२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलाली–कञ्चनपुरमा हात्तीपाइले निवारण कार्यक्रम सुरु

कैलाली–कञ्चनपुरमा हात्तीपाइले निवारण कार्यक्रम सुरु


कैलाली—सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा शनिबारदेखि हात्ती पाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सुरु भएको छ । कार्यक्रमको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पतालमा औषधी सेवन गरी उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीले औषधीबारे गलत प्रचार भइरहेको बताएका छन् । ‘यो औषधीले कसैलाई असर गर्दैन । तर, वुद्धिजीवि वर्गहरुले औषधीबारे गलत प्रचार गरेको जस्तो लाग्छ,’ उनले भने । उनले सबैले औषधी सेवन गरे हात्तीपाइले, हाइड्रोसिलजस्ता विभिन्न रोगबाट बच्न सकिने बताएका छन् ।

स्थानीय तहका प्रमुखहरुले आ–आफनै क्षेत्रमा औषधी सेवन गरी शुभारम्भ गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र वडा—१६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले संयुक्त रुपमा हात्तीपाइलेको औषधी सेवन गरेका थिए । नगर प्रमुख वडले हप्ताभरी हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन हुने बताए । उनले उपमहानगरपालिकाका हरेक नागरिकलाई औषधी सेवन गर्न आग्रह समेत गरे ।

सन् २०१३ मा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सफल भएपनि आठौं चरणमा पुग्दा समेत कैलालीमा भने अपेक्षाकृत रूपमा सफल हुन नसकेको तथ्यांकले देखाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा हात्तीपाइले रोग विरूद्धको औषधी यहि वर्षमात्र खुवाइने छ । भने कैलालीमा भने अर्को वर्ष पनि खुवाउनुपर्ने देखिएको छ ।

कैलालीमा हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गर्ने आर्थिक वर्ष २०७५/७६ मा ६९ प्रतिशत मात्र रहेको थियो । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने प्रतिशत कमजोर भएका कारण कैलालीमा नौ चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने भएको छ । कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार कैलालीमा गत वर्ष ८ लाख २९ हजार १३ जनसंख्यामध्ये ६ लाख ३५ हजार तीन सय सात जनाले हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए ।

कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष जिल्लाको कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ । त्यस्तै, ५ लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए ।

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोग विरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशका १३ वटा जिल्लामा यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ