२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा

लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा


पोखरा – लमजुङ जिल्लामा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयको तथ्यांकमा ५ हजार ३५२ पुरुष र २ हजार २४ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । कूल ६ हजार ५२८ जनाले अस्थायी साधन प्रयोग गरेको उल्लेख छ ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा परिवार नियोजनका साधन प्रयोग दर २६ प्रतिशत रहेको छ भने लगातार प्रयोगकर्ता संख्या १३ हजार ९०४ छ ।

सोही अवधिमा ३४४ जना २० मुनिका महिला सुत्केरी भएका छन् । स्वास्थ्य कार्यालय लमजुङले दिएको तथ्यांकअनुसार कुल २ हजार ३५७ गर्भवती थिए । २० वर्षमुनिका सुत्केरी हुने कूल संख्याको करिब १५ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयमा प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिवेदन अनुसार घरमै सुत्केरी हुनेको संख्या ६० रहेको छ भने स्वास्थ्यकर्मीको उपस्थितिमा ३ जनाले बच्चा जन्माएको स्वास्थ्य कार्यालय लमजुङका लेखनाथ उपाध्यायले स्वास्थ्य कार्यालयको तथ्यांक उद्धृत गर्दै भने ।

कोभिड संक्रमित महिलाले बच्चा जन्माएको भए पनि स्वास्थ्य कार्यालयमा त्यसको रेकर्ड नै छैन । जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले २ जना संक्रमितले बच्चा जन्माएको जानकारी दिए । उनका अनुसार संक्रमित आमाहरुको स्वास्थ्य अवस्था सामान्य थियो ।

कोभिड कहरबीच स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्यामा प्रभाव नपारेको भए पनि नियमित गर्भ परीक्षण गर्न आउनेको संख्यामा कमी आएको छ ।

जिल्ला अस्पताल लमजुङका अस्पताल प्रमुख श्रेष्ठले आव २०७६-७७ मा १ हजार १२३ जनाले अस्पतालमा बच्चा जन्माएकोमा आव ०७७-७८ मा १ हजार १७१ जनाले बच्चा जन्माएका थिए । जसमध्ये ०७७-७८मा अप्रेसन गरिएका १९३ केस थिए भने नर्मल ८८८ र जटिल ९० केस रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

आव ०७६-७७ मा १६८ को अप्रेसन गरिएको थियो भने ८६६ नर्मल र ८९ जटिल केस थिए । अस्पतालको तथ्यांक हेर्दा अस्पतालमा डेलिभरि गराउनेको संख्या बढिरहेको देखिन्छ तर होम डेलिभरि पनि उत्तिकै रहेको जानकार बताउँछन् ।

अस्पताल प्रमुख श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा अनिच्छुक गर्भपतन सेवा छैन, तर आमाको ज्यान जोखिममा रहेको अवस्थामा भने गर्भपतन सेवा उपलब्ध गराउने गरिएको छ ।

जिल्लाभर ९९ सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको स्वास्थ्य कार्यालय लमजुङका लेखनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार २ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ५७ स्वास्थ्य चौकी, ९ आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । यसैगरी १८ सहरी स्वास्थ्य इकाइ र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ