नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल बोहरा, स्वास्थ्य सह—संयोजक रतनसिंह विष्टलगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ