२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘स्वास्थ्य बिमा प्रभावकारी बनाएर आर्थिक भार घटाउने लक्ष्य छ’

‘स्वास्थ्य बिमा प्रभावकारी बनाएर आर्थिक भार घटाउने लक्ष्य छ’


कास्कीका साविकका पाँचवटा गाविस मिलेर बनेको गाउँपालिका हो-रुपा गाउँपालिका। रुपा गाउँपालिकामा अहिले सात वडा छन् । कास्कीका गाउँपालिकामध्ये रुपाले आफ्ना गतिविधिलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । रुपाकोटस्थित अस्पतालबाट करिब आधा घन्टामा नै पोखराको अस्पतालमा बिरामी पु¥याउन सकिन्छ । युवा नेतृत्व र विकासे दृष्टिकोणका कारण कार्यान्वयन गर्न सकिएको पालिकावासीको विश्वास छ । युवा र विकासका दृष्टिकोण भएका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग हेल्थआवाजका लागि सुनिल सापकोटाले गरेको कुराकानी :

गाउँपालिकामा जनताको स्वास्थ्य पहुँचको अवस्था के छ ?

गाउँपालिकामा स्वास्थ्य सेवा लिन सहज बनाएका छौंं । हामी आउँदा २ वटा वडामा स्वास्थ्य पहुँच नै थिएन, त्यहाँ अहिले भौतिक संरचना बनिसकेको छ । छिट्टै स्वास्थ्य इकाइको सेवा त्यही भवनबाट दिनेछौं । खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा साविक पाँचवटा गाविसमा स्वास्थ्य चौकी भवन निर्माणका लागि बजेट विनियोजन भए पनि निर्माणको काम भएको थिएन । अहिले सबै भवन निर्माण सम्पन्न गरी त्यहीबाट सेवा दिन थालेका छौं । २ वटा वडामा स्वास्थ्य एकाई सञ्चालनको तयारी भइरहेको छ ।

गाउँपालिकाभित्र स्वास्थ्य चौकीका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भएको छ । ल्याब सेवासमेत दिने गरी सबै स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट गाउँपालिकाले नै व्यवस्थापन गरेको छ । रगत, दिशा, पिसाबका २०-२२ प्रकारको जाँच त्यहीँ गर्न सकिन्छ । २ वटा एम्बुलेन्स सञ्चालनमा छन् । हामीले स्वास्थ्य सेवाका लागि राहत माग्नेको अनिवार्य स्वास्थ्य बिमा गराइदिन्छौं । आर्थिक अवस्था र रोगको प्रकार हेरेर गाउँपालिकाले राहतसमेत उपलब्ध गराउँदै आएको छ ।

महिला र बालबालिका लक्षित के-कस्ता गतिविधि भएका छन् ?

महिला लक्षित गरी गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । प्रथमपटक सुत्केरी हुने महिलालाई गाउँपालिकाले क्याल्सियम चक्की दिँदै आएको छ, नेपाल सरकारले दिँदै आएको आइरन चक्कीमा क्याल्सियम थप हो । अस्पतालमा सुत्केरी भए अस्पतालले १ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा गाउँपालिकाभित्रको नजिकको सेवा लिइरहेको स्वास्थ्य चौकीले थप १ हजार प्रोत्साहन भत्ता दिने गरेको छ । देउराली र रुपाकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ । महिला स्वास्थ्य शिविर र सचेतना सञ्चालन गरिरहेका छौं । बालबालिकाको हकमा पूर्ण खोप प्राप्त गरिसकेका छन्, गाउँपालिका नै पूर्ण खोपयुक्त गाउँपालिका घोषणासमेत भइसकेको छ । महिला स्वास्थ्य स्वयंमसेविकामार्फत सामूहिक सहजीकरण पनि गराइरहेका छौं ।

गाउँपालिकामा औषधी उपलब्धता सहज छ ?

पहिले जनस्वास्थ्य कार्यालयबाट एकमुष्ठ औषधी पठाउँदा कुनै खेर जाने र कुनै अभाव हुने स्थिति थियो । अहिले गाउँपालिकाले नै टेन्डर गरी मागका आधारमा औषधी खरिद गर्ने गरेकाले गाउँपालिकामा औषधी उपलब्धता सहज भएको छ । जनस्वास्थ्य कार्यालयमा बजेट व्यवस्थापन भएको अवस्थामा औषधी पनि पठाउने गर्छ ।

पालिकामा अबका स्वास्थ्य योजना के के छन् ?

हामीले १५ शैय्याको अस्पताल निर्माणको तयारी स्वरुप डिपीआर तयार गरिसकेका छौं । निर्माण हुन बाँकी भवन अस्पतालको मात्रै हो । तर, अस्थायी भवनमा अस्पतालको सेवा सञ्चालन भइरहेकै छ । अस्पताल निर्माण पूरा गर्ने, एम्बुलेन्स सेवामा गाउँपालिकाभित्र ५० प्रतिशत छुट दिने र गाउँपालिकाको अस्पतालले रिफर गरी गाउँपालिकाबाहिर एम्बुलेन्समा बिरामी पठाउनु परेमा नि:शुल्क गर्ने भन्ने छ । गाउँपालिकावासी अस्पतालसम्म नआऊन् भन्ने नै महत्वपूर्ण कुरा हो, मतलब बिरामी नपरुन् भन्ने नै हो ।

हामीले बजेटमा सचेतना कार्यक्रम गर्ने, व्यायामशाला निर्माण गर्ने, ज्येष्ठ नागरिकलाई दिवा मनोरञ्जनस्थल निर्माण गरिदिने, खेल मैदान निर्माण गरिदिने सुरुवात गरेका छौं । त्यसलाई पूर्णता दिने हाम्रो मुख्य योजना हो । हाम्रो इन्डिकेटर अस्पताल, स्वास्थ्य चौकीमा गएर नापिने अहिलेको अवस्था छ, पालिकावासीलाई अस्पताल र स्वास्थ्य चौकी कतिलाई पठाउन नपर्ने गरी काम भयो भन्नेमा नापिनुपर्छ, त्यो बनाउन  सक्यो भने राम्रो हुन्छ । अर्ग्यानिक खानेकुरामा प्रोत्साहन गर्ने हाम्रो अभियान हुन्छ । बिरामी भइसकेपछि सेवा चुस्त, दुरुस्त बनाउने, छिटो छरितो बनाउने एउटा पाटो भयो । त्यो त बिरामी भइसकेपछिको कुरा भयो । हाम्रो चाहना बिरामी नै नहुन भन्ने हो । स्वास्थ्य बिमा प्रभावकारी बनाएर आर्थिक भार घटाउने गाउँपालिकाको लक्ष्य छ ।

तर, बिमा कार्यक्रम सोचेजस्तो प्रभावकारी छैन । अस्पतालमा पनि बिमा कार्ड बोकेर जानेलाई दोस्रो दर्जाको व्यक्तिजस्तो व्यवहार हुने गरेको छ । यसलाई राज्यले प्रभावकारी बनाउन जोड दिनुपर्छ । मैले जिम्मेवार निकायलाई सुझाएको पनि छु । बिमा कार्डलाई पैसाभन्दा पनि बढी महत्वपूर्ण मानिएको खण्डमा बिमा योजना प्रभाकारी हुने ठानेको छु । सहिद, घाइते र द्वन्द्व पीडित परिवारको समेत हामीले स्वास्थ्य बिमा गरिदिएका छौं । बिमाप्रति आकर्षण गर्न र तिनीहरुको स्वास्थ्य खर्च कम गर्न यो काम गरिएको हो । पैसा नहुनेका लागि स्वास्थ्य पहुँच पनि पुग्ने नै भयो ।


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ