२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराका सामुदायिक विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन नि:शुल्क वितरण

पोखराका सामुदायिक विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन नि:शुल्क वितरण


पोखरा – पोखरा महानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई रोज फाउन्डेसन नेपालले सेनिटरी प्याड भेन्डिङ मेसिन निःशुल्क वितरण गर्ने भएको छ । फाउन्डेसनले पोखरा महानगरपालिका शिक्षा महाशाखासँगको सहकार्यमा किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकको भूमिकासम्बन्धी अन्तक्र्रिया गरी सेनिटरी प्याड भेन्डिङ मेसिन नि:शुल्क वितरण अभियानको सुरुवात गरेको हो ।

पोखराका मेयर मानबहादुर जिसीले ५ वटा विद्यालयलाई भेन्डिङ मेसिन हस्तान्तरण गरी अभियानको थालनी गरे । कार्यक्रमबीच भवानी कालिका मावि, विन्ध्यवासिनी मावि, शिवशक्ति मावि, महेन्द्र मावि र रतन पाण्डे माविलाई भेन्डिङ मेसिन प्रदान गरिएको हो ।

गत वर्ष १२ वटा विद्यालयमा सेनिटरी प्याड निशुल्क वितरण गरेको फाउन्डेसनले यस वर्ष भने किन्नुपर्ने जनाएको छ । सेनिटरी प्याड विद्यालयले किनेपछि भेन्डिङ मेसिन फाउन्डेसनले निशुल्क उपलब्ध गराउने रोज महिला सिर्जनशील समाजकी केन्द्रीय उपाध्यक्ष देविका कार्कीले बताइन् । उनले भनिन्, ‘सरकारले सेनिटरी प्याड किन्न छुट्याएको पैसाले हामीले बनाएको गुणस्तरीय सेनिटरी प्याड खरिद गरेपछि भेन्डिङ मेसिन फाउन्डेसनले निशुल्क उपलब्ध गराउँछ ।’

गत वर्ष प्याड र यस वर्ष ५ वटा भेन्डिङ मेसिन रोज नेपालका अध्यक्ष माधव भण्डारीले आफ्नै खर्चमा उपलब्ध गराएको समाजकी केन्द्रीय उपाध्यक्ष कार्कीले स्पष्ट पारिन् । तर भेन्डिङ मेसिन खरिद गर्दा बजार मूल्य कति पर्छ भन्नेबारे उनले खुलाउन चाहिनन् ।

चालु आर्थिक वर्षमा सेनिटरी प्याड उपलब्ध गराउन सरकारले अनुदान व्यवस्था गर्नु गत सालको कार्यक्रमको प्रभावकारिता भएको उपाध्यक्ष कार्कीको दाबी छ । तर कोरोनाका कारण फलोअप प्रभावकारी बनाउन नसकिएको उनको स्पष्टोक्ति थियो । आव २०७६-०७७ को नीति तथा कार्यक्रममा नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो । उपाध्यक्ष कार्की भन्छिन्,‘हामीले गुणस्तर कायम गरी सेनिटरी प्याड बनाएका छौं, कति समय राख्न सकिन्छ भन्ने पनि निर्धारण गरेका छौं ।’

कार्यक्रममा सहभागी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, रोज फाउन्डेसनका अध्यक्ष माधव भण्डारी, रोज फाउन्डेसनका निर्देशक तथा शिक्षा विभाग प्रमुख विश्वराज पंगेनी, पोखरा महानगरपालिका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा, फाउन्डेसनका केन्द्रीय संयोजक अप्सरा खनाल लगायतले सेनिटरी प्याड, महिनावारी र किशोरी स्वास्थ्यबारे धारणा राखेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ