२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशव्यास नगरले मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गराइदिने

व्यास नगरले मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गराइदिने


पोखरा – तनहुँ जिल्लाको व्यास नगरपालिकाले मोतिबिन्दु भएका ६४ जना ज्येष्ठ नागरिकको नि:शुल्क उपचार गरिदिने भएको छ ।नगरपालिकाले फागुन ११ देखि १४ गतेसम्म १४ वटै वडामा निशुल्क आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दु भएका ज्येष्ठ नागरिक पहिचान गरेको थियो ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले शिविर सञ्चालन गरेको हो । शिविरमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको आँखा जाँच गरिनुका साथै औषधी र चस्मा वितरण गरिएको नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

शिविरमा करिब ८ सय जनाले सामान्य जाँच सेवा लिएका थिए भने ६४ जनाको शल्यक्रिया गर्नुपर्ने जटिल अवस्था देखिएको थियो । मोतिबिन्दुका समस्या भएका बिरामीको पोखरास्थित हिमालय आँखा अस्पतालमा अप्रेसन गरिने मेयर न्यौपानेले उल्लेख गरे । आँखा अस्पतालमा अप्रेसनका लागि प्रतिव्यक्ति लाग्ने ५ हजार रुपैयाँ नगरपालिकाले नै व्यहोरिदिने छ । तर बिरामी कुरुवा खर्च भने आफैंले व्यवस्था गर्नुपर्ने मेयर न्यौपानेले स्पष्ट पारे ।

‘ज्येष्ठ नागरिकका समस्यामध्ये सबैभन्दा बढी हुने समस्या आँखाको पनि हो, त्यसैले नगरको समन्वयमा आँखा शिविर सञ्चालन गरिएको हो,’ मेयर न्यौपानेले भने । ‘ज्येष्ठ नागरिक सम्मान भन्यो, १ हजार दियो, खादा लगाइदियो, यस्तै भइरहेको थियो ।’ उनले थपे, ‘त्यो भन्दा राम्रो सम्मान त स्वास्थ्य हेरचाह हो भन्ने ठानेर शिविर सञ्चालन गरेका हौं ।’

ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिनु नगरपालिकाको जिम्मेवारी महसुस गरेका छौं, आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने योजना छ ।’ , मेयर न्यौपानले । बिरामीको फागुन १६ गतेपछि हिमालय आँखा अस्पताल पोखरामा अप्रेसनसहितको उपचार हुने मेयर न्यौपानले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ