२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश४ दिनअघि काठमाडाै‌बाट माइक्रोमा आएका थिए गोरखाका मृतक

४ दिनअघि काठमाडाै‌बाट माइक्रोमा आएका थिए गोरखाका मृतक


पोखरा–आइतबार बिहान गोरखा अस्पतालले एक कोरोना संक्रमितको मृत्यु भएको घोषणा ग¥यो । पालुङटार नगरपालिकाका ती संक्रमित ४ दिनअघि मात्रै घर आएका थिए ।

गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको हो । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दीपक थापाले जानकारी दिए । शनिबार राति उनी गोरखा अस्पताल भर्ना भएका थिए । उनी मधुमेह र निमोनियाका समेत बिरामी थिए ।

कतारबाट १७ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनी सोही दिन बेलुका घर नजिकैको क्वारेन्टिन पुगेका थिए । स्थानीय तहसँग समन्वय गर्दै आएका उनलाई डुम्रेबाट नगरपालिकाले उनको घर छेउकै क्वारेन्टिनसम्म पु¥याएको थियो । बिहान ७ बजे काठमाडौं आइपुगेका उनी दिउँसो ५ बजे वडा नं. ७ को क्वारेन्टिन पुगेका थिए ।

पालुङटार वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले आफूसँग समन्वय गर्दै नेपाल फर्किएका उनको अवस्था त्यहाँ आउँदै गम्भी भइसकेको जानकारी दिए । उनी मधुमेह र कडा निमोनियाका बिरामी थिए । ती ४४ वर्षीय पुरुषको अवस्था देखेपछि उनको अकस्मिक रुपमा पिसिआर गरियो ।

वडाध्यक्ष श्रेष्ठले भने, ‘आउँदा नै उनी निकै बिरामी देखियो । अकस्मिक पिसिआर जाँच गर्न पठाइयो । १९ गते उनको रिपोर्ट पोजेटिभ आयो ।’ स्वास्थ्य अवस्था पहिल्यै गम्भीर रहेको ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनलाई एम्बुलेन्सबाट गोरखा अस्पताल लगियो ।

अवस्था गम्भीर हुँदै गएपछि उनलाई एम्बुलेन्समार्फत् शुक्रबार राति नै अस्पताल पठाइएको पालुङटारका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । उपचारकै क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भयो ।

मृतकको अन्तिम संस्कारको बारेमा छलफल हुँदै गरेको र आफू पनि गोरखा जाँदै गरेको मेयर कँडेलले बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रमितको शव व्यवस्थापका लागि कार्य भइरहेको जानकारी दिए ।

पालुङटारमा उनी सिधै क्वारेन्टिन आए पनि उनी आएको माइक्रोमा १०÷१२ जना सँगै रहेको बताइएको छ । पोखरा जाने त्यो माइक्रोमा सबार को, कहाँ उत्रे र उनीहरुको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन ।

 

गण्डकीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #अस्पताल, #गोरखा, #पालुङटार, #मेयर दीपकबाबु कँडेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ