२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनेलम्बोले ल्यायो नेपालमै पहिलोपटक सुविधायुक्त भ्यान डेन्टल क्लिनिक

नेलम्बोले ल्यायो नेपालमै पहिलोपटक सुविधायुक्त भ्यान डेन्टल क्लिनिक


पोखरा – विद्यालय प्राङ्गणमा देखिन्छ एउटा सेतो भ्यान । भ्यानको अगाडिपट्टि लेखिएको छ नेलम्बो नेपाल । हुटमा छन् सोलार प्यानल । झट्ट हेर्दा लाग्छ यो भ्यान नेलम्बोका कर्मचारीका लागि हो । तर त्यो अनुमान मेल खाँदैन । भित्र छ सुविधायुक्त डेन्टल क्लिनिक । पालो गरेर बिरामी बोलाइन्छ र गरिन्छ जाँच । यो दृश्य हो सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालय प्राङ्गणको ।

भ्यानभित्र एक्सरे, प्यासेन्ट मनिटर, डेन्टल चेयर लगायत आवश्यक उपकरण छन् । नभित्रै दाँत भर्ने, आरसिटी, एक्सरे, स्क्रिनिङलगायत काम हुन्छ । ६८ लाख रुपैयाँ लगानी गरी नेलम्बो नेपालले उक्त भ्यान र घुम्ती डेन्टल क्लिनिक इक्युपमेन्ट व्यवस्थापन गरेको हो ।

नेलम्बो नेपालले सञ्चालन गरेको उक्त भ्यानभित्रको क्लिनिकमा पोखरा २६ स्थित सिर्जना बहिरा विद्यालयका २ सयभन्दा बढी विद्यार्थीको दाँत तथा मुखसम्बन्धि रोगको जाँच गरिएको छ । करिब ५० जनाको उपचार गरिएको छ भने एक जनाको क्यान्सर भएको हुन सक्ने भन्दै नमुना संकलन गरिएको छ । यसको रिपोर्ट आउन करिब २ हप्ता लाग्ने उपचारमा संलग्न दन्त रोगविशेषज्ञ रोशन केसीले बताए ।

नेलम्बो नेपालले विपन्न तथा लक्षित समूहका लागि दन्त रोग परीक्षण घुम्ती क्लिनिक सञ्चालन गरेको होे । क्लिनिकमा निशुल्क जाँच र उपचार गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए । उनले भने,‘दाँतको उपचार महँगो भएका कारण सेवाबाट बञ्चित विपन्न सीमान्तकृत, पिछाडिएका वर्ग र असहायको नि:शुल्क उपचार गर्ने गरी योजना अघि बढाइएको हो ।’

मुख तथा दाँतको क्यान्सर नै भएको बिरामीको आर्थिक अवस्था हेरी क्यान्सर अस्पतालसम्म लगेर नि:शुल्क उपचार पनि हुनसक्ने नेलम्बोका अध्यक्ष देवकोटाले बताए । नेलम्बोले गण्डकी प्रदेशका ११ वटै जिल्लामा क्लिनिक सञ्चालन गर्ने जनाएको छ ।

नेलम्बोका अध्यक्ष देवकोटाका अनुसार १ ठाउँमा क्लिनिक १ हप्ता सञ्चालन हुने छ । नेलम्बोको आफ्नै योजना तथा स्थानीय संस्थाको मागका आधारमा पनि शिविर सञ्चालन गर्न सकिने बताउँदै मागका आधारमा सञ्चालन गरिएको शिविर सञ्चालन खर्च आयोजक संस्थाले व्यहोर्नुपर्ने उनले उल्लेख गरे ।

डेन्टल भ्यानमा दाँतसम्बन्धि विशेषज्ञ डाक्टरसहित मुख स्वास्थ्य र दन्त स्वास्थ्यसम्बन्धि ५ जना स्वास्थ्यकर्मी रहने नेलम्बोका अध्यक्ष देवकोटाले बताए । आवश्यकता अनुसार जनशक्ति थप गर्न सक्ने गरी तयारी गरिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशभरि लक्षित वर्ग विपन्न, सीमान्तकृत, पिछडिएका वर्ग तथा असहायः समुदायले शिविरका लागि स्थानीय सरकारको सिफारिससहित माग गर्न सक्ने अध्यक्ष देवकोटाले बताए ।

क्लिनिक फागुन १३ सम्म सिर्जना बहिरा माविमा, फागुन २३ देखि २९ गतेसम्म रुपा गाउँपालिकाको रुपा हस्पिटलमा, वैशाखको ५ देखि ११ गतेसम्म पर्वत जिल्लामा, वैशाख १९ देखि २५ माछापुच्छ्रे गाउँपालिकामा, असार ६ देखि १२ गते अन्नपूर्ण गाउँपालिकामा डेन्टल क्लिनिक सञ्चालन हुने अध्यक्ष देवकाटोले उल्लेख गरे ।

मादीको केन्द्र विवादका कारण स्वीकृती लिन नसकेकाले क्लिनिक कहिले सञ्चालन गर्ने भन्ने निश्चित नभएको उनले बताए । चैतको ८ देखि १४ सम्म सिर्जना बहिरामा, चैतको २२ देखि २८ सम्म रुपा गाउँपालिकामा, जेठ २ देखि ८ पर्वतमा, जेठ २३ देखि २९ माछापुच्छ«े फलो अप क्लिनिक सञ्चालन गरिने अध्यक्ष देवकोटाले जानकारी दिए ।

डेन्टल भ्यानमार्फत दाँत सफा गर्ने, दाँत भर्ने, दाँतमा पोलिस गर्ने, दाँतको एक्स-रे गर्ने, दाँतको जरादेखि नै उपचार तथा मुखसम्बन्धि घाउ, पिप जमेको उपचारदेखि अन्य सबै प्रकारका उपचारसहित औषधी नि:शुल्क प्रदान गरिने दन्तरोग विशेषज्ञ केसीले प्रष्ट्याए । भ्यान क्लिनिकमा उपचार हुन नसक्ने बिरामीलाई अन्य विशेष अस्पतालमा लगेर उपचार गरिने उनको भनाइ थियो । तर निशुल्क उपचारका लागि गरिब तथा विपन्न समुदायको भनी स्थानीय निकायबाट सिफारिस अनिवार्य हुन्छ ।

सन् २०२४ सम्मका लागि योजनाबद्ध कामका लागि स्वीटजरल्यान्डका दाताबाट सहयोग प्राप्त भएको अध्यक्ष देवकोटाले बताए । उनले देशैभर सेवा क्षेत्र विस्तार गर्ने र ४-५ वटा भ्यानमार्फत् सेवा दिने भावी योजनासमेत सुनाए । उनले भने, ‘हामीले सरकारी तथा अन्य दातासँगको सहकार्यमा काम गर्ने योजना बनाएका छौं, विशेषगरी सरकारसँग पैसा छ, हामीसँग व्यवस्थापन । दुवै सँगै बढ्दा लक्षित समूहलाई लाभ अवश्य हुनेछ ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ