२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालको एक विघा बढी जग्गा अतिक्रमणमा

सेती प्रादेशिक अस्पतालको एक विघा बढी जग्गा अतिक्रमणमा


धनगढी—सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालको जग्गा सरकारी निकायलै अतिक्रमण गरेका छन् । अस्पतालको स्वामित्वमा रहेको एक विघा बढी जग्गा स्वास्थ्य कार्यालय, जिल्ला खेलकुल विकास समितिलगायतका निकायले अतिक्रमण गरी वर्षौदेखि भोगचलन गर्दै आएका छन् ।

सेती प्रादेशिक अस्पतालको स्वामित्वमा चार विघा पाँच कठ्ठा ६ धुर जग्गा रहेकोमा अहिले दुई विघा १९ कठ्ठा मात्रै छ । साविकको जिल्ला जनस्वास्थ्य कार्यालय, खेलकूद विकास समिति, साविकको क्षेत्रीय मेडिकल स्टोर, जिल्ला रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी निकायले अस्पतालको एक विघा ६ कठ्ठा बढी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएका हुन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले चार विघा ५ कठ्ठा ६ धुरको लालपूर्जा भएपनि अहिले दुई विघा १९ धुर मात्रै भोगचलनमा रहेको बताए । उनका अनुसार पञ्चायतकालदेखि नै अस्पतालको जग्गा ती निकायले भोगचलन गर्दै आएका छन् ।

अस्पतालको स्वामित्वमा रहेको जग्गा वर्षौदेखि अन्य निकायले अतिक्रमण गरी भोगचलन गर्दै आएपछि अहिले सेवा सुधारका लागि थप भौतिक संचरना विस्तार गर्न जग्गा अभाव भएको छ । यद्यपि, डा. हेमराज पाण्डे अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट भएर आइसकेपछि अतिक्रमित जग्गा फिर्ता गराउन पहल थालिएको छ ।

तर, मालपोत र नापी कार्यालय कैलालीले नै उक्त विवरण दिन अटेरी गरिरहेका छन् । अस्पतालको स्वामित्वमा रहेको जग्गा पञ्चायतदेखि नै विभिन्न निकायले अतिक्रमण गरी भोगचलन गरिररहेको बुझिएको अस्पतालले जनाएको छ भने जिल्ला खेलकुद विकास समिति कैलालीले त अस्पतालको जग्गा जबरजस्ती हडपेको छ ।

अस्पतालले गत वर्ष कात्तिक २७ मा सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै अन्य निकायले चर्चेको जग्गा प्राप्तीका लागि आवश्यक पहल गर्न अस्पताले माग गरेको छ । आई.सि.यु, एआईएसियु, डायलासिसलगायतका थप सेवा विस्तार गर्न भौतिक संचरना बनाउन जग्गाको अभाव रहेको छ ।

अस्पतालले सामाजिक विकास मन्त्रालयलाई लेखेको पत्रमा जग्गा अभावमा भौतिक पूर्वाधार निर्माण गर्न नसकिने भएकाले अन्य निकायले चर्चेको जग्गा अस्पतालको स्वामित्वमा ल्याई प्रदेशकै रिफरल अस्पताल सेन्टर तथा सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरुलाई समेत उपचारको व्यवस्था हुने गरी भौतिक संचरना निर्माण तथा जग्गाको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गरिएको छ ।

भविष्यमा विशेषज्ञ सेवा विस्तार गर्नका लागि आवश्यक पर्ने संरचनाका लागि अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने टडकारो आवश्यकता रहेको छ । अस्पतालले अहिले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत परिपत्र गर्दै अतिक्रमित जग्गा फिर्ता गर्न आवश्यक पहल गरिदिन माग गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले अतिक्रमित जग्गा प्राप्तीका लागि संघीय सरकारलाई लेखी पठाएको र कुनै जानकारी आएपछि मात्र उक्त विषयमा बोल्ने प्रतिक्रिया दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ