२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्थानीय तह मातहत रहेको मालाखेती अस्पतालमा शल्यक्रिया सेवा सुरु

स्थानीय तह मातहत रहेको मालाखेती अस्पतालमा शल्यक्रिया सेवा सुरु


धनगढी—कैलालीको गोदावरी नगरपालिका मातहत रहेको मालाखेती अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा सुरु भएको छ । बुधबार स्थापनाको वर्षौपछि अस्पतालमा पहिलो पटक सुत्केरीको शल्यक्रिया गरेर सेवा सुरु गरिएको हो ।

अस्पतालले गोदावरी नगरपालिका–१२ की सानु रावलको शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी रावलको शल्यक्रिया गर्नुपर्ने स्थिती देखिएपछि अस्पतालको टिमले बाहिर रेफर नगरेर मालाखेतीमै शल्यक्रिया गरेको हो ।

मालाखेती अस्पतालका अनुसार अस्पतालका डा. अनवेश कोइरालाको टिमले रावलको शल्यक्रिया गरी शिशुलाई सुरक्षित जन्म दिएको छ । कोइरालासँगै मेट्रोन यसोदा ढकाल, हेमन्ती अवस्थी, मञ्जु ऐर, सञ्जय फुलारा तथा एनेस्थेसिया सञ्जय सिहंको टिम रावलको शल्यक्रिया संलग्न रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नरबहादुर मौनीले अस्पतालबाट अब अस्पतालले निरन्तर शल्यक्रिया सेवा दिने बताए । विगतमा सामान्य शल्यक्रिया गर्नुपर्ने केसहरु नै बाहिर रेफर गर्नुपर्ने स्थितीको अब अन्त्य भएको उनको भनाइ छ ।

अस्पतालमा शल्यक्रिया सेवा सुचारु गर्नका लागि केही दिन अगाडि मात्रै अप्रेसन थियटर निर्माण गरिएको थियो । अप्रेसन थियटर हाम्रो गोदावरी अभियानले कोभिड–१९ महामारीका बेला संकलन गरेको रकमले निर्माण गरिएको अध्यक्ष मौनीले बताए । उनले अप्रेसन थियटरका उपकरण अझै अपुग रहेकाले उक्त उपकरण अभियानमार्फत केही दिन भित्रमा उपलब्ध हुने बताए ।

पछिल्लो समय मालाखेती अस्पतालले सेवाहरुमा सुधार र विस्तार गर्दै गएको छ । बन्द रहेको इमर्जेन्सी सेवा सुरु भएको छ भने हाल अस्पतालले बेड भर्नासमेत थालनी गरेको छ । जसका कारण पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ