२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमालाखेती अस्पतालमा पिउने पानीको अभाव

मालाखेती अस्पतालमा पिउने पानीको अभाव


धनगढी—गोदावरी नगरपालिकासँगै छिमेकी स्थानीय तहका नागरिकहरुको स्वास्थ्य सेवामा प्रत्यक्ष जोडिएको गोदावरी अस्पतालमा शुद्ध पिउने पानीको अभाव छ । स्थापना भएको तीन दशकभन्दा बढी भएपनि मालाखेती अस्पतालमा अहिलेसम्म शुद्ध पिउने पानीको सुविधा छैन ।

अहिलेसम्म पिउनका लागि शुद्ध पानीको व्यवस्था नहुँदा अस्पतालसम्म पुग्ने बिरामी र अस्पतालका कर्मचारीहरुलाई समस्यामा हुने गरेको छ । मालाखेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदम प्रकाश देव शर्माले अस्पतालमा खानेपानी नहुँदा साह्रै समस्या भैरहेको बताए । उनले अहिले पिउनका लागि अस्पताल नजिकै रहेको नवज्योति विद्यालयबाट पानी ल्याएर पिउनुपर्ने बाध्यता रहेको गुनासो गरे । मेसु शर्माले अस्पतालमा खानेपानीको धारा निर्माणका लागि काम भैरहेको सुनेपनि बाँकी काम के भइरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।

अहिले अस्पतालमा खानेपानीको सुविधा नहुँदा अस्पतालका स्वास्थ्यकर्मीहरु र कर्मचारीहरु दैनिक नजिकैको विद्यालयमा रहेको खानेपानीको धाराबाट ल्याएको पानी पिउँदै आएका छन् । सरसफाइको लागि भने अस्पतालमा भएको मोटरको पानी प्रयोग गर्दै आइरहेको कर्मचारीहरु बताउँछन् ।

पहिला अन्य समितिमार्फत संचालन भैरहेको अस्पताल अहिले भने गोदावरी नगरपालिका मातहत आएको छ । अस्पतालमा खानेपानी निर्माणका लागि नगरपालिका उदासीन हुँदा खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले खानेपानीको धारा निर्माणका लागि काम भैरहेको बताए । उनले अहिले अस्पताल परिसरमा खानेपानीका लागि थुप्रै ठेकेदारहरुले काम अगाडि बढाएपनि पानी नआउँदा छोडेर गएको बताए । उनले अहिले अस्पतालमा खानेपानीको ब्यवस्थाका लागि निरन्तर प्रयास भैरहेकाले अब चाडै पानीको व्यवस्था गरिने बताए ।

इमर्जेन्सी सेवा सुचारुपछि बिरामीहरु बढे

अहिले मालाखेती अस्पतालमा बिरामीहरुको संख्या बढ्दै जान थालेको छ । उक्त अस्पतालबाट अहिले दैनिक ७० देखी ८० जनाले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा अहिले गोदावरी नगरपालिकासँगै छिमेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका र चुरे गाउँपालिकाबाट पनि बिरामीहरु आउने गरेका छन् ।

अहिले अस्पतालले इमर्जेन्सी सेवा पनि सुचारु गरेको छ । गत मंसिर ८ गतेदेखि सुरु भएको इमर्जेन्सीमा अहिलेसम्म सयजनाभन्दा बढीले सेवा लिएका छन् । मालाखेती अस्पतालका सूचना अधिकारी एवं इमर्जेन्सी वार्डका इन्चार्ज एकेन्द्र बुढाकाअनुसार मंसिर महिनामा २५ जना, पुसमा ३५ जना र माघ महिनामा ३९ जनाले इमर्जेन्सीमा सेवा लिएका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ