२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश६ वर्षमा बल्ल बन्यो मिजुरे स्वास्थ्य चौकी भवन

६ वर्षमा बल्ल बन्यो मिजुरे स्वास्थ्य चौकी भवन


पोखरा – कास्की मादी गाउँपालिकास्थित मिजुरे स्वास्थ्य चौकी भवनका लागि २ करोड ८३ लाख बजेट विनियोजन भयो । संघीय भवन पुननिर्माण इकाइमार्फत निर्माण हुने उक्त भवनका लागि टेन्डर आह्वान भयो । ठेक्का हात पा¥यो मृत सञ्जीवनी निर्माण कम्पनीले । जननिर्वाचित प्रतिनिधि आएकै थिएनन् । तत्कालीन पुननिर्माण प्राधिकरणले स्वास्थ्य चौकी भवन निर्माणमा खासै चासो दिएन ।

ठेकेदारको लापरबाहीले भवन निर्माणको काम सुरुवातबाटै अलपत्र बन्यो । जनप्रतिनिधि आएपछिको निरन्तर ताकेतापश्चात् भवन निर्माण सम्पन्न भएको छ । ठेक्का पाएको ठेकेदार भागेपछि अर्कै ठेकेदारमार्फन भवन निर्माण गरिएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले बताए । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार भवन निर्माण सम्पन्न गरी सहरी विकासले स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

लामो समयको प्रतिक्षापछि मादी–९ मिजुरेका जनताले सुविधायुक्त स्वास्थ्य चौकी भवनबाट सेवा लिन पाउने भएका छन् । संघीय भवन पुनर्निर्माण इकाइअन्तर्गत निर्माण हुने भनिएको उक्त भवन ठेकेदारका लापरबाहीले अलपत्र परको मादी ९ का अध्यक्ष तोरण गुरुङले जानकारी दिए । २ वर्ष अवधिमा भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदारको लापरबाहीका कारण ५-६ वर्ष लागेको मादी–९ का अध्यक्ष गुरुङ बताउँछन् ।

स्वास्थ्य चौकीमा कूल १९ वटा कोठा छन् । स्वास्थ्य चौकी भवनमा शौचालय, आवासीय क्षेत्र, बर्थिङ सेन्टरसहित अपांगमैत्री रहेको वडाध्यक्ष गुरुङले उल्लेख गरे । अस्पतालको औपचारिक उद्घाटन गर्ने भनिए पनि अहिले यकीन नभएको वडाध्यक्ष गुरुङ बताउँछन् । महिला तथा पुरुषका लागि छुटाछुटै शौचालय रहेका ३ वटा शौचालय ब्लक रहेका छन् । स्वास्थ्यचौकी भवनमा स्वास्थ्यकर्मीलाई आवासीय सुविधा दिन सकिने संरचना तयार भएको छ ।

संघीय भवन पुनर्निर्माण इकाइले ताकेता नगरेका कारण भवन निर्माणमा ढिलाइ भएको दावी गर्दे वडाध्यक्ष गुरुङले जनप्रतिनिधि आएपछि निरन्तर ताकेताका कारण पछिल्लो समयमा निर्माण तीव्र भएको बताए ।

उनले भने, ‘हामीले कति फोन ग¥यौं, कति ठेकेदारको कम्पनी धायौं, तर ठेकेदारले फोनै नउठाउने, कार्यालयमा ठेकेदार भेटै नहुने अवस्था थियो ।’ पछिल्लो समयमा काम थालेपछि भने निर्माणले तीव्र गति लिएर सम्पन्न भएको उनले सुनाए । निर्माण कम्पनीले वडालाई स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिसकेको छ । नवनिर्मित भवनबाट फागुन अन्तिम साताबाट सेवा दिइने निर्णय भएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

‘स्वास्थ्य चौकीबाट सेवा लिन अधिकांशलाई सास्ती’

साविक मिजुरे गाविस हुँदा भवन निर्माणका लागि बजेट आएको थियो । त्यतिबेला हालका वडा नं. ८ र ९ का लागि साझा स्वास्थ्य चौकी बनाउने भनिए पनि वडा नं. ८ ले भने छुट्टै स्वास्थ्य चौकी भवन निर्माण गरिसकेको छ ।

भवन डाँडाको चुचुरोमा रहेको र करिब ८५ प्रतिशत बस्ती बेंसीमा रहेको मादी ९ का अध्यक्ष गुरुङले बताए । उनले भने, ‘१५ प्रतिशत जतिले त्यस स्वास्थ्यचौकी भवनबाट सेवा लिन सहज छ, तर बेसीका ८५ प्रतिशत जतिले सुविधा हैन सास्ती भोग्नुपर्ने अवस्था छ ।’

‘भवन अलपत्र भएको अवस्थामा बोल्नु उचित लागेन, अब त भवन बनिसक्यो । बेंसीमा स्वास्थ्यचौकी भवन बनाएर त्यो बनिसकेको डाँडाको भवनलाई अन्य प्रयोजनमा ल्याउन सके उपयुक्त हुने थियो,’ उनले भने, ‘त्यसो गर्न नसकिए बेंसीका लागि स्वास्थ्य इकाइ अपरिहार्य छ, माग गरिरहेका छौं ।’

स्वास्थ्य चौकी भवन बनेको ठाउँमा वडाका ३ टोल र बेंसीमा १० टोल रहेको वडाध्यक्षको भनाइ छ । बेंसीका बिरामी डाँडामाथि चढ्नुपर्ने र उपचार हुन नसक्ने अवस्थामा पोखरा रिफर हुँदा उल्टो बाटो हिँड्नुपर्ने बाध्यता मादी ९ का अधिकांश जनतालाई आइपरेको वडाध्यक्ष गुरुङ बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ