२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलाली अस्पतालमा महिलाको डिम्बासयबाट निकालियो ४ किलोको ट्युमर

कैलाली अस्पतालमा महिलाको डिम्बासयबाट निकालियो ४ किलोको ट्युमर


धनगढी–कैलाली अस्पतालमा एक अविवाहित महिलामा देखिएको डिम्बासयको जटिल ट्युमरको शल्यक्रियामा चिकित्सकहरुको टोली सफल भएको छ । शनिबार जनरल सर्जन डा. सुरेन्द्र बस्नेत, गाइनोकोलोजिष्ट डा. सजिप्ता पन्त र एनेस्थेसियोलोजिष्ट डा. रोजी जोशीको टिमले २० वर्षीया युवतीको डिम्बासयको ट्युमर (Mucinous Cystadenoma of Ovary) को सफल शल्यक्रिया गरेको हो ।

डिम्बासयमा ट्युमर देखिएपछि ती अविवाहिता युवती शुक्रबार अस्पताल भर्ना भएकी थिइन् । सुरुमा उनको अवस्था जटिल रहेपनि शल्यक्रियापछि भने युवती सामान्य अवस्थामा फर्किएकी छन् ।

उनको दायाँतर्फको डिम्बासयमा एक महिनादेखि ट्युमरको समस्या देखिएको डा. बस्नेतले बताए । ‘एक महिनादेखि उहाँमा म्युसिनस सिस्टाडिनोमा भन्ने एक प्रकारको दुर्लभ डिम्बासयको ट्युमर देखिएको थियो,’ डा. बस्नेतले हेल्थआवाजसँग भने, ‘ट्युमर झण्डै ४ किलोभन्दा बढी थियो । यस्तो ट्युमर पछि गएर क्यान्सर भै विरामीको मृत्यु समेत हुने सम्भावना बढी हुन्छ ।’

शल्यक्रिया गरेर निकालिएको ट्युमर

शल्यक्रियापछि दुई तीन घण्टामै ती युवती सामान्य अवस्थामा फर्किएको पनि उनले बताए । ‘हामीले झण्डै एक घण्टा लगाएर शल्यक्रिया गरेका थियौं । उहाँ दुई तीन घण्टामै सामान्य अवस्थामा फर्किनुभएको छ । पानी र खाना दिन सुरु भैसकेको छ ।’ ती विरामी दुई तीन दिनमै डिस्चार्ज गरिने पनि उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ