२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा आँखा अस्पतालले सुदूरपश्चिममा अन्धोपनको सर्वेक्षण गर्ने

गेटा आँखा अस्पतालले सुदूरपश्चिममा अन्धोपनको सर्वेक्षण गर्ने


कैलाली – कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदशमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमण लगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको हो ।

अस्पतालका व्यवस्थापक रमेश चन्द्र भट्टका अनुसार, प्रदेशका नांै वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिने छ । आँखा अस्पतालले अन्धापन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीनवटा टोली गठन गरी सर्वेक्षणको कार्य थालनी भइसकेको उनले जानकारी दिए ।

५० वर्ष उमेर माथिका जनसङ्ख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उनको भनाई छ । नेपालमा कुल अन्धोपन मध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको उनले बताए ।

सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिने छ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६ सय २० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।

गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँच देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा शून्य दशमलव आठ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मातिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ