२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘कोभिड जोखिम अझै घटेको छैन’

‘कोभिड जोखिम अझै घटेको छैन’


पोखरा – गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले कोरोनाको संक्रमणदर घटे पनि जोखिम नहटेको बताएका छन् । पहिलो चरणको खोप अभियानमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै निर्देशक शर्माले दोस्रो चरणमा पनि सहयोगको अपेक्षा गरे ।

उनले पहिलो चरणको खोप अभियान सहज भए पनि दोस्रो चरणको खोप अभियानमा व्यवस्थापन बढी चुनौतीपूर्ण हुने तर्क गरेका छन् । दोस्रो चरणमा चिस्यान सेन्टरको व्यवस्थापन, जनशक्ति व्यवस्थापन, खोप व्यवस्थापन, अभिलेख राख्ने र रिपोर्टिङको काममा चुनौती रहेको उनले सुनाए ।

उनले आम सर्वसाधारणलाई भीडभाडमा नजान र अनावश्यक यात्रा नगर्न सुझाएका छन् । व्यवहार सुरक्षित हुनुपर्ने कुरामा जोड दिँदै निर्देशक शर्माले मास्क लगाउँदा र समयसमयमा हात धुँदा संक्रमण जोखिम कम हुने उल्लेख गरे ।कोरोना संक्रमितको संख्या अति न्यून रहेको अस्पतालको तथ्यांक छ । कोरोनाबारे जनचेतना बढ्नु, सुरक्षा सावधानी अपनाउनु यसका कारण भएको स्थानीय स्वास्थ्यकर्मी बताउँछन ।

कोरोना जाँच्न जाने बिरामीको संख्या कम भएकाले अस्पतालको तथ्यांकमा घटेको देखिएको संक्रामक तथा सरुवा रोग अस्पतालका डाक्टर त्रिभुवन भण्डारी बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय सिटामोल र कफ सिरफ खाएपछि ज्वरो, खोकी निको भएका बिरामी कोरोना परीक्षणका लागि आएकै छैनन् ।’

अहिले पनि संक्रमण दर बढ्न सक्ने उनले औंल्याए । कोरोना संक्रमित बिरामी सामान्य अवस्थामा होम आइसोलेसनमा रहने भएकाले पनि कोरोना संक्रमण घटेको देखिएको हुनसक्ने डा.भण्डारीको भनाइ छ । खोप बने पनि खोपले कति समयसम्म काम गर्ला भन्ने बनाउनेलाई नै थाहा नभएको बेला जोखिम घटेको भन्नेतर्फ यकीन गरी केही भन्न नसकिने उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर कन्सल्टेन्ट फिजिसियन डाक्टर वसन्त ताम्राकार सचेतनाका कारण कोरोना संक्रमणमा कमी आएको बताउँछन् । उनी भन्छन्, ‘पाँचदेखि ७ दिनमा रिकभरि हुन्छ, बिरामीबाट कोरोना नसर्ने भइसकेको हुन्छ । मास्क लगाउने र भौतिक दूरी कायम भएकै कारण पनि उल्लेख्य रुपमा कमी आएको हो ।’

डा. ताम्राकार विद्यार्थीहरुलाई रुघा, खोकी भएमा बिदा दिएर आराम गर्न लगाउन सुझाउँछन् । साना बच्चाहरुको माध्यमबाट टोलमा फैलने खतरा हुने भएकाले विद्यार्थीलाई विशेष सचेत गराएर विद्यालय सञ्चालन गर्दा राम्रो हुने उनी बताउँछन् ।

‘कोरोना संक्रमण नै भए पनि सबैलाई समस्या नहुने भएकाले संक्रमित अस्पताल आउँदैनन्,’ मणिपाल शिक्षण अस्पतालका डाक्टर सुभाष सापकोटाले भने, ‘पहिले जस्तो कन्ट्रयाक ट्रेसिङमा परीक्षण पनि गरिएको छैन ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ